२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

फुटपाथ विस्तारविरुद्ध प्रदर्शन : न्यूरोडमा तनाव, मेयर बालेनको पुत्ला दहन

ADV
मुकुन्द लामिछाने
२०८१ साउन ५ गते ०६:५५
फुटपाथ विस्तारविरुद्ध प्रदर्शन : न्यूरोडमा तनाव, मेयर बालेनको पुत्ला दहन

काठमाडौं : काठमाडौं महागरपालिका वडा नम्बर २२ का स्थानीयले फुटपाथ विस्तार गर्न लागेको विरोधमा विरोध गरेका छन् । त्यसक्रममा प्रदर्शनकारीले मेयर बालेन शाहको पुत्ला जलाएका छन् ।

महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न लागेको विरोधमा उनीहरुले मेयर शाहको पुत्ला जलाएका हुन् । स्थानीयको विरोधका कारण शुक्रबार दिनभर न्यूरोड क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो । 

उच्च अदालत, पाटनले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो । 

शुक्रबार बिहानैबाट काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरुले विरोध गरेका हुन् । 

न्यूरोडमा फुटपाथ विस्तार गर्ने काममा  व्यवसायीहरूले अवरोध पु¥याउँदा वडा अध्यक्षले नै नेतृत्व गरेका थिए । 

काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित जुद्ध शालिक देखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार गर्ने काम अगाडि बढाएको हो । तर न्यूरोडका व्यवसायी र महानगरको वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महर्जन लगायतले त्यसको विरोध गर्दै आएका छन् । 

त्यसक्रममा केही बेर दुईपक्षबीच धकेलाधकेल समेत भएको हो । वडाध्यक्ष महर्जनले डोजरमाथि नै चढेर विरोध जनाएका थिए । 

दुईपक्ष आमनेसामने भएपछि सम्भावित दुर्घटना टार्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी परिचालन गरिएको थियो । 

महानगरले न्यूरोड क्षेत्रलाई पैदलमैत्री बनाउन खोजेको छ । त्यसका लागि गत जेठ ११ गतेदेखि काम सुरू गरेको थियो । 

तर डिभिजन सडक कार्यालय काठमाडौंले काम रोक्न जेठ १३ र १६ गते गरी दुइटा पत्र पठायो । डिभिजनले पठाएको पत्रविरूद्ध महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दिएको थियो । 

रिट निवेदनमा महानगरले आफ्नो क्षेत्रभित्रको वडा नम्बर २२, २३ र २४ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजना अनुरूपको कार्य सञ्चालन गर्न पाउनुपर्ने अन्तरिम आदेश माग गरेको थियो । त्यसअनुसार आदेश पाएपछि महानगर फुटपाथ विस्तारमा लागेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise