२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

१५ कम्युनिष्ट घटकबीच एकता, उत्साहित प्रचण्ड

shivam cement
जीवन शर्मा
२०८२ मंसिर १४ गते ०६:३०
Shares
१५ कम्युनिष्ट घटकबीच एकता, उत्साहित प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय उत्साहित छन् । विगत लामो समयदेखि कम्युनिष्ट पार्टीबीच एकता गरेर ठुलो कम्युनिष्ट शक्ति निर्माणको अभियान थालेका प्रचण्डसँग कात्तिक २६ यता १५ वटा कम्युनिष्ट घटक आइसकेका छन् । 

नेपाली कम्युनिष्ट पार्टी बनाएर एकता घोषणा सन्देश सभा अभियानमा रहेका प्रचण्डले शनिबार लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा सम्बोधन गरे । शुक्रबार सुदूरपश्चिमस्तरीय एकता सन्देश सभा कैलालीको धनगढीमा गरेका थिए । कात्तिक २६ गते नेकपा एकीकृत समाजवादीसहित १० वटा कम्युनिष्ट पार्टीबीच एकतासँगै उत्साहित प्रचण्ड एकता सुरु भएको दुई हप्तामै थप पाँचवटा घटक थपिएपछि दंग छन् । 

कात्तिक २६ गतेको पार्टी एकता सभा घोषणा सभालाई सम्बोधन गर्दै नेकपाका संयोजक प्रचण्डले वामपन्थी एकताले अन्य पार्टी नै नहुने हो कि भन्ने स्थिति आएको बताएका थिए । उनले भनका थिए, ‘वामपन्थी १२ घटकबीच एकता भयो । केही समयपछि थपिँदै छन् । यही तरिकाले एकता हुने भयो भने देशमा पार्टी नै नहुने हो कि भनेर प्रतीकात्मक रूपमा भन्ने गरेको छु ।’ 

संयोजक दाहालको यो भनाइले उनी निकै उत्साहित छन् भन्ने पुष्टि गरेको छ । आफ्नो दल नेकपा माओवादी केन्द्रको नाम र चुनाव चिह्नसमेत विलय गराएको भन्दै केही नेताहरूले उनको आलोचनासमेत गरेका थिए । सोही कारण देखाउँदै तत्कालीन माओवादी नेता जनार्दन शर्मा, राम कार्की, सुदन किरातीसहित दर्जन बढी नेताहरूले पार्टी एकताविपरीत गएर आफ्नै नयाँ अभियान थालेका थिए । गत हप्ता मात्रै उनीहरूले रास्वपाका नेता सन्तोष परियार र बाबुराम भट्टराई नेतृत्वको नेकपा समाजवादी पार्टीसहितको एकतामा प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएर लागेका छन् । जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा भएको उलपथलको असर राजनीतिक दलमा पनि देखियो । त्यही कारण नयाँ नयाँ व्यक्ति र पार्टीबीचको ध्रुवीकरण बढ्दो मात्रामा छ ।

यो आन्दोलनको सबैभन्दा बढी फाइदा पुराना दल र नेतामध्ये प्रचण्डले नै लिएको देखिन्छ । किनकि उनको कम्युनिष्ट जोड्ने अभियानले मूर्तरूप लिनुको कारण जेनजी आन्दोलन नै हो । पार्टी संयोजक प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिष्ट घटकको ऐतिहासिक एकताको परिणाम भएको उल्लेख गर्दै देशभर नयाँ ऊर्जा पैदा गरेको  दाबी गरेका छन् । यसअघि प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), चिरन पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी), प्रेमबहादुर सिंह नेतृत्वको नेकपा (समाजवादी)सहितका दल मिलेर  कात्तिक १९ गते नेपाली कम्युनिष्ट पार्टी घोषणा गरेका हुन् ।

त्यसपश्चात् डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र प्रमोदनारायण यादव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी पार्टी पनि नेकपामा समाहित भयो । देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिबीच बृहत् एकता अपरिहार्य भएको उनले बताए । ‘एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी कार्यकर्तालाई पनि यस पार्टीमा एकताबद्ध हुन आग्रह छ ।  अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्र भन्नुपर्ने आवश्यकता छैन । सबै नेपाली कम्युनिष्ट । यही भावनाअनुसार पार्टीको नाम राखिएको हो ।’ उनी प्रधानमन्त्री भएकैबेला २०८० साल फागुनमा कम्युनिष्ट एकताको पहल थालेको बताएका बताएका थिए । सुखानी शहीदका परिवारसँग प्रधानमन्त्री निवास बालुवाटारमै बसेर कम्युनिष्ट एकताको पहलका बारेमा जानकारी गराएको करिब दुई वर्ष भएको छ । यसबीचमा प्रचण्डले नेपालको राजनीतिमा केही उलटफेर गरेका छन् ।  

२०७९ को आमनिर्वाचनमा ३२ सिट पाएर तेस्रो दल बनेको तत्कालीन माओवादी केन्द्र, १० सिटको नेकपा एससहित १० वटा कम्युनिष्ट घटकबीच कात्तिक २६ गते एकता घोषणा भएको थियो । त्यसको एक हप्तापछि पूर्वएमाले नेता भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित भएको थियो । त्यसपश्चात् जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित भएसँगै नेकपामा १५ दल पुगेको नेता मेटमणि चौधरीले बताए । ‘यो एकता जनताको आवश्यकता हो,’ उनले भाने,  ‘अहिलेसम्मकै सबैभन्दा बढी दलबीच मिलेर बनाएको नेकपा आगामी निर्वाचनमा सबैभन्दा ठुलो शक्ति बन्न कसैले रोक्नै सक्दैन । यसले प्रचण्ड मात्रै होइन सबै नेता कार्यकर्ता र आमजनतासमेत खुसी छन् ।’ 

यद्यपि यो अवसरसँगै उनीमाथि ठुलो चुनौती पनि रहेको विश्लेषक बताउँछन् । उनको उत्साहलाई टिकाइराख्न नेपाली कम्युनिष्ट पार्टीमा फेरि विभाजनको हुनु नहुने नेताहरूले बताए । उत्साहित भएर एकता अभियानमा जुटेका शीर्ष नेताहरूको व्यवस्थापनलाई नेकपाभित्र प्रमुख चुनौतीका रूपमा हेरिएको छ ।  नेताबीचको मिलनले मात्रै मुलुकको समस्या सम्बोधन नहुने र पार्टी पनि जनतामाझ लोकप्रिय बन्न नसकने विश्लेषक मुमाराम खनालले बताए । नेताहरू मिल्नु वा फुट्नुको राजनीतिक एजेन्डा नभई अवसरहरूको मिलन भएको उनको टिप्पणी छ । ‘नेतानेता मिलेर खुसी हुनु आत्मरतिमा रमाउनु मात्रै हो,’ खनालले मध्यान्हसँग भने, ‘नेताहरू मात्रै मिलेर भएन, मतदाताले पत्याउनु¥यो नि । उहाँहरूको मिलन केवल अवसरवादको मिलन हो । भ्रष्टाचारीहरूको मिलन हो । नेपालको समस्या समाधान अवसरवादीहरूको एकताले गर्दैन । त्यसो भएर कति संख्यामा नेताका टाउका मिले भन्दैमा त्यसले परिणाम दिन सक्दैन । यो उहाँहरूको आत्मरती मात्रै हो ।’ 

संयोजक प्रचण्डले जेननी आन्दोलनले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्न घचघच्याएको बताएका छन् । ‘युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदल्नुपर्ने आवश्यकता छ । सो आन्दोलनले विगतमा आफूहरूले गरेको कामलाई समीक्षा गर्न दबाब बढाएको छ,’ उनले भने ।

सम्बन्धित खबर