काठमाडौं : राष्ट्रिय राजनीतिमा कम प्रभाव राख्ने तर संसदीय अंकगणितमा महत्व राख्ने साना राजनीतिक दलभित्र तनावपूर्ण अवस्थाको भयानक दृश्य देखिएको छ । पछिल्लो समययता संसदको तेस्रो ठुलो दल माओवादी केन्द्र पार्टीभित्रको विवादले चरमरूप लिँदै गर्दा अन्य साना दलको अवस्था पनि माओवादीको भन्दा ठुलो देखिएको हो ।
राजासहितको हिन्दूराज्य अभियान बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), देखि नेकपा एमाले विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति र जनता समाजवादीमा आन्तरिक लफडाले चरमरूप लिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभावकर’ बीच भएको लफलडा पार्टीको स्थायी कमिटी बैठकले निष्क्रिय पारेको नेताहरूले दाबी गरेका छन् । यद्यपि दुई नेताको झगडाले पार्टीको केन्द्रदेखि भूगोलसम्म दुईधार देखिएको छ । आजीवन पार्टी नेतृत्वबाट नहट्ने प्रचण्डको योजनामाथि विकल्पको खोजी गर्ने आँट गरेका प्रभाकरले माओवादीभित्र एउटा समूह नै चलाएका छन् । दुवै नेताले एकाअर्कोप्रति आत्मालोचनाको माग गर्दै आएका थिए तर दुवै नेता आफ्नो एजेन्डामा टसमस नभएको नेकपा माओवादीका एक पदाधिकारीले मध्यान्हलाई बताए । तीन दिनसम्म चलेको स्थायी कमिटी बैठकमा केही नेताहरूले नेतृत्वको विकल्पबारे आवाज उठाए पनि अधिकांश नेताहरू प्रचण्डलाई निर्विकल्प अध्यक्ष स्वीकार गर्नुपर्ने पक्षमा उभिएका थिए ।
यसै प्रसंगमा पार्टी सचिव राम कार्कीले पार्टीमा आलोपालो नेतृत्वको विकल्पसहित वर्तमान नेतृत्वप्रति टिप्पणी गर्दा प्रचण्डसँग फरक मत राख्दै आएका नेता प्रभाकरलाई राहत मिलेको देखिन्छ । पार्टी फुटकै अवस्था भने नरहेको माओवादीमा प्रचण्ड र जनार्दनबीच ठुलै अन्र्तसंघर्ष चलेको माओवादीका ती पदाधिकारीले बताए । तर पार्टी बैठकले सबै गुट/उपगुट विघटन गर्ने र निर्णय विपरित जानेलाई कारबाही गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । ‘पार्टी रूपान्तरणको महाअभियानमा छ । पार्टीमा सबै स्वार्थ समूह, गुट/उपगुट विघटन गर्ने निर्णय भएको छ । कोही निर्णय विपरीत जान्छ भने कारबाहीको दायरमा ल्याउने भनिएको छ’, उनले भने ।
त्यस्तै, राप्रपा, नेकपा एस र नाउपामा त पार्टी विभाजनकै अवस्था आउनसक्ने गरी झगडा भइरहेको छ । संसदको पाँचौं दल राप्रपामा संस्थापनइतर समूहका नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकलौटी ढंगले चलाइरहेको तीव्र आलोचना गरेका छन् ।
अध्यक्ष लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलगायतलाई पदमुक्त गरेपछि इतर समूहका नेताहरूले लिङ्देनविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् । यसै सन्दर्भमा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सोमबार इतर समूहका नेताहरू छुट्टै छलफलमा जुटेको महामन्त्री धवलशमशेर राणाले जानकारी दिए । ‘पार्टीमा नेतृत्वले एकलौटी गर्न थालेपछि हामीले विधानबमोजिम काम गर्न दबाबस्वरूप छुट्टै भेला गरेका हौं,’ उनले भने ‘पार्टी फुटाउने भन्ने अवस्था अहिले आएको होइन । तर, पार्टीलाई विधिविधानअनुसार संस्थागत रूपमा चलाउने कुरामा नेतृत्वको ध्यानाकर्षण गरेका हौं ।’
छलफलमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष (पदमुक्त) मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र कुन्तीकुमारी शाही, बागमती प्रदेश अध्यक्ष विक्रमबहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता (पदमुक्त भएका) सगुन सुन्दर लावती, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, ऋषिराज देवकोटा र सौरेन्द्रबहादुर शाहलगायत ७० जना भन्दा बढी सहभागी रहेको नेताहरूको दाबी छ । अध्यक्ष लिङ्देन पनि उनीहरूको गतिविधिप्रति थप रुष्ट बनेका छन् ।
नेकपा एसमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको द्वन्द्वले पार्टी कार्यकर्ता निराश छन् । खनालले एमाले विभाजनको औचित्य पुष्टि गर्न पार्टी नेतृत्वले नसकेको भन्दै माधव नेपालप्रति खरो आलोचना गरेसँगै उत्पन्न विवादले दुई नेताबीच राजीनामा मागामागको अवस्था आएको हो ।
एमाले विभाजन गलत भएको भन्ने खनालको अभिव्यक्तिपछि रुष्ट बनेका पार्टी अध्यक्ष नेपालले उनलाई पार्टीबाट राजीनामा दिएर जान निर्देशन दिएका थिए । खनालले नेपाललाई पार्टी सञ्चालन गर्न सक्ने र पार्टीमा बसेर काम गर्न सक्ने क्षमता छैन भने त्यस्ता मान्छे आफैं बाटो लागे हुन्छ भन्ने जवाफ दिए । यस्ता सवाल जवाफले पार्टीहित नहुने नेकपा एसका उपमहासचिव मेटमणि चौधरीले बताए ।
‘नेताहरूबीचको विवादले पार्टीमा असहजता देखिएको छ,’ चौधरीले भने, ‘अध्यक्षप्रति सार्वजनिक रूपमा टीकाटिप्पणी गर्दै जाँदा पार्टी थप कमजोर हुने भएकाले आन्तरिक असमझदारीलाई आन्तरिक छलफलबाटै निकास निकाल्न र पार्टीका नीति कार्यक्रम जनतामाझ पुर्याउन लाग्नुपर्छ ।’ पार्टी नेतृत्वप्रति गुनासो वा सुझाव भए नेताहरूले बैठकमा राख्नुपर्ने कुरा सार्वजनिक मिडियामा बोल्दै हिँड्नु राम्रो नभएको उनले खनाल लक्षित टिप्पणी गरे । यता, नाउपामा विगतदेखि चलिआएको घरझगडाका बीच संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्षबाट निकाल्दै बाबु लालवीर चौधरीलाई नियुक्त गरेका छन् । सो निर्णयविरुद्ध रञ्जिता श्रेष्ठ अदालत जाने तयारीमा छन् । संरक्षक चौधरीले अध्यक्ष श्रेष्ठमाथि गरेको कारबाहीले सिंगो नाउपा भने विभाजित छ ।
त्यस्तै, जनमतका अध्यक्ष डा. सिके राउतले पार्टीका शीर्ष नेताहरूलाई एकपछि अर्को गरी कारबाही गर्दै आफ्नै दाजु र नजिककालाई नियुक्त गरेपछि पार्टी विभाजनउन्मुख बनेको छ । सहकारी ठगी प्रकरणमा रवि लामिछाने कारागार चलान भएसँगै रास्वपामा कसले नेतृत्व लिने भन्ने विवाद छ । बाहिर नदेखिने तर आन्तरिक विवादका कारण पार्टीका नियमित गतिविधि प्रभावित भइरहेको सो दलका नेताहरूले अनौपचारिक रूपमा बताउँदै आएका छन् ।