२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेमा महाधिवेशन : द्विपक्षीय असमझदारी तीव्र

shivam cement
जीवन शर्मा
२०८२ मंसिर १५ गते ०६:२५
Shares
एमालेमा महाधिवेशन : द्विपक्षीय असमझदारी तीव्र

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुला प्रतिस्पर्धालाई स्वीकार गरेर जाने बताइरहँदा महाधिवेशन प्रतिनिधि छनोटमा दुई समुहबीच तीव्र असमझदारी बढेको छ । आइतबार च्यासलस्थित पार्टी कार्यालयमा ११औं महाधिवेशनको लोगो सार्वजनिक गर्दै ओलीले प्रतिस्पर्धा गर्न सबैलाई छुट भएको बताए ।  

‘सकेसम्म सहमतिकै साथ अघि बढ्नुपर्छ, सहमति नै गरौं,’ उनले भने, ‘तर प्रतिस्पर्धालाई हामी नराम्रो मान्दैनौं । प्रतिस्पर्धा गर्न सबैलाई छुट छ ।’ एमालेमा आन्तरिक लोकतन्त्र नै नभएको भनेर होच्याइएको उल्लेख गर्दै ओलीले प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा राम्रोसँग गर्न पाउने बताएका छन् । 

ओलीले यसो भनिरहँदा महाधिवेशन प्रतिनिधि छनोटमा थुप्रै ठाउँमा दुई समूहबीच तनावको स्थिति सिर्जना भएको छ । नेताहरूबीच द्विपक्षीय तानातानले आपसी मतभेद बढाएको छ । मंसिर २७–२९ गते हुने महाधिवेशनका लागि आइतबारसम्म देशभरबाट महाधिवेशन प्रतिनिधि छनोटको काम सक्ने निर्वाचन तालिका भए पनि कतिपय जिल्लामा विवाद कायमै छ ।  

अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष दुवैले प्रतिनिधि छनोटमा आफ्नो पकड दाबी गरेका छन् । तर प्रतिनिधिको सम्पूर्ण सूची नआउन्जेल कुन पक्षको पल्ला भारी छ छुट्याउन कठिन छ । पार्टीका जनवर्गीय संगठन, केन्द्रीय कमिटी र केन्द्रले मनोनयन गर्ने प्रतिनिधिमा भने अध्यक्ष ओली पक्ष हाबी छ ।  

पोखरेल पक्षका नेताहरूले आफ्नो पक्षमा बलियो मत कायम भएर प्रतिनिधि आएको दाबी गरेका छन् । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले मध्यान्हसँग भने, ‘अर्को पक्षका नेताहरूले भनेजस्तै भन्ने हो भने हामी ६० प्रतिशत र उनीहरू ४० प्रतिशतमा छन्  । अध्यक्षका लागि पनि हामी अगाडि नै छौं । मूल नेतृत्वबाहेकका  अधिकांश पदहरूमा हामी करिब ६० प्रतिशतले अगाडि हुने आँकलन गरेका छौं ।’ 

तर दुवै पक्षले पदाधिकारीको प्यानल घोषणा भने गरिसकेका छैनन् । ओली पक्षले टिम सार्वजनिक बनिसकेपछि पोखरेलले टिम बनाउने योजनामा रहेको उनको भनाइ छ । ओली समूहमा नअटेका नेताहरूलाई आफ्नो पक्षमा ल्याएर उम्मेदवार बनाउने पोखरेल पक्षको रणनीति रहेको देखिन्छ । नेतृत्व चयनका लागि ओली र पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएसँगै प्रतिनिधि चयनमा प्यानल बनाएरै प्रतिस्पर्धा भएको छ । 

कतिपय जिल्लामा मतदानको प्रक्रियाबाट प्रतिनिधि चयन भए पनि धेरैजसोमा सर्वसम्मत गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले भने, ‘धेरैजसो जिल्लामा सर्वसहमतिमा प्रतिनिधि छनोट भएका छन् । सोमबारसम्म सबैजसो जिल्लाको विवरण आइसक्छ ।’ 

तर संस्थापनइतर समूहका नेताहरूले सर्वसहमतिका नाममा प्रतिनिधि कब्जा गर्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘अध्यक्ष ओली पक्षले सर्वसम्मत गर्ने नाममा प्रतिनिधि कब्जा गर्ने काम गरेका छन्,’ केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले भनिन्, ‘मतदानको प्रक्रियाबाट आएका अधिकांश जिल्लाबाट ईश्वर पोखरेल पक्षका साथीहरूले जितेर आउनुभएको छ । तर हामीले जित्ने अधिकांश जिल्लाहरूमा ओलीपक्षले सर्वसहमतिका नाममा कब्जा गर्नुभएको छ । त्यस विषयमा शीर्ष तहमा छलफल हुनुपर्छ ।’ पोखरा, चितवन, बर्दिया र तराईका अधिकांश जिल्लामा ओली पक्षले चुनाव हुनै नदिएको उनको आरोप छ । 

ओखलढुंगा र धनकुटामा तनावको स्थिति सिर्जना भएको छ । यी दुवै जिल्लामा संस्थापनइतर पक्षको वर्चस्व छ ।  सो समूहका अधिकांश प्रतिनिधि निर्वाचित भएको सूची सार्वजनिक गरिसकेका छन् । तर संस्थापन पक्षले बहिष्कार गरेको भन्दै उजुरी दिएका छन् । त्यस्तै, मोरङमा ओली र पोखरेल समूहबीच हात हालाहालको स्थिति बनेको छ । ओली पक्षका परशुराम बस्नेत र पोखरेलनिकट विनोद ढकालको समूहका नेता तथा कार्यकर्ताबीच तनाव भएको नेताहरूले बताए । बस्नेतमाथि हातपातसमेत भएको छ । संस्थापन पक्षले ‘पटकपटक एउटै व्यक्ति मतदानका लागि गएको’ भन्दै संस्थापनइतर समूहका नेताहरूले विरोध गरेका हुन् । महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतासमेत आ–आफ्नो टिम बनाउन नेता तानातानको लबिमा लागेका छन् ।  

प्रतिनिधि छनोटमा मात्र नभई एमालेको केन्द्रीय समितिका नेताहरूमाथि समेत एकअर्काप्रति वैरभाव देखिएको छ । आइतबार च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई भेट्न गएका नेता कर्ण थापामाथि दुव्र्यवहार भएको भिडियो सार्वजनिक भएको छ । सो घटनामा ओलीको सुरक्षार्थ खटिएका व्यक्तिहरूले अभद्र व्यवहार गरेको थापाले टिप्पणी गरेका छन् । ओली–पोखरेल पक्षका नेताबीच महाधिवेशनकै विषयलाई लिएर असमझदारी चुलिँदै जाँदा पार्टी अध्यक्ष ओलीले भने प्रतिस्पर्धालाई खुला राखेको बताएका छन् ।  ‘एमालेमा मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मतिले गर्नुपर्छ भन्ने नाउँमा कसैलाई अघि बढ्नै नदिएर रोक्ने काम हुँदै होइन,’ उनले भनेका छन्, ‘प्रतिस्पर्धा खुला हुन्छ, प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा राम्रोसँग गर्न पाउँछ ।’ 

भूगोलबाट प्रतिनिधि छनोटमा मारामारको अवस्था भइरहँदा आइतबार अध्यक्षका दुवै आकांक्षी ओली र पोखरेल एकै मञ्चमा उपस्थित थिए । महाधिवेशन लोगो सार्वजनिक गर्दा दुई नेताबीच संवाद भएको देखिएन । कार्यक्रम सकिएपछि ओलीले तानेरै सामूहित तस्बिर खिचाएबाहेक नेताहरूबीच हार्दिकता नदेखिएको हो । शीर्ष नेताबीच प्रस्ट दुई कित्ता देखिएपछि प्रतिनिधि छनोटमा त्यसको असर देखिएको एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताए । एउटा लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धालाई सहज स्विकार्ने कुरा अध्यक्षले नै भनिसकेको उल्लेख गर्दै उनले भने, ‘एमालेमा आन्तरिक प्रतिस्पर्धा गर्न पाइन्छ । तर मुलुकको राजनीतिक स्थिति बिग्रिएको अवस्थामा सबै मिलेर सर्वसहमतिमा जानु नै पार्टी हितमा हुन्छ भन्ने हो । प्रतिनिधि छनोटमा समेत प्यानलै बनेकाले अलि असहजजस्तो देखिएको छ । सायद महाधिवेशनका दिनसम्म हामी सर्वसहमतिकै प्रयासलाई जोड दिन्छौं ।’ 

एमालेले सार्वजनिक गरेको लोगोमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा दिइएको छ । लोगोमा नेपालको राष्ट्रिय झन्डासहित धरहरा, रन्जना लिपि, सूर्यभित्र हँसिया हथौडा र भक्तपुरको न्यातापोत चित्र अंकित छ । अध्यक्ष ओलीले लोगो सार्वजनिक गर्दै पार्टीमा एकताबद्ध भएर जाने सन्देश दिन खोजेका छन् । ‘एकअर्काप्रति खुइलाउने, होच्याउनेजस्ता काम नगरौं । सम्मानपूर्वक ढंगले चल्ने कामको स्थापना गरौं । अस्वस्थ खालको कुनै प्रतिस्पर्धा नगरौं,’ ओलीले भने । 

एमाले महाधिवेशनका लागि कुल २ हजार १ सय २७ प्रतिनिधि छनोट हुनेछन् ।  पार्टी सदस्यताको संख्या अनुपातमा विभिन्न क्षेत्र छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाएको छ ।  केन्द्रीय निकायबाट ४ सय ६४ प्रतिनिधि (केन्द्रीय कमिटी, आयोग र सल्लाहकार परिषद्बाट), प्रदेशस्तरीय कमिटीबाट कम्तीमा दुई महिलासहित पाँचका दरले ४५ प्रतिनिधि सहभागी हुनेछन् । सबैभन्दा बढी प्रतिनिधि १ सय ६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्तअनुसार १ हजार १ सय ३५ जना हुनेछन् । हरेक निर्वाचन क्षेत्रमा रहेका १ हजार २ सय पार्टी सदस्यबराबर ४० वर्षमुनिका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने व्यवस्था गरिएको छ । 

सम्बन्धित खबर