काठमाडौं : निर्वाचन जितेर जनप्रतिनिधिको रूपमा सेवा गर्ने र वैदेशिक रोजगारलाई सधैंको लागि बिट मार्ने सपना सजाएका ताप्लेजुङ फुङलिङ नगरपालिका–११ फावाखोलाका हेम्बु इजमलाई स्थानीय निर्वाचनमा मतदाताले साथ नदिँदा पुनः वैदेशिक रोजगारीमा फर्किनु पर्ने बाध्यता आइलागेको छ ।
चार वर्षअघि कामदार भिसामा दक्षिण कोरिया पुगेका ताप्लेजुङ फुङलिङ नगरपालिका–११ फावाखोलाका हेम कुमार लिम्बू अर्थात हेम्बु इजम ५७ दिनको छुट्टी लिएर स्थानीय तहको चुनावमा मेयरमा उठ्न स्वदेश फर्किएका थिए । दक्षिण कोरियामा मासिक दुई लाख पचास हजार बराबर आम्दानी गर्ने भएपनि त्यसमा सन्तुष्टि पाउन नसकेका उनलाई फुङलिङ नगर प्रमुख पदमा विजयी भएर केही गर्ने आकांक्षा थियोे ।
उनले प्रदेश १ सरकारमा सहभागी क्षेत्रीय हैसियतका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए । खुकुरीको दाप चुनाव चिह्न पाएका उनले आइतबार साँझसम्म खासै सन्तोषजनक मत पाउन सकेका छैनन् । मेयरमा नेपाली कांग्रेसका अमिर मादेनले २ हजार ५ सय बढी पाएका छन् । त्यस्तै नेकपा एमालेका छत्रपति प्याकुरेलले १ हजार ५ सय बढी मत पाउँदा तेस्रो स्थानमा रहेका लिम्बूको भागमा ३३ मत मात्रै प¥यो । मेयरका स्वतन्त्र उम्मेदवार मिलन निरौलाले १६ र जनता समाजवादी पार्टीका विमला निरौलाले ४ मत पाउँदा वैदेशिक रोजगारबाट फर्किएका लिम्बूले पाएको मत केही बढी भएपनि मेयरमा निर्वाचित हुन पर्याप्त छैन ।
उनी चुनावमामा उठ्न दुई महिनाको तलब ५ लाख र दोहोरो टिकट भाडा १ लाख गरी छ लाख रूपैयाँ खर्च गरेर आएको बताउँछन् । उनी किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाका सल्लाहकार पनि हुन् । निर्वाचन जितेमा नगर प्रमुखले पाउने मासिक पारिश्रमिक प्रत्येक महिना प्रत्येक वडाको विकासमा खर्चने उनको प्रतिवद्धता छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies