२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सिमलतालको पहिरोले दिएको दुःख

ADV
शिव विक
२०८१ असार ३० गते ०६:५५
सिमलतालको पहिरोले दिएको दुःख

काठमाडौं : चितवनको नारायणजगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालको पहिरोको लेदोसँगै बगेका दुई वटा बसमा सवार अधिकांश यात्रुको अवस्था थाहा लाग्न सकेको छैन । त्रिशूलीमा बगेका दुइटै बस र बसमा सवार यात्रु खोज्दा शुक्रबार र शनिवार सुरक्षा निकायका अधिकारीहरूसहितको जनशक्ति परिचालित भयो । तर, शुक्रबार बिहान भउका घटनाको विवरण आउन नसकेको हो ।

बरु उक्त बसमा सवार यात्रुका शव भेटिन थालेका छन् । पूर्वीनवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा भेटिएको दुई वटा शवमध्ये एक पुरुषको शव सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको गणपति डिलक्सका यात्रु भएको प्रहरीले पुष्टि गरेको छ ।

चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार एउटा शव सर्लाही बरहथवा नगरपालिका ३ बस्ने वर्ष १९ का रमित कुशर माझीको हो । उनका बुवा रविन्द्र कुशर माझीले छोराको शव पहिचान गरेका हुन् । 

रमित कुशर काठमाडौँबाट गौरका लागि छुटेको गणपति डिलक्समा सवार यात्रु हुन् । गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी छ ।

दिउँसो माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गैँडाकोटमा प्रकृति मुचुल्का उठाइ शव पहिचानका लागि चितवन ल्याइएको थियो । 

सिमलताल पहिरोले बगाएको बसका यात्रु अर्का एक यात्रु भारतीय नागरिक ऋषिपल साहको शव फेला परेको छ । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स नै चढेका थिए ।

काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव हाम फालेर ज्यान जोगाएका थिए ।

प्रहरीले बेपत्ता बस र यात्रुको खोजीका लागि विपद् उद्धारका सम्पूर्ण शक्ति प्रयोग भइरहेको बताएको छ । शनिवार सशस्त्र प्रहरीको गोताखोर टोलीले ‘स्नेक आइ’ क्यामराको सहयोगमा खोजी गरेको थियो । उक्त क्यामराले पानीमुनी रहेका वस्तु पहिचानमा सहयोग गर्छ ।

सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजीका क्रममा एञ्जल डिलक्सको पर्दा र बच्चाको सुरुवाल फेला परेको थियो । 

एञ्जल वीरगञ्जबाट काठमाडौँका लागि र गणपति काठमाडौँबाट रौतहटको गौरका लागि छुटेका बस थिए । दुवै बस पहिरोमा परेर लेदोसँगै त्रिशुलीमा बगेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise