
काठमाडौं : लामो समयको प्रतीक्षापछि नेपाली कांग्रेस केन्द्रीय समितिले १५औं महाधिवेशनको गाँठो फुकाएको छ । सोमबार केन्द्रीय समितिको बैठकले आगामी पुस २६–२८ मा नियमित महाधिवेशन सर्वसहमतिमा निर्णय गरेको हो । यद्यपि केन्द्रीय समितिले ल्याएको टाइट कार्यतालिका कार्यान्वयन हुनेमा संशय कायमै रहेको छ ।
सोमबार पार्टीले गरेको निर्णयअनुसार पुस १६ गते वडा, १७ गते पालिका र १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने भनिएको छ । त्यस्तै, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ । सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते र केन्द्रीय महाधिवेशन २६–२८ मा गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले १५औं महाधिवेशनका लागि पुस ५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने निर्णय गरेको बताए । ‘क्रियाशील सदस्यताको नामावली केन्द्रबाट स्वीकृत गर्ने अवधि पुस ५ गते तोकिएको छ,’ महतले भने ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिएको थियो । संस्थापनइतर समूहका प्रमुख नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनमा जाँदा पार्टी विभाजनको अवस्था पुग्न सक्ने भन्दै दुवै पक्षबीच छुट्टाछुट्टै संवाद गरेर समस्या समाधानको उपाय खोज्न लागेका थिए । नेता कोइरालाले आमनिर्वाचनअघि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने अडान कायम राख्दै पुस मसान्तसम्ममा नियमित महाधिवेशन अथवा केन्द्रीय समितिकै निर्णयमा विशेष महाधिवेशनको अन्तिम विकल्प अघि सारेका थिए । उनले मध्यान्हसँग भने, ‘आवधिक महाधिवेशनले मात्रै कांग्रेस तल्लो तहदेखि रूपान्तरण हुन्छ भनेर म सुरुदेखि नै निर्वाचनपूर्व नियमित महाधिवेशनको पक्षमा उभिएको हुँ । अहिले ल्याइएको तालिका अनुसार नेताहरूले काम गर्न सक्नुहुन्छ कि हुन्न त्यो परीक्षाकै घडीमा छ ।’ नेता कोइरालाले महाधिवेशन कार्यतालिकाप्रति संशय व्यक्त गरे ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले समेत सार्वजनिक कार्यतालिका देखाउनका लागि मात्रै ल्याइएको टिप्पणी गरे ।
नेताहरूले कार्यतालिकाप्रति टिप्पणी गर्दै विशेष महाधिवेशन प्रभावित गर्न यस्तो कदम चालिएको बताए । केन्द्रीय समितिले ल्याएको कार्यतालिका महाधिवेशन गर्नेभन्दा अलमल्याउन ल्याइएको भन्दै महामन्त्री गगन थापाले फरक मत राखेको नेता देवराज चालिसेले बताए । ‘नियमित महाधिवेशनको कार्यतालिका ल्याउँदै गर्दा माघ महिनासम्म केन्द्रीय समितिको म्याद थप गर्नु नै कार्यतालिकाको कार्यान्वयनमा आशंका बढेको छ । विशेष महाधिवेशन टार्नकै लागि हो भने हामी मान्दैनौं,’ महामन्त्री थापालाई उद्धृ्रत गर्दै चालिसेले भने ।
विशेष महाधिवेशनका नेताहरूले नियमित महाधिवेशनको समय तालिकालाई स्वागत गरे पनि महाधिवेशन हुने नहुनेमा शंका व्यक्त गरेका छन् । नियमित महाधिवेशनको कार्यतालिका आउनु विशेष महाधिवेशन मागकर्ताको राजनीतिक उपलब्धिका रूपमा लिएको विशेष महाधिवेशन अभियानका नेता गुरुराज घिमिरेले बताए । उनले भने, ‘नियमित महाधिवेशनको कार्यतालिका आउनु विशेष महाधिवेशन मागकर्ताको राजनीतिक उपलब्धिका हो । तर केन्द्रीय समितिको समय दुई महिना थपेर महाधिवेशन एक महिनाअघि नै गर्ने तालिका आउनु संशययुक्त छ । यद्यपि संशयकैबीच हामीले यो महाधिवेशन सम्पन्न गर्ने अभियानमा लाग्छांै । यदि महाधिवेशन आलटाल भयो भने विशेष महाधिवेशनको एजेन्डा जीवितै छ ।
मंसिर अन्तिममा सकिने १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ । विशेष महाधिवेशन माग गर्ने नेताहरूले नियमित महाधिवेशनको कार्यतालिका अत्यन्तै टाइट भएको बताएका छन् । केवल विशेष महाधिवेशनको माग गर्ने हस्ताक्षरकर्तालाई झुक्याउन खोजिएको हो भने आफूहरूले पुस २७ मा विशेष महाधिवेशन डाक्ने निष्कर्ष निकालेको नेता मनोजमणि आचार्यले बताए । विशेष महाधिवेशन पक्षका नेताहरूको बैठकले यस्तो निष्कर्ष निकाले उनको भनाइ छ ।
२ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए । पार्टी विधानअनुसार हस्ताक्षर बुझाएको तीन महिनामा विशेष महाधिवेशन गर्ने बाध्यकारी व्यवस्था छ । त्यो समयभन्दा अगाडि नियमित महाधिवेशनको कार्यतालिका ल्याएर विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय गराउन संस्थापन पक्ष सफल भएको देखिन्छ ।
गत बिहीबारदेखि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता बालकृष्ण खाण र रमेश लेखकको सक्रियतामा महाधिवेशनबारे विवाद समाधान गरिएको थियो । शीर्ष तहको छलफलअनुसार १५औं महाधिवेशन पुसको २६–२८ मा गर्नेगरी सहमति जुटाएअनुसार केन्द्रीय समितिबाट कार्यतालिका पारित भएको नेता रमेश लेखकले बताए ।
कांग्रेसभित्र २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनअघि नै नियमित महाधिवेशनको माग उठेपछि संस्थापन पक्ष त्यसमा सहमत नदेखिएपछि महामन्त्रीको सक्रियतामा ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरिएको थियो । पार्टीले नियमित महाधिवेशन तालिका ल्याइएसँगै विशेषको औचित्य सकिएको प्रवक्ता महतले बताए । तोकिएको समयमा महाधिवेशन गराउन कांग्रेसले क्रियाशील सदस्यता नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले कार्यसमिति बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउने अन्तिम मिति मंसिर २५ सम्म दिइएको छ । यस्तै, पुस ८ गतेभित्र छुट भएकाहरूको नामावली, निर्णय र रकम केन्द्रमा पठाइसक्नुपर्नेछ । जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण काम मंसिर मसान्तभित्र गरी सक्ने र केन्द्रमा पठाउने अवधि पुस ३ गतेसम्मका लागि तोकिएको छ ।
संस्थापन पक्षका कृष्ण सिटौला, विमलेन्द्र निधिसहित सात नेताहरूले आमनिर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अन्तिमसम्म अडान राखेका थिए । तर पार्टीमा देखिएको समस्या समाधान गर्न सभापति देउवाकै सक्रियतामा विशेष महाधिवेशन पक्षधरको समेत माग सम्बोधन हुनेगरी नियमित महाधिवेशन गर्ने तालिका ल्याइएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन् ।
‘विशेष कि नियमित महाधिवेशन भन्ने विवादलाई लिएर दुई कित्तामा बाँडिएको कांग्रेसमा एकताबद्ध भएर निर्वाचनअघि नै नियमित महाधिवेशन गर्ने निर्णय आएको छ । हाम्रो पनि चाहना त्यही थियो,’ उनले भनिन् । पूर्वपदाधिकारीहरूले भने फागुनको निर्वाचनअघि महाधिवेशन सम्भव नहुने भन्दै २०८३ वैशाखमा पार्टीको महाधिवेशन सार्नुपर्ने अडानमा थिए । उनिहरू आमनिर्वाचनमा टिकट लिने÷दिने, समानुपातिकमा नाम पठाउने अनि मात्रै महाधिवेशनमा जाने सात नेताहरूको सपना यो निर्णयले चकनाचुर बनाइदिएको केन्द्रीय सदस्यहरूले प्रतिक्रिया दिएका छन् ।
तोकियो क्रियाशीलको मापदण्ड
कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४ को उपधारा (१) र (३) बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रूपमा सदस्यता प्रदान गर्ने मापदण्ड ल्याएको छ । प्रतिनिधि सभाको क्षेत्रमा पार्टीको १४औं महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य संख्याको सामान्यतया शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधि सभा क्षेत्रलाई केन्द्रले उपलब्ध गराउने व्यवस्था ल्याएको हो । त्यस्तै, वडाको जनसंख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकताअनुसार माग भएबमोजिम सदस्यता वितरण गर्न सक्नेगरी सदस्यता फारम उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस्तै, महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिमको जनसंख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिक÷समावेशी प्रतिनिधित्वलाई ध्यान दिने कांग्रेसले मापदण्ड तयार गरेको हो । १८ देखि ३५ वर्षका युवाहरूको व्यापक प्रतिनिधित्व हुनेगरी प्राथमिकता दिई क्रियाशील वितरण गर्नुपर्ने मापदण्डमा उल्लेख छ । त्यस्तै, समाजमा विभिन्न पेसागत बुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिलाई प्राथमिकता दिनुपर्ने मापदण्ड बनाएको छ । त्यसैगरी, राष्ट्रिय मान्यता प्राप्त अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता उपलब्ध गराउनुपर्ने मापदण्ड बनाएर महाधिवेशनको अभियानमा कांग्रेस अघि बढेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।