
लगानीको वातावरण बनाउन लगानी बोर्डसँग निरन्तर संवादमा छौं । खासगरी पर्यटन, होटल वा जलविद्युत्मा ४०–५० जना जति सक्रिय भएर लगानी गरेको म देख्छु । सुरुमा हाम्रा अग्रजहरू उपेन्द्र महतो र जीवा लामिछानेले सुरु गर्नु भएको हो । त्यसलाई अहिले अरू साथीहरूले पछ्याउन खोजिरहनुभएको छ । कसरी लगानी गर्ने, त्यसको सुरक्षा कसरी हुन्छ भन्नेजस्ता कुरामा आश्वस्त गराउनुपर्छ ।
लगानी गर्दा कर छुटलगायतमा सरकारले दिने सुविधा पाउने आशा एनआरएन साथीहरूले गर्नु्भएको छ । राज्यका तर्फबाट एनआरएनए नागरिकता दिन थालिएको छ, लगानीको आह्वानसमेत भएको छ । साथीहरूले पनि पर्यटन, जलविद्युत्जस्ता ठुलादेखि स–साना लगानीसमेत गरिरहेका छन् । विभिन्न ठाउँमा गएर त्यहाँका स्थानीय उत्पादनलाई स्तरीय बनाएर बेच्ने मात्र होइन, विश्वभर माग हुने वस्तुहरूको पहिचान गरी निर्याततर्फ लाग्ने योजनासमेत बनिरहेका छन् । त्यसका लागि उपयुक्त उत्पादन के हुन् र केमा लगानी गर्ने भन्नेमा ध्यान गएको छ ।
पढ्न वा कमाउन गएका साथीहरू विदेशको सीप, दक्षता र व्यवस्थापकीय ज्ञानसमेत बोकेर फर्किएका छन् । उनीहरू त्यसलाई मातृभूूमिमा लगाउन चाहन्छन् । इन्जिनियरिङ र कृषिमा विदेशमा कमाएको सीप, पुँजी र प्रविधि प्रयोग गरेको भेटिन्छ । दुई सयवटा गाई पालेका मात्र होइन, केही साथीले अचार, तितौराजस्ता स–साना उत्पादनसमेत निर्यातयोग्य बनाउन खोजिरहेका छन् । नेपाली चियाको माग त्यसै पनि विश्वव्यापी छ । त्यसलाई थप प्रवद्र्धन गर्न खोजिएको छ । गर्न सकियो भने नेपाली नुन–खुर्सानीको अचार पनि विश्वभर बेच्न सकिन्छ ।