२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

शुभेच्छा बनिन् ‘मिसेस नोबेल नेपाल २०२६’

Nada
२०८२ फागुन १२ गते १२:११
Shares
शुभेच्छा बनिन् ‘मिसेस नोबेल नेपाल २०२६’

काठमाडौं : ‘मिसेस नोबेल नेपाल २०२६’ को उपाधि शुभेच्छा मेयाङ्बोले जितेकी छन् । सोमबार अपराह्न राजधानीस्थित ज्यापु एकेडेमीमा सम्पन्न ग्रान्ड फिनालेमा उनले प्रतिस्पर्धीहरूलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् । उपाधिसँगै उनले फेसन कलेजमा छात्रवृत्तिसहित विभिन्न आकर्षक उपहारसमेत प्राप्त गरेकी छन् ।

ncell

हिमालयन मुमिजद्वारा आयोजित विवाहित महिलाहरूको राष्ट्रियस्तरको यो सौन्दर्य प्रतियोगिताको छैटौं संस्करण हो । प्रतियोगितामा सुष्मा कार्की फस्ट रनरअप तथा देवकी कार्की खड्का सेकेण्ड रनरअप घोषित भए ।

करिब डेढ दर्जन प्रतियोगी सहभागी उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरूले तीन सातासम्म प्रशिक्षण लिएका थिए । चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले उनीहरूलाई व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुतीकरण, प्रस्तुति कला र फोटोसुटलगायत विषयमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रम एकै रङको पोशाकमा प्रस्तुत गरिएको ओपनिङ नृत्यबाट सुरु भएको थियो । त्यसपछि परिचयात्मक चरण, पोशाक प्रदर्शन, टप १० र टप ५ हुँदै अन्तिम क्राउनिङसम्म प्रतिस्पर्धा अघि बढेको थियो । कार्यक्रममा बीचबीचमा कलाकारहरूको आकर्षक नृत्य प्रस्तुत गरिएको थियो भने सहभागी विवाहित महिलाहरूले आफूभित्रको प्रतिभा प्रस्तुत गर्न सक्दो प्रयास गरेका देखिन्थे ।

कार्यक्रममा विभिन्न सबटाइटल अवार्डसमेत वितरण गरिएको थियो । बेस्ट ट्यालेन्ट शुभेच्छा मेयाङ्बो, बेस्ट पर्सनालिटी सानी शेर्पा, मोस्ट कन्फिडेन्ट मनु लिम्बु, बेस्ट फोटोजेनिक सुष्मा कार्की, मोस्ट एक्टिभ सम्झना सुनुवार, मोस्ट डिसेन्ट पम्फा नेपाली, मोस्ट डेडिकेटेड निरु लामा, मोस्ट डाइनामिक अमिता अधिकारी, मोस्ट स्मार्ट तथा मोस्ट पपुलर सुनैना अर्याल, मोस्ट ग्रेसफुल कुमारी खड्का गुरुङ, मोस्ट डिलिजेन्ट देवकी कार्की खड्का, मोस्ट चार्मिङ पुनम थापा पौड्याल, बेस्ट मल्टिमिडिया सानी शेर्पा, पब्लिक च्वाइस भिडियो सुष्मा कार्की र बेस्ट ड्रेस मनु लिम्बूले जिते ।

निर्णायक मण्डलमा अभिनेता तथा इभेन्टकर्मी एसराज गराज, फेसन डिजाइनर सुक्निता चौलागाईं, नृत्य प्रशिक्षक राहुल साह, नायिका ऋचा थापा, मिसेस हिमालयन नेपाल २०२५ प्रनिता क्षेत्री तथा मिसेस ग्लोबल नेपाल २०२४ विजेता सुनिता भुजेल सहभागी थिए ।

इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाका अनुसार विवाहित महिलामा निहित प्रतिभा प्रस्फुटन गर्दै उनीहरू पनि हरेक क्षेत्रमा सक्षम छन् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर