२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

धार्मिक ऐतिहासिकस्थल जगन्नाथ मन्दिरमा रथयात्रा 

Nada
२०८२ साउन २२ गते ०९:३२
Shares
धार्मिक ऐतिहासिकस्थल जगन्नाथ मन्दिरमा रथयात्रा 

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिका अवसर पारेर जगन्नाथ मन्दिरमा रहेका भगवान् जगन्नाथको मूर्तिलाई रथयात्रामार्फत सार्वजनिक गरी भक्तजनका लागि प्रत्यक्ष रुपमा अवलोकन र दर्शन गराइएको हो । 

ncell

तत्कालीन बाइसे चौबिसे राज्यको पालामा राजा दिलीपबम मल्लले गजन्नाथ मन्दिर बनाएर भगवान् जगन्नाथको प्राणप्रतिष्ठा गरेपछि हरेक वर्ष सरकारी भोज र भगवान्को मूर्तिको साफा परिवर्तन गर्ने चलन सुरु गरेको इतिहास रहेको जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए। “जगन्नाथ भगवान्को मूर्ति श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिनमा मात्रै रथयात्रा गरी सार्वजनिक गर्ने प्रचलन रहेको छ, एक दिनमात्रै भगवान्को मूर्तिलाई प्रत्यक्ष अवलोकन गर्न पाइने भएकाले यस दिन भक्तजनको भीडभाड हुने गर्छ”, उनले भने । 

म्याग्दीको बेनी नगरपालिकाका, रघुगङ्गा, मङ्गला गाउँपालिकाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाबाट रथयात्रामा सहभागी हुन ठूलो सङ्ख्यामा भक्तजनहरु जगन्नाथ मन्दिरमा पुगेका थिए । भक्तजन, जनप्रतिनिधि र स्थानीयवासीको उल्लेख्य सहभागितामा भजनकीर्तनसहित रथयात्रा गरिएको थियो । विगतमा जगन्नाथ मन्दिर आसपासका बासिन्दाको सहभागितामा मात्रै रथयात्रा हुँदै आएकामा पछिल्लो समय जगन्नाथको महिमाका कारण टाढाबाट समेत भक्तजनको आगमन बढेको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव रामचन्द्र पौडेलले बताए।  

जगन्नाथ पुग्नका लागि सदरमुकाम बेनीदेखि पुलाचौर नयाँ गाउँ हुँदै जागने र बेनीदेखि तोरीपानी, ढोलथान हुँदै नयाँगाउँ भएर जगन्नाथ पुग्न सकिने सडकमार्ग निर्माण भएको छ । रथयात्रामा सहभागी हुन जगन्नाथ पुग्नुभएका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसारमा नगरपालिकाले पहल गर्ने बताए । उनले धार्मिक र ऐतिहासिक महत्वका हिसाबले जगन्नाथ क्षेत्रको महिमा अत्यन्तै धेरै भएकाले यस क्षेत्रलाई देश–विदेशमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिनेमा जोड दिए । 

विसं १५५० मा राजा दिलीपबम मल्लले जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती  छ । ५३१ वर्ष पुरानो जगन्नाथ मन्दिरलाई नेपालमै फरक स्वरुपमा पुनर्निर्माण गरिएको छ । मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरु राखिएका छन् । तत्कालीन राजा मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेको विश्वास छ । जगन्नाथकै कारण गाजने गाउँमा कुखुरापालन र मदिरा उत्पादन निषेध गरिएको छ । यस मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वाससमेत रहेको छ । 

सम्बन्धित खबर