२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकट दर ५ सय मात्र

ADV
मध्यान्ह
२०८१ साउन १० गते १३:३९
लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकट दर ५ सय मात्र

बुटवल : लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । 

साउन १४ गतेदेखि भदौ मसान्तसम्मका ८ वटा सोमबार बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए । 

केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ । यो अफरअनुसार पर्यटक र भक्तजनहरूले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने छ । ‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागू हुन्छ । तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्,’ अपरेसन म्यानेजर कायस्थले भने ।

सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । मर्निङ अफर भारतीय पर्यटकमा पनि लागू हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन् । 

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ । मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने र पर्यटकको संख्या बढ्दो क्रममा रहेको म्यानेजर प्रज्वल घिमिरेले बताए । 

टप स्टेसनमा जिपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू रहेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिँदै आएको छ ।

लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवलमा भारतीय तथा आन्तरिक पर्यटकको आगमन केही मात्रामा बढेकाले बजार र व्यवसाय थप चलायमान भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise