-अच्युतप्रसाद पौडेल ‘चिन्तन’
चैत्र शुक्ल अष्टमी, चैते दसैँ, अर्थात् देवी भवानीको उदय भएको दिन । यसपालि ०७८ वैशाख ७ गते भौमाष्टमी व्रतसहित गोरखकालीको विशेष पूजा गर्ने अवसर परेको छ । नवरात्रिको उल्लासमय पर्व, पहिले मूल दसैँ यति बेलै पर्दथ्यो, सजिलोका लागि मानिसले आश्विनमा लगे । पुराना कथनहरुका अनुसार, पहिले–पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा मौसम, मौसमअनुसारको गरिष्ठ भोजन अनि हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस्, चैते दसैँको रौनक पनि कम छैन् । चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भन्ने चलन पनि छ । भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ । यसै सन्दर्भमा काठमाडौँमा रहेका केही शक्ति पिठको चर्चा गर्ने यो लेखको उद्धेश्य रहेको छ ।
दक्षिणकाली
भूवनेश्वरीदेवीका अनेकौं स्वरूपहरू छन् । देवीभागवत, कालिकापुराण, सप्तशतीचण्डी आदि धार्मिक ग्रन्थहरूले देवीका विषयमा विशेष चर्चा गरेका छन् । सृष्टिको उषाकालमा भगवाग विष्णुका नाभिकमलबाट उत्पन्न ब्रह्माजीप्रति मधु र कैटभले कष्ट दिएपछि उनीहरूबाट त्राण पाउन ब्रह्माजीले कालिकादेवीको बन्दना गर्नुभयो । शंका, उपशंकारूपी शुम्भ र निशुम्भको वध गर्न र देव र दानवको रणक्षेत्रमा देवताहरूप्रति साहस दिलाउन भगवती कालिकादेवीका रूपमा प्रकट भइन् । कालिकादेवीको उपासना गर्नेहरू भयंकर संकटबाट समेत त्राण पाउन सक्छन्, सुख, ऐश्वर्य प्राप्त गर्न सक्छन् ।
काठमाडौँंबाट दक्षिणतर्फ रहेकीले यिनलाई दक्षिणकाली भनिएको हो । यो प्रसिद्ध शक्तिपीठ हो । पूर्णावती र उद्धारवती दुई खोलाका बीचमा यो मन्दिर रहेको छ । प्राकृतिक सुन्दरताको अनुपम नमूनाको रूपमा जंगलको डाँडोमा रहेको दक्षिणकाली मन्दिरमा सधँैं भीड लाग्ने गर्छ । आद्यशक्तिको रूपमा विशेष उपासना गरिने देवीप्रति धेरै मानिसहरूको अगाध आस्था रहेको छ । काली मन्दिरको छाना धातुबाट बनेको छ । आकर्षक नागपासले सजिएको चँदुवा रहेको छ, मन्दिरप्राङ्गण सफा छ । कालो शालिग्राम शिलाको कालिकाको मूर्ति छ । यिनको स्वरूप घोर रूपा, भयंकरी, चतुर्वाहु भएकी, खड्ग हातमा लिएकी, अभय र वरदमुद्रा भएकी, दिगम्बरा, मुण्डमालाधारी, शरीर रक्ताम्ये भएकी, कानमा शव लगाएकी, उछिट्टिएका दाँत भएकी, खुल्ला मुख, हंसमुखा, शिवका छातिमाथि बसेकी, स्यालहरूले घेरिएकी, सुखले प्रसन्न रहेकी, हँसिली, स्मशानबासी छ । युद्ध गर्न रणक्षेत्रमा जान लागेकाहरूले यिनलाई विशेष स्मरण गर्ने गर्छन् ।
अन्य मूर्तिहरू– गणेश, कुमार, भैरव, सप्तमातृका, चामुण्डा, कुमारी, वैष्णवी, वाराही, नारसिंही, इन्द्रायणी आदि छन् । अगाडिपट्टि सङ्लो पानी बग्ने नदी छ । सत्तल, पाटीहरू पनि छन् । वातावरणको दृष्टिले सफा रहेकाले वनभोज मनाउँन जानेहरू धेरै हुन्छन् । किशोरकिशोरीहरूका लागि दक्षिणकालीपरिसर सर्वाधिक आकर्षक स्थानको रूपमा परिचित छ । तान्त्रिक र वैदिक दुवै विधिबाट पूजा हुने यो मन्दिरमा नवरात्रि, मंगलवार, शनिवार विशेष भीड हुने गर्छ । प्राचीनकालदेखि नै यो क्षेत्रले प्रसिद्धि पाएको छ । चौधौं शताब्दीमा राजा प्रताप मल्ललाई भगवतीले स्वयं सपनामा दर्शन दिएर मूर्ति स्थापना गरी यो मन्दिर बनाउन लगाएको भन्ने जनश्रुति रहेको छ ।
दक्षिणकालीमन्दिरबाट पश्चिमतिर अलिक माथि डाँडोमा उनै देवीको आमाको रूपमा रहेकी देवीको सानो मन्दिर छ । यहाँ आमाको दर्शन गर्ने भक्तहरूको सदैव भीड लाग्ने गर्छ ।
सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र सँंहारकारी रुद्र हुन् । तीन देवताले आफ्नो कार्य सुचारुरूपमा राख्न तीनदेवीको सहयोग लिन्छन् । सृष्टि, पालन र संहारको समष्टि ईश्वर हो । सृष्टि आरम्भमा ईश्वरले ब्रह्माको रूप लिने र ब्रह्मायणीदेवीबाट शक्ति प्राप्त गर्ने, पालन गर्दा ईश्वरले विष्णुको रूप लिने र वैष्णवीदेवीबाट शक्ति प्राप्त गर्ने अनि संहार गर्दा रुद्रको रूप लिने र रुद्रायणीदेवीबाट शक्ति प्राप्त गर्ने गर्छन् । तीनदेवीको मूल स्वरूप महासरस्वती, महालक्ष्मी र महाकाली हो । ईश्वरको स्वरूप कार्यभेदले फरक भए पनि एकै छ भने ईश्वरीको स्वरूप कार्यभेदले फरक भएपनि एकै हो, अलग होइन । अ, उ र म तीनअक्षर तीनदेवको संयुक्त स्वरूप चन्द्राकार त्रिदेवी शक्तिको समष्टि ॐ हो । जसमा सबै ब्रह्माण्ड अडेको छ । सृष्टिको उषाकालदेखि नै मातृशक्तिलाई सर्वाेच्च शक्तिको रूपमा लिइएकोले ॐ को पूर्णताको लागि पनि ॐ को माथि चन्द्राकार स्थित छ ।
मार्कण्डेयपुराण, दुर्गासप्तशती रात्रिसूक्तले जगत्जननीदेवीको वन्दना गर्दै त्वं स्वाहा त्वं स्वधा त्वं हि वषट्कारः स्वरात्मिका । सुधा त्वमक्षरे नित्ये त्रिधामात्रात्मिका स्थिता भनेर पुकार गरेको छ । वैदिकवाङ्गमय, पूर्वीय साहित्य प्राचीनग्रन्थ – वेद, उपनिषत् र विभिन्न पुराण र उप–पुराणहरूले परम्बाभगवती, भूवनेश्वरीदेवीको वर्णन गरेकाछन् । दुर्गा, लक्ष्मी, भवानी, पार्वती, उमा आदि नामले मातृशक्तिको यत्रतत्र वन्दना भएको छ । देवीभागवतको मङ्गलाचरण यसरी आरम्भ भएको छ ।
सृष्टौ या सर्गरूपा जगदवनविधौ पालनीया च रौद्री
संहारे चापि यस्या जगदिदमखिलं क्रीडनं या पराख्या
पश्यन्ति मध्यमाऽथो तदनु भगवती वैखरी वर्णरूपा
साऽस्मद् वाचं प्रसन्ना विधि हरिगिरिशाऽराधिताऽलंकरोतु
संसारको सृष्टिदेखि संहारसम्म सक्रिय भूमिका निभाउने, सारा ब्रह्माण्डलाई एउटा खेलौनाको रूपमा लिने, साहित्यका विविध विधाकी स्रोत रहेकी, हर समय ब्रह्मा–विष्णु–रुद्रद्वारा पूजित, सेवित भूवनेश्वरीदेवीले हामी सबैको लेखनीलाई पूर्णता दिऊन्, वाणी पवित्र गराऊन् र शब्दहरूमा अलंकार दिऊन् । विष्णुस्वरूप रामले लंका विजय गर्दा उनै देवीको प्रार्थना, उपासना गरेका र शक्तिस्वरुपिणी सतीदेवीको अभावमा महादेव अति विह्वल हुनु भएको प्रसंगले मातृशक्ति सदैव वन्दनीय, पूजनीय र स्तुत्य रहेको पुष्टि हुन्छ ।
चामुण्डादेवी
ॐ एैं ह्रीँं क्लीं चामुण्डायै विच्चे
यो वीजमन्त्र हो । सर्वसिद्धि शक्तिमन्त्र हो । सप्तशतीचण्डीमा वर्णित देवीचामुण्डा मुण्डमाला लगाएकी डरलाग्दी छिन् । मत्स्यपुराणमा देवी चामुण्डाको स्वरूप लामो जिब्रो, तीन आँखा, ख्याउटे पेट, मासु र रगतले पोतिएको कपडा लगाएकी, दाह्रा निस्केकी, गिद्धमा बसेकी, रातोवर्णकी, सर्पको गहना लगाएकी, प्रेतमा चढेकी, दशहात भएकी, गहिरा आँखा भएकी छिन् । दायाँ पाँचहाले खड्ग, पाश, धनु, दण्ड, कुठार समातेकी, अरु हातमा डोरी र चक्रसमेत लिएकी भनेर बताइएको छ । असुरहरूको संहार गर्ने, मानवमा ज्ञान र विवेक दिने, आवेश, क्रोध, तनावलाई मुक्त पार्ने देवीका रूपमा चिनिन्छ । अग्निपुराणले पनि चामुण्डादेवीकोस्वरूप वर्णन गरेको छ । गहिरा आँखा, कंकाल मूर्तिस्वरूपा, ठाडो कपाल, सानो पेट, बाघको छाला लगाउने, हातमा त्रिशूल र कपाल लिएकी, नरमुण्डमाला लगाएकी भनी बताइएको छ ।
चामुण्डादेवीको मन्दिर काठमाडौंँको जोरपाटीमा छ । उत्तरपट्टि ढिस्कोमा नेपालीशैलीमा निर्मित चामुण्डादेवीको मन्दिरमा एकमात्र ढोका छ, जुन पूर्व फर्किएको छ । कलात्मक र आकर्षक यो मन्दिरपरिसरमा गणेश, शिव आदिका मूर्तिहरू छन् । हिन्दु, बौद्ध दुबैको आस्थाकी केन्द्र रहेकी यी देवीको मन्दिरपरिसरमा दर्शनार्थीहरूको सदैव भीड लाग्छ । प्राचीन समयदेखि पूजिँदै आएको चामुण्डाको अर्को मन्दिर काठमाडौंँँ उपत्यकाको ललितपुरमा पनि रहेको छ ।
घुम्बाराही
संस्कृत बाङमयमा धर्तीलाई धरणी भनिने र धर्तीस्वरूप भएकोले देवीको अर्को नाम धरणी पनि हो । अघि पृथ्वीलाई दैत्य शासनबाट मुक्त गराउन श्रीहरिले वराहअवतार लिएर पृथ्वीलाई यथास्थानमा अवतरण गराएको प्रसङ्ग श्रीमद्भागवत, वाराहपुराण, अग्निपुराण, मत्स्यपुराण आदिमा चर्चा भएको छ । ईश्वरले अवतारी भएर आफ्नो लीला गर्दा परम्बादेवीको सहयोग लिने गरेको चर्चा देवीभागवत आदि शास्त्रमा जताततै पाइन्छ ।
काठमाडौंं चाबहिल चक्रपथबाट पश्चिम–उत्तरभागमा रहेको धुम्बाराहीको स्थापना भने लिच्छविकालमा भएको उल्लेख छ । भूमिगुप्तले स्थापना गरेकाले यहाँको मूर्तिलाई भूमिवराह भनिएको जनविश्वास छ । देवीको नामको कारण त्यो क्षेत्रको नाम नै धुम्बाराहीक्षेत्रले परिचित छ । सृष्टिको क्रममा ईश्वरले सुरुमा माछो अवतार लिएको, त्यसपछि कछुवाको रूप अनि वराहअवतार लिंँदै नृसिंँहअवतार लिएको प्रसङ्ग शास्त्रहरूमा वर्णित छ । भगवान्को मुख्य दशअवतारलाई विश्लेषण गर्दा पहिले माछो, अनि कछुवा, बँदेल (वराह) र पछि आधा मानवको आकृतियुक्त नृसिँंह, त्यसपछि सानो आकारको वामन, अलिक रिसाहा परशुराम र पछि विकसित मानवको रुपमा राम एवं पूर्ण र कुटनीतिक समेतका ज्ञाता कृष्णअवतार भएको देखिन्छ ।
नृसिंँह अर्थात् आधाअङ्ग पशु र आधाअङ्ग मानिस ! वीर रसलेयुक्त यहाँको रूप पनि यस्तै छ । आधा पशु र आधा मानव ! शरीरको टाउकोभाग बँदेलको छ । मूर्तिले जनैधारण गरेकाले मनुष्यको रूप देखिन्छ । मूर्तिको बायाँ पाउ पाँचमुखे नागमाथि रहेको छ भने दाहिने पाउचाहिंँ कछुवामाथि रहेको छ । दाहिनेहात कम्मरभागमा राखिएको अवस्थामा छ भने वायाँ हातमा चक्र छ र यो हातले नारीरूपा पृथ्वीको सङ्केत गर्दै कमलको पूmल लिएको छ । मुखचाहिँ देब्रेतिर फर्किएको छ भने च्यापुभाग थोरै माथितिर उठेको छ । बलियो शरीर देखिने वराहका मुखमा दाह्रा देखिन्छन् भने मांशपेशी अङ्गहरू हलुका तन्किएका देखिन्छन् ।
ठूलो पीपलवृक्षमा बेरिएर रहेको वाराहीको मूर्ति रहेको धुम्बाराहीमन्दिर १ तले सानो रूपमा छ । गजुर नदेखिने सो मन्दिरमा नित्य पूजा हुने गर्छ । दायाँवायाँ दुई सिँंहका मूर्तिहरू मन्दिरको ढोकाअगाडि रहेका छन् । विभिन्न अवतारमध्ये भगवान्को यो अवतार आवेस अवतारमा गणना हुन्छ । प्रस्तुत मूर्तिलाई अर्धपशु र अर्धमानव आकारको एउटा उत्कृष्ट कलाकृति मान्न सकिन्छ । मृगस्थलीमा रहेको दुईहाते वाराह, बूढानीलकण्ठका उत्तरतर्फ रहेको चारहाते श्वेतवाराह आदि । हाल हामी श्वेतवाराहकल्प भनी संकल्प गर्छौं ।
बूढानीलकण्ठ परिसरमा रहेका वाराह श्वेतवाराह हुन् । कुहिनामा पृथ्वी धारण गरेका ती वाराहका माथिल्लो देब्रेहातमा शंख छ, तल्लोहातमा गधा छ, दायाँहातमा पद्य र चक्र रहेको छ । चक्र लिएको हात कम्मरभागमा राखिएको छ । जेहोस् धुम्बाराहीको वराह र बूढानीलकण्ठका वराहका विषयमा पुराणहरूले विशेष वर्णन गरेका छन् । समष्टिमा भन्नुपर्दा हाम्रो आदिवासीका कूलदेवता बराह नै हुन् । जगतको लय र प्रलयमा सर्वेश्वर भगवानले आफ्ना लीलाहरूबाट धर्तीलाई रक्षा गर्ने क्रममा पृथ्वीको उद्धार गर्नेक्रममा विभिन्न रूप, अवतार लिएर संसारको रक्षा गरेका प्रसङ्ग उपर्युक्त चिन्तनहरू मेल खान्छन् । हामीहरू धुम्बाराहीलाई शक्तिपीठका रूपमा लिन्छौं, त्यहाँ दर्शनार्थीहरूको सधैं भीड लागिरहन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies