बारा : स्रोत नखुलेको १३ लाख नगदसहित प्रहरीले बाराको सिमराबाट शुक्रबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ का २० वर्षीय सुरज कुशवाहा छन् ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको नेतृत्वमा रहेको प्रहरी टोलीले कुशवाहालाई सिमराको एयरपोर्ट रोडबाट पक्राउ गरेको हो । कुशवाहाले बोकेको झोलाबाट १३ लाख सात हजार पाँच सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुशवाहाको झोलाबाट १ हजार दरका १ हजार ६७ थान, ५ सय दरका ४ सय ८० थान र १ सय दरका ५ थान नोट बरामद गरिएको छ । झोलाबाट विभिन्न बिल, भौचर, कागजातहरू र सागर मनी ट्रान्सफर वीरगन्ज लेखिएको स्टाम्प समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
कुशवाहाले उक्त रकमको स्पष्ट स्रोत नखुलाएपछि हुण्डीको कारोबारको आशंका प्रहरीले गरेको छ । स्रोत नखुलाएका कारण हुण्डी कारोबारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।