काठमाडौं : ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) २०८१ कात्तिक २७ देखि डिल्लीबजार कारागार छन् । २०६१ सालमा चक्रे मिलन समूहमाथि आक्रमण गरेको अभियोगमा मुद्दा खेपेका उनलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय सुनाएको थियो । २०८१ कात्तिक २० मा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेसँगै उनी अहिले कारागारमै छन् ।
मनाङेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार पदमुक्त गर्ने फैसलासमेत सुनाएको छ । प्रदेश सभा सदस्य पदमा रहिरहन अयोग्य भएको ठहर गरेपछि उनको सांसद पदसमेत सोमबारबाट गएको छ । एमाले पृष्ठभूमिका उनी स्वतन्त्र सांसद जितेर पटकपटक प्रदेशमन्त्री भइसकेका व्यक्ति हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको व्याख्याअनुसार उनले कैदबाट निस्केपछि पनि थप ६ वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । यसअघि दुईपटक मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित मनाङे हाल डिल्लीबजार कारागारमा छन् । ‘गुन्डा नाइके’ भनेर चिनिने मनाङे राजनीतिक यात्रा बारम्बार विवादमा पर्दै आएको थिए ।
देशभरका सातवटा सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पूर्पक्षका लागि थुनामा छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको कसुरमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै २०८१ चैत २१ गते उनलाई प्रहरलिे नियन्त्रणमा लिएर कारागार पठाएको थियो । काठमाडौंबाट पक्राउ गरी चैत २३ गते यति एयरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल भैरहवा लगेर राखिएका उनलाई साउन ३१ मै अड्डासार गरी ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । लामिछानेकै मागबमोजिम कारागार सारिएको कारागार व्यवस्था विभागले जनाएको छ ।
नेकपा एमालेका सचिवसमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा २०८० असारदेखि कारागार छन् । अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना जेल चलान गर्न आदेश दिएसँगै उनी कारागारको बसाइँमा पुगेका थिए । रायमाझीसँगै थुनामा गएका कांग्रेस नेता खाँण एक वर्षअघि नै थुना मुक्त भएका छन् । तर उनको मुद्दा पनि किनारा लागेको छैन । सोही प्रकरणमा परेका पूर्वगृहसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत जेलमै छन् । सो प्रकरणमा पक्राउ परेका उच्च तहको राजनीतिक तथा प्रशासनिक नेतृत्वसहित १८ जना अभियुक्तमध्ये १६ जनालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले कारागार पठाउन अदालतले आदेश दिएको थियो ।
जसमा, एमाले नेता रायमाझी, कांग्रेस नेता खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, सो काण्डमा बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र रामशरण केसी थिए । खाँणबाहेक सबै जना अहिले जेलमै छन् । यस प्रकरणमा मुछिएका होटल व्यवसायी टंक गुरुङ १० लाख र ललितपुरकी लक्ष्मी महर्जन भने त्यसबेलै ५ लाख धरौटीमा रिहा भएका थिए ।
भ्रष्टाचारका घटनामा यसअघि बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीहरू जेल परिसकेका छन् । यद्यपि कतिपय शक्तिशालीहरू भने अझै कानुनी प्रक्रियामा ल्याउन नसकेको विज्ञहरू बताउँछन् । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले नक्कली शरणार्थी, सुन तस्करी, सहकारी ठगीलगायत ठुला प्रकरणमा मुछिएका शक्तिशालीहरूमाथि छानबिन हनुपर्ने बताउँछन् । ‘केही व्यक्तिहरू अदालतको निर्देशनअनुसार कारागारमा भए पनि अझै बाहिर रहेकाहरू पनि त्यत्तिकै छन्,’ उनले मध्यान्हसँग भने, ‘हाइप्रोफाइल व्यक्तिमाथि कानुनी कारबाही हुनुले भ्रष्टाचारविरुद्ध सरकारको आशालाग्दो कदम देखिए पनि अझै धेरै त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सकेको छैन । सरकारले दोषीलाई कारबाही गर्न सक्दा राजनीतिक आडमा हुने अपराध घट्दै जान्छ र मुलुकमा सुशासनको प्रत्याभूति हुन सक्छ ।’
यसअघि जेल परेका थिए ‘हाइप्रोफाइल’
भ्रष्टाचारका घटनामा यसअघि बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीहरू जेल परिसकेका छन् । तत्कालीन मन्त्री जेपी गुप्तादेखि पूर्वमन्त्रीहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, टेकबहादुर गुरुङ, विक्रम पाण्डे, चिरञ्जीवी वाग्ले, रवीन्द्रनाथ शर्मा, बद्री न्यौपाने भ्रष्टाचार आरोपमा जेल परेका हुन् ।
२०६८ सालमा जेपी गुप्ता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए । सार्वजनिक पदमा रहँदा ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बहालवाला मन्त्री गुप्ता डेढ वर्षका लागि जेल गएका थिए । उनीविरुद्ध २०५९ सालमा २ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषले २०६४ मा गुप्तालाई सफाइ दियो । तर सर्वोच्च अदालतले विशेषको फैसला उल्ट्याउँदै उनलाई जेल पुर्याएको थियो ।
नेपाली कांग्रेसका स्व. नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्का पनि भ्रष्टाचार अभियोगमा जेल गएका थिए । भ्रष्टाचार मुद्दा लागेका खड्काविरुद्ध २०५९ सालमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो ।
२०४८ सालसम्म सामान्य हैसियत भएका खड्कासँग सांसद र मन्त्री हुनुअघि जम्मा १० बिघा मात्र जग्गा थियो भने २०४८ सालमा पहिलोपटक मन्त्री भएपछि खड्काले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग २ लाख रुपैयाँ नगद, सात तोला सुन, एउटा पक्की घरलगायत सम्पत्ति मात्र थियो ।
गृह, जलस्रोत र भौतिक योजना तथा निर्माणजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा खड्काले अमिल्दो र अस्वाभाविक ढंगले सम्पत्ति कमाएको आरोपमा उनी जेल चलान भएका थिए । तर २०६३ सालमा विशेष अदालतले १२ लाख मात्र स्रोत नखुलेको भन्दै खड्कालाई सफाइ दियो । यद्यपि विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएपछि फैसला उल्टियो ।
२०६८ साउन ३० मा सर्वोच्चले खड्कालाई दोषी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो जरिमानाको फैसला सुनाएको थियो । कांग्रेसका अर्का नेता गोविन्दराज जोशी पनि भ्रष्टाचार मुद्दामा जेल परेका व्यक्ति हुन् ।
२०६० मा अख्तियारले पूर्वशिक्षामन्त्री समेत रहेका उनलाई ३ करोड ९३ लाख ६३ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको थियो । २०६६ सालमा विशेष अदालतले जोशीलाई डेढ वर्ष जेल सजाय सुनाएको थियो ।
कांग्रेस नेता एवं पूर्वश्रममन्त्री रहेका टेकबहादुर गुरुङविरुद्ध २०७५ सालमा अख्तियारले भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडा लगाउँदा अनियमितता भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो । उनले ३१ करोड ५२ लाख १७ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी धरौटी बुझाएर छुटिसकेका छन् ।
यस्तै, राप्रपाका उपाध्यक्ष पाण्डेमाथि सिक्टा सिँचाइ आयोजनाको काममा भ्रष्टाचार गरेको आरोप छ । उनीमाथि २ अर्ब १३ करोड ७६ लाख ७९ हजार भ्रष्टाचार गरेको आरोप थियो ।
कांग्रेस नेता एवं पूर्वसञ्चारमन्त्री वाग्ले पनि भ्रष्टाचार मुद्दामा जेल परेका नेता हुन् । ३ करोड २ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार अभियोगमा उनीविरुद्ध २०५९ सालमा अख्तियारले मुद्दा चलाएको थियो । विशेष अदालतले २०६१ मा उनीमाथि अढाइ वर्ष कैद सजाय सुनाएको थियो ।
त्यस्तै, पूर्वअर्थमन्त्री रवीन्द्रनाथ शर्मा पनि अकुल सम्पति आर्जन गरेको आरोपमा जेल परेका थिए । २०६० मा अख्तियारले ४ करोड ९५ लाख ५४ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर २०६६ सालमा अदालतको फैसला नआउँदै उनको निधन भयो । अदालतले मरणोपरान्त भ्रष्टाचारी ठहर गर्दै फैसला गरेको इतिहास छ ।