२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

पेटमा करोडौंको कोकिन निलेर नेपाल

ADV
खिलानाथ ढकाल
२०८१ साउन ८ गते ०६:४५
पेटमा करोडौंको कोकिन निलेर नेपाल

काठमाडौं : ४४ वर्षीय युगान्डियन नागरिक केभिना मुगाला २०८१ वैशाख ३१ गते कतारबाट काठमाडौं आएकी थिइन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले मुगालालाई काठमाडौं–९ सिनामंगलमा पक्राउ गर्‍यो । 

उनले लागुऔषध कोकिन बोकेको सूचना ब्युरोका प्रहरीसँग थियो । हेर्दा सकुशल रहेकी उनको स्वास्थ्य परीक्षण गर्ने निष्कर्षमा प्रहरी पुग्यो । ती महिलालाई नेपाल प्रहरी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराइयो । 

परीक्षण गर्दा उनको पेटमा ९० वटा लागुऔषध कोकिनका क्याप्सुलहरू देखिए । ती क्याप्सुल दिसाबाट निकालेर तौलिँदा १ किलो २६० ग्राम कोकिन रहेको यकिन भयो । ती क्याप्सुल सेतो प्लाष्टिकले र्‍यापिङ गरिएका थिए । 

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार उनी युगान्डाबाट कतार ट्रान्जिट भई नेपाल आएकी थिइन् ।

२०८१ जेठ २ गते युगान्डियन नागरिक लिल्लियन सुसान वान्येन्जी काठमाडौं–१७ ठमेलस्थित एक होटलबाट पक्राउ परिन् । उनको सुटकेसबाट प्रहरीले ६३ थान प्लाष्टिकले र्‍यापिङ गरिएका कोकिनका क्याप्सुल बरामद गर्‍यो । एक किलो ३९४ ग्रामका क्याप्सुल ती महिलाले युगान्डाबाट निलेर आएकी थिइन् । 

दिसाबाट निकालेर अर्को व्यक्तिलाई जिम्मा लगाउने तयारी गरिरहेका बेला प्रहरीले उनलाई समातेको थियो । त्यो कोकिन लिन भारतीय नागरिक ३३ वर्षीया देवाजानी पाल ठमेलकै एक होटलमा आएर बसिरहेकी थिइन् ।

 

कोकिन लिएर नेपाल आउँदा पक्राउ परेका दुबै युगान्डियन नागरिक भरिया थिए । लागुऔषध कारोबारको अन्तर्राष्ट्रिय एजेन्टले भारतीय नागरिक पाललाई कोकिन बुझाउन भनेको अनुसन्धानबाट खुलेको आचार्य बताउँछन् । दुबै कोकिन २ किलो ६५४ ग्रामको अवैध बजार मूल्य ७ करोड ९६ लाख हुन आउँछ । 

यी तीन जना हिरासत पुगेको दुई दिन नबित्दै दुबईबाट काठमाडौं आएकी कङ्गोलिज नागरिक ४९ वर्षीय इकुत्सु एमबोङ्गो जेठ ४ गते ठमेलस्थित होटलबाट पक्राउ परिन् । 

कंगोबाट दुबई ट्रान्जिट हुँदै नेपाल आएकी उनको साथबाट प्लाष्टिकले र्‍यापिङ गरिएका ८५ वटा क्याप्सुल (एक किलो १०१) ग्राम कोकिन बरामद भएको थियो ।  

उनले पनि ती क्याप्सुल निलेकी थिइन् । दिसाबाट निकालेर संकलन गरी अर्कैलाई बुझाउने तयारी गरिरहँदा उनी पक्राउ परेकी थिइन् । उनले ल्याएको कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख हुन आउँछ । 

ती महिला पक्राउ परेको २५ दिनपछि जेठ २७ गते ६८ वर्षीय तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन मबुगा ठमेलकै एक होटलबाट पक्राउ परे । उनको पेटबाट ५९ वटा प्लाष्टिकले र्‍यापिङ गरिएका एक किलो २०६ ग्राम कोकिनका क्याप्सुल निकालिएको थियो । 

प्रहरी अस्पतालमा लगेर उनले निलेका ती क्याप्सुल निकालियो । अनुसन्धानका क्रममा उनले इथियोपियाको आदिसअबाबामा कोकिनका क्याप्सुल निलेका थिए । 

त्यसको तीन दिनपछि जेठ ३० गते ब्राजिल हुँदै नेपाल आएकी बोलिभियन नागरिक ३३ वर्षीया लाउरा क्रुज टिकोना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमनतर्फबाट पक्राउ परिन् । 

उनको झोलामा महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगा थिए । ती लुगाको बटनहरूभित्र लुकाएर ल्याइएको दुई किलो १०० ग्राम कोकिन बरामद भएको थियो । 

त्यसको दुई दिनपछि असार १ गते भेनेजुलियन नागरिक ३९ वर्षीय सिमन एन्टोनियो अल्फोन्जो राडा पक्राउ परे। काठमाडौं–२६ स्थित एक होटलमा बसिरहेको अवस्थामा उनलाई ब्युरोको टोलीले पक्राउ गरेको थियो। ब्राजिलको साउ पाउलो हुँदै कतार ट्रान्जिट भई काठमाडौं आएका उनको साथबाट ९२ वटा क्याप्सुल (१ किलो ११८ ग्राम) कोकिन बरामद भएको थियो । 

साउ पाउलोबाट क्याप्सुल निलेर हिँडेका उनले काठमाडौंमै दिसाबाट अनलोड गरी भारतीय नागरिकलाई बुझाउने तयारी गरिरहेका थिए। कोकिन लिन दिल्लीबाट २७ वर्षीय लालरुआत्साङ्गी नेपाल आएकी थिइन् । उनलाई असार ४ गते प्रहरीले पक्राउ गरेको थियो। 

प्रहरी वरिष्ठ उपरीक्षक आचार्यका अनुसार ती महिला दिल्लीबाट जहाजमार्फत् नेपाल आएकी थिइन् । उनी स्थलमार्ग हुँदै कोकिन भारत लैजाने तयारी गरिरहेकी थिइन् । 

यी फरक तीन वटा अपरेसनमा बरामद भएको कोकिनको परिमाण ४ किलो ५०४ ग्राम थियो र यसको अवैध बजार मूल्य १५ करोड ७६ लाख रुपैयाँ हुन आउँछ।

यसैगरी, असार ९ गते एक किलो २४७ ग्राम कोकिनसहित दुई जना तान्जानियन नागरिक पक्राउ परे। ४६ वर्षीय रामाधानी सिम्बा एम्वाबुम्बा र ५२ वर्षीय टिवालिब किपेन्भु पासुवालाई ठमेलस्थित एक होटलबाट ब्युरोले पक्राउ गर्‍यो ।

कोकिनका ७२ वटा क्याप्सुल इथियोपियाको आदिसअबाबामा निलेर उनीहरू काठमाडौं आएका थिए। होटलमा पुगेपछि उनीहरूले दिसामार्फत् कोकिन निकालेका थिए। 

त्यो कोकिनको अवैध नेपाली बजार मूल्य ४ करोड ३७ लाख रुपैयाँ हुन आउँछ।

यस्तै, २०८१ साउन १ गते इन्डिगो एयरबाट मुम्बई हुँदै नेपाल आएका २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला पक्राउ परे । 

काठमाडौं–२६ ठमेलस्थित एक होटलबाट र नाइजेरियन नागरिकलाई काठमाडौं महानगरपालिका–९ पिंगलास्थानबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

उनीहरूले १ किलो १०० ग्राम कोकिन कतारबाट लिएर आएको खुलेको छ । ज्याकेटभित्र लुकाएर ल्याइएको उक्त क्याप्सुल उनीहरूले निकालेर जुसको बट्टाभित्र राखेको अवस्थामा बरामद भएको थियो ।  

उक्त कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख हुन आउँछ ।

यी फरक–फरक घटनामा अधिकांशले कोकिन निलेर ल्याएको देखिन्छ । दिसाबाट अनलोड गरी अर्को व्यक्तिलाई बुझाउने तयारी गरिरहँदा उनीहरू पक्राउ परेका छन् भने कतिपयको शारीरिक परीक्षण गरेर प्रहरीले कोकिनका क्याप्सुल निकालेको छ । 

झट्ट हेर्दा औषधीका जस्तै देखिन्छन् यी क्याप्सुल, फरक यत्ति छ, औषधीका क्याप्सुल मानिसको शरीरको तापक्रममा घुलनशील हुने किसिमले बनाइएका हुन्छन्, कोकिनका क्याप्सुल पेटमा पुगे पनि बिलिँदैनन् । किनभने, ती क्याप्सुल प्लाष्टिकले र्‍याप गरिएका हुन्छन् ।  

मानव शरीरको तापक्रमले प्लाष्टिकमा र्‍यापिङ गरिएका क्याप्सुल पचाउन सक्दैन । यदि, एउटा मात्रै क्याप्सुल फुट्ने हो भने निल्ने मानिसको ज्यान खतरापूर्ण हुन्छ । 

२०८१ वैशाखयता बरामद भएको कोकिनको अवैध बजार मूल्य ३५ करोड ७९ लाख रुपैयाँ हुन आउँछ। यो करोडौंको कोकिन भरियाहरूले पेटमा निलेर आएको देखिन्छ । 

पछिल्लो तीन महिनायता दक्षिण अमेरिकी मुलुकबाट भरियाहरू कोकिन निलेर नेपाल आउने क्रम बढ्दो देखिन्छ । यस्ता क्याप्सुल निल्दा स्वास्थ्य जोखिम उच्च रहे पनि बेवास्ता गर्दै ती भरियाहरू पेटमा कोकिन बोकेर आइरहेकै देखिन्छन् । 

उनीहरूले जोखिम मोल्नुको कारण पैसा हो । पक्राउ परेका सबै भरियाहरू विपन्न वर्गका छन् । ‘उनीहरूले एक किलो कोकिन क्याप्सुल निलेर नेपाल ल्याउँदा तीनदेखि चार हजार रुपैयाँ डलर बुझ्ने गरेको हाम्रो अनुसन्धानले देखाएको छ,’ एसएसपी आचार्यको दाबी छ । 

कोकिन एक प्रकारको कडा लागुऔषध हो, जुन कोका बिरुवाको पातबाट रासायनिक प्रशोधनद्वारा तयार गरिन्छ । 

कोकिनको बिरुवा दक्षिण अमेरिकी मुलुकका पहाडी र जंगल क्षेत्रमा पाइन्छ । मुख्यतया पेरु, कोलम्बिया, बोलिभिया र चिलीको दक्षिणी भेगमा कोकिन प्रशोधन गरिन्छ । 

पश्चिमी मुलुकबाट भरियामार्फत् पठाइने कोकिन नेपाल ट्रान्जिट भएर दक्षिण एसियाली मुलुक भारततर्फ तस्करी भइरहेको दाबी प्रहरीको छ ।  कोकिन लागुऔषध सभ्रान्तहरूले प्रयोग गर्छन् । कोकिन एक ग्राम ३५ देखि ४० हजार रुपैयाँसम्म पर्ने प्रहरीको दाबी छ । 

नेपालमा कोकिन प्रयोग गर्ने व्यक्ति प्रहरीले अहिलेसम्म पत्ता नलागेको दाबी गर्दै प्रहरी यसको बजार भारत नै रहेको बताउँछ । कोकिन पठाउने अन्तर्राष्ट्रिय संगठित समूहले भारत तस्करीका लागि भरियाहरू खटाइरहेको दाबी प्रहरीले गरेको छ । 

अहिलेका अधिकांश घटनामा भरियाहरूबाट कोकिन बुझ्न भारतीय नागरिक नेपाल आइरहेको प्रमाणित नै भएको एसएसपी आचार्य बताउँछन् । ‘कोकिन कारोबारका संगठितहरूले भारतसम्म पुर्‍याउने सुरक्षित स्थान नेपाल ठानिरहेका छन्,’ आचार्य भन्छन्, ‘यसका केही कारणहरू पाइन्छन्, हामी कारण पहिचान गरी नियन्त्रण र रोकथाम गर्न लागिपरेका छौं ।’

नेपालसँग छैन जाँच्ने प्रविधि, फाइदा उठाउँदै एजेन्ट 

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय संगठित समूहले लागुऔषध तस्करीको सुरक्षित स्थान नेपाललाई ठान्नुका कारण छन् ।  

यसको पहिलो कारण हो– धेरैजसो लागुऔषध डिटेक्टिङ गर्ने टेक्नोलोजी नेपालमा छैन । पेटमा बोकेर लागुऔषध ल्याउनेको पहिचान गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण छैन । प्रहरीसँग तालिमप्राप्त कुकुर परिचालनबाहेक अन्य केही उपकरण छैन । 

मेटल पत्ता लगाउने, झोलाभित्रको सामान पत्ता लगाउने एक्सरे मेसिनबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक उपकरण छैनन् । 

दोस्रो, भारतसँग जोडिएको नेपालमा खुला सिमाना छ । खुला सिमानाको फाइदा उठाउँदै भारतीयहरू स्थलमार्गबाटै कोकिन आफ्नो देशमा पुर्‍याउन सहज ठानिरहेका छन् ।  

तेस्रो, औषधीजन्य लागुऔषधबाहेक नेपाल सरकारसँग लागुऔषध तस्करी नियन्त्रण गर्ने ठोस योजना छैन । 

गृह मन्त्रालयका अनुसार नेपालमा औषधीजन्य लागुऔषध प्रयोगकर्तालाई सुधार्न सुधारात्मक कार्यक्रममा यस वर्षदेखि मात्रै बजेट छुट्याइएको छ । लागुऔषध ओसारपसार हुने तराईका जिल्लामा कडा निगरानी गर्न प्रहरीलाई निर्देशन दिइएको छ । 

गृह प्रवक्ता नारायणप्रसाद भट्टराई यस वर्षदेखि औषधीजन्य लागुऔषध नियन्त्रणका लागि प्रत्येक जिल्ला हेरेर दुईदेखि पाँच लाख रुपैयाँ बजेट छुट्याइएको बताउँछन् ।

‘कम प्रयोग र ओसारपसार हुने जिल्लामा दुई र बढी प्रयोग हुने जिल्लामा पाँच लाख रुपैयाँसम्म बजेट सुधारात्मक अभियानका लागि छुट्याइएको छ,’ भट्टराई भन्छन् ।  

यसअघि गृह मन्त्रालयले लागुऔषध नियन्त्रण अभियानका लागि बजेट छुट्याउँदैन थियो । प्रहरीले आफ्नै पहलमा सरोकारवालासँग बजेट मागेर कार्यक्रम चलाउँथ्यो ।  

पश्चिमा मुलुक हुँदै नेपाल आउने महंगो लागुऔषध नियन्त्रणबारे गृहसँग योजना छैन । ब्युरो प्रमुख आचार्यका अनुसार लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारीबारे सूचना संकलन गर्न प्रहरी एक्लाएक्लै जोखिमपूर्ण तरिकाले प्रयोगकर्ताको भेषमा परिचालन भइरहेका छन् । त्यस्ता कारोबारीको प्रहरीभन्दा धेरैगुणा अगाडि छन् । ब्युरोसँग आफू बस्ने कार्यालय नै भाडाको छ । दैनिक प्रशासनिक कार्यको संरचनात्मक सुधारका निम्ति स्रोतसाधनकै अभाव रहेको आचार्य बताउँछन् । सूचना संकलनका लागि चाहिने बजेटसमेत अरू निकायलाई मागेर चल्नुपर्ने बाध्यता छ ।

पछिल्लो दुई वर्षमा वर्षमा नेपालमा कोकिन बरामदको तथ्यांक उच्च छ । यसले नेपाल कोकिन ट्रान्जिटको लागि अनुकूल बन्दै गएको विश्लेषण गरिएको छ । 

आर्थिक वर्ष २०७९/८० मा १५ किलो कोकिन बरामद भएको तथ्यांक प्रहरीसँग छ । गत आर्थिक वर्ष २०८०/८१ मा ११ किलो कोकिन बरामद भएको देखिन्छ । उक्त आर्थिक वर्षको वैशाख, जेठ र असार महिनामा मात्रै ७ किलो ४५९ ग्राम कोकिन बरामद भएको देखिन्छ । 

आर्थिक वर्ष २०७६/७७ सालमा १५ किलो कोकिन बरामद भएको तथ्यांक छ । यो तथ्यांक २०७७/७८ सालमा आइपुग्दा १ किलोमा झरेको छ । २०७७/७९ मा जम्मा दुई किलो बरामद भएको देखिन्छ ।

यी दुई आर्थिक वर्षमा कोकिन बरामद घट्नुको कारण प्रहरी सक्रियता र कारोबार नहुनु दुवै कारण भएको हुन सक्ने ब्युरोका अधिकृतहरू बताउँछन् । 

‘सक्रियता नभएर पनि हुनसक्छ वा तस्करी नै नभएर पक्राउ नपरेको हुनसक्छ, यसमा फरक–फरक परिस्थिति हुन्छन्,’ आचार्य भन्छन्, ‘ठ्याक्कै यही कारण हो भनेर म किटान गर्न सक्दिनँ ।’ 

पक्राउ पर्छन भरिया, भेटिँदैनन् नाइके

आर्थिक वर्ष २०७७/७८ यता कोकिन कारोबारमा जोडिएका २७ जना पक्राउ परेका छन् । ती सबै भरिया हुन् । यसको कारोबारमा संलग्न मुख्य व्यक्ति नेपालले पत्ता लगाउन सकेको छैन । 

‘हामीले भरियाहरू पक्राउ गर्न सकेका छौं, नेपालबाहेक अन्य देशमा बसेर कारोबार गर्नेहरूलाई पक्राउ गर्ने र अनुसन्धान गर्ने हाम्रो कुनै च्यानल छैन,’ आचार्य भन्छन्, ‘कोही अन्तर्राष्ट्रिय कारोबारी पहिचान भयो नै यदि भने पनि हामीले डिप्लोमेटिक च्यानलबाट त्यहाँको सुरक्षा निकायलाई जानकारी पठाइदिने हो ।’

त्यस्तो कारोबारी पत्ता लागेको खण्डमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा जानकारी दिने चलन रहेको आचार्यले बताए । 

सुरक्षा निकायका विज्ञहरूका अनुसार कोकिन महंगो लागुऔषध भएकाले नेपालमा प्रयोग गर्ने जमात छैन भनिएको हो। नेपालमा अधिकांश प्रयोगकर्ताहरू औषधीयजन्य लागुऔषध सेवन गर्छन् । 

कोकिन पहिले–पहिले युरोपियन मुलुकमा बढी जाने गरेको थियो । अहिले भारतमा जान्छ । 

‘भारत जानुको कारण त्यहाँको अर्थतन्त्र बलियो बन्दै गएको हो । अमेरिका वा युरोपमा बसेर आउने–जाने त्यहाँ बढी छन्। अमेरिका वा युरोपमा लत लागेर फर्किएकाहरूले त्यही लागुऔषध खोज्छन्,’ पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी भन्छन् । 

भारत जाने गरेको लागुऔषध नागाल्याण्ड हुँदै थाइल्याण्ड पुग्ने सम्भावना रहने मल्ल औंल्याउँछन् । 

नेपाल ट्रान्जिट बनाएर कोकिन तस्करी हुँदा यसका असर धेरै हुने बताउँछन् । 

यहाँ ट्रान्जिट भएर विदेशिँदा कोकिनको केही मात्रा बाँकी रहन्छ भन्ने विश्लेषण मल्लको छ। त्यो कोकिन नेपालका सभ्रान्तहरूकहाँ पुग्न सक्छ ।

दोस्रो, नेपालमा संगठित अपराधीहरूको जालो बढ्न सक्छ । ठूलो खालका तस्करहरूको सरोकार र संलग्नता बढ्न सक्छ । 

त्यस्ता तस्करहरूले फाइदा देखेर नेपालीलाई कारोबारमा संलग्न गराउने जोखिम रहन्छ । त्यस्तो अपराध बढ्दा नेपालमा आर्थिक–सामाजिक दुबै जोखिम हुन्छ । सुरक्षा चुनौती बढ्नुका साथै देशको विश्वसनीयतामा ह्रास आउँछ। साथै, अन्तर्राष्ट्रिय माफियाहरूको ‘प्ले ग्राउन्ड’ बन्ने जोखिम हुन्छ, अनौपचारिक आर्थिक कारोबार बढ्न सक्छ । 

‘प्रहरीले गर्ने अनुसन्धान उधारोमा हो, जबसम्म माइन्ड सेटमा राखेर लागुऔषध नियन्त्रणबारे नीति–कार्यक्रम बन्दैनन्, समस्या झन् बढ्दै जान्छ,’ पूर्वडिआइजी मल्लको तर्क छ, ‘लागुऔषधमा हुँदा सूचना संकलनका लागि अमेरिकासँग आर्थिक सहयोग लिने गरिन्थ्यो । त्यो विभागलाई अनौपचारिक रूपमा जानकारी भएरै हुन्थ्यो । अहिले त्यो सहयोग छैन ।’

पूर्वगृहमन्त्री रवि लामिछानेले आफ्नो एक सय दिनको कार्यसम्पादन सार्वजनिक गर्दा लागुऔषध नियन्त्रण ब्युरोले मात्रै २०८० असारदेखि चैतसम्म लागुऔषध सम्बन्धी कसुरमा ३ हजार १५७ फौजदारी मुद्दा अदालतमा दायर गरेको उल्लेख छ ।

गृह मन्त्रालयले २०७६ मा  प्रकाशन गरेको एक प्रतिवेदन अनुसार देशभर करिब एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ताहरू थिए । तीमध्ये सात प्रतिशत महिला प्रयोगकर्ताहरू पाइएको थियो । 

त्यसयता गृह मन्त्रालयले नेपालमा कति लागुऔषध प्रयोगकर्ता छन् यकिन गर्न सकेको छैन । 

उक्त सर्वेक्षणमा नेपालमा लागुऔषध प्रयोगकर्ताहरूको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गुणाले बढेको र प्रत्येक वर्ष ५.०६ प्रतिशतको दरले बढेको देखाइएको थियो । 

छ वर्ष बित्दा यो तथ्यांक उल्लेख्य बढेको प्रहरीको आँकलन छ। प्रहरीले तीन लाखभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको आशंका गरेको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की लागुऔषध प्रयोगकर्ताबारे नयाँ सर्वेक्षण छैन । तर, लागुऔषध बरामद र कारोबारको स्थिति आँकलन गर्दा प्रयोगकर्ता बढेको भन्न सकिन्छ । 

‘अहिले स्कुल, कलेजमै लागुऔषधको प्रयोग बढेको देखिन्छ, लागुऔषध प्रयोगमा एडल्टहरू बढेको देखिन्छ,’ उनले भने । 

ADVADV

सम्बन्धित खबर

Advertise