
काठमाडौं : ११औं महाधिवेशनको चटारोले छोपेको नेकपा एमालेभित्र आफ्नो पक्षमा शक्ति बढाउन प्रतिनिधिसँगै नेताहरू तानातान भइरहेको छ । मंसिर २७–२९ मा हुने महाधिवेशबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा उत्रिइसकेका छन् ।
देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट सकेसँगै दुवै पक्ष एकअर्को समूहका नेता रिझाउने र बलियो टिम बनाउने प्रयासमा लागेका हुन् । संस्थापनइतर ईश्वर प्यानल बनाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय छिन् । यस समूहमा भण्डारीनिकट पोखरेल, कर्ण थापा, गोकुल बास्कोटा र एमालेभित्र १० बुँदे समूह भनेर चिनिने ओलीविरोधी खेमाका नेताहरू खुलेर लागेका छन् । त्यस्तै, ओलीलाई उनको पुरानो समूहसँगै पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूको साथ छ ।
महाधिवेशन नजिकिँदै जाँदा अधिकांश पदाधिकारी ओलीको पक्षमा खुलेका छन् । उपाध्यक्षहरू विष्णु पौडेल, गुरु बराल, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरू पद्मा अर्याल र लेखराज भट्ट, भानुभक्त आचार्य, महेश बस्नेत, रामकुमारी झाँक्री, सूर्य थापालगायत नेता लागेका छन् । उनीहरूको एकसूत्रीय अभियान ओलीलाई फेरि अध्यक्ष बनाउनेछ । धेरै आकांक्षी पक्षमा खुलेका कारण पद व्यवस्थापनको चुनौती ओली समूहलाई छ । विगत नवौं र १०औं महाधिवेशनबाट निर्वाचित भएर दुई कार्यकाल अध्यक्ष चलाएका ओली चारपटक प्रधानमन्त्री भइसकेका छन् । उनले आफू तेस्रोपटक अध्यक्ष बन्नकै लागि पार्टीको विधान संशोधन गरेर मुल नेतृत्वका लागि राखिएको दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यवस्थासमेत हटाइसकेका छन् । त्यसको लाभ पोखरेललगायत संस्थापनइतर नेताहरूले पनि उठाउँदै छन् । पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य पनि ७० नाघेका नेता हुन् । सो व्यवस्था बहुमतले उल्टाएपछि फरक मत राख्ने नेताहरूले स्वीकारेको उनीहरूको भनाइ छ । ‘जुन व्यवस्था नवौं महाधिवेशनमा ओलीकै प्रस्तावमा राखिएको थियो,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘अहिले आफ्नै लागि उहाँले दुई कार्यकाल र ७० वर्षे उमेर हदको मापदण्ड हटाउनुभयो ।’
संस्थापनइतर समूहका नेता ज्ञवालीले अहिले अध्यक्षबाहेकको टिम बनिनसकेको बताउँछन् । ‘हामीले अहिले अध्यक्ष मात्रै तय गरेका छौं । टिमका विषयमा छलफल भइरहेकाले केही दिनमा टुंगो लगाउँछौं,’ उनले भने । महाधिवेशन प्रतिनिधिको अवस्था भने हाराहारी रहेको दाबी गर्दै ज्ञवालीले मध्यान्हसँग भने, ‘हामीले हेर्दा प्रतिनिधि हाराहारीमै आएका छन् । उहाँहरू बढी हौसिनुभएको छ । यथार्थमा त्यस्तो होइन । साइलेन्स मत धेरै भएकाले हामी अगाडि आउँछौं ।’
कुनैबेला एउटै टिममा रहेर माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालविरुद्ध महाधिवेशनमा भिडेका ओली र ईश्वरबीचको यो भिडन्त निकै रोचक हुने पक्का छ । यद्यपि ओलीसँग प्रतिस्पर्धा गर्नेहरू एमालेमा टिकेका छैनन् । एमाले र देशकै नेतृत्व गरिसकेका नेपाल, खनाल, भीम रावललगायत नेताहरू पूर्वमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीमा पुगेका छन् । यसपटक पनि त्यस्तै हुने चिन्ता आमकार्यकर्तामा देखिन्छ ।
ओलीनिकट नेता महेश बस्नेत भने जेनजी आन्दोलनपछिको मुलुकको राजनीतिक परिस्थिति र पार्टीको परिस्थिति दुवैलाई सम्हालेर लानुपर्ने भएकाले ओलीको विकल्प खोज्न नहुने बताउँछन् । एमालेबाट सबैभन्दा बढी सुविधा भोग गरेकाहरू नै बढी असन्तुष्ट देखिएको बताउँछन् । ‘मुलुक र पार्टीप्रति चौतर्फी घेराबन्दी भइरहेका बेला यी सबैसँग जुध्ने ओलीले मात्रै सक्नुहुन्छ,’ बस्नेतले मध्यान्हसँग भने, ‘यस अवस्थामा एमाले एक ढिक्का भएर लाग्नुपर्ने हो । तर विभिन्न शक्तिले एमालेमा खेलिरहेको छ ।’ पूर्वपार्टी महासचिव माधव नेपाललगायतका नेताहरूको बर्हिगमनबारे उनको बुझाइ छ– एमालेमा लागेर सबैभन्दा बढी पद प्रतिष्ठा र सुविधाभोग गरेका नेताहरू नै सबैभन्दा बढी असन्तुष्टि जनाउँदै नेतृत्वविरुद्ध लागेका छन् । विद्या भण्डारी, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल र ईश्वर पोखरेलले एमालेबाट सबैभन्दा बढी सुविधा लिएर अहिले पार्टीलाई तहसनहस बनाउन लागेको उनको आरोप छ ।
यसपटकको एमाले महाधिवेशन रोचक हुनुको मुख्य कारण ओली–विद्या दुई किनारामा पुग्नु हो । कुनैबेला ओलीको सबैभन्दा निकट नेता पूर्वराष्ट्रपति भण्डारीकै योजनामा अर्को प्यानल खडा गरिएको छ । भण्डारीलाई ओलीकै चाहनामा दुईपटक राष्ट्रपति बनाइएको थियो । ओली प्रधानमन्त्री हुँदा गरेका हरेक प्रस्ताव राष्ट्रपति भण्डारीले निसर्त स्वीकृत गर्ने गर्दा कतिपय निर्णयहरूमा उनी विवादित बनेकी थिइन् । २०७७ पुस ५ गते र २०७८ जेठ ७ गते ओलीले गरेको असंवैधानिक प्रतिनिधि सभा विघटनको प्रस्ताव तत्कालीन राष्ट्रपति भण्डारीले तत्कालै स्वीकृत गरेर विवादमा परेकी थिइन् । ओली र विद्याको यति गहिरो राजनीतिक सम्बन्धमा अहिले दरार आएको छ । पार्टी नेतृत्व नै ताकेकी भण्डारीको सदस्यतासमेत स्थगन गरेर ओलीले उनलाई महाधिवेशनमै वञ्चित गराएपछि उनी ओलीविरुद्ध आफ्नो सशक्त टिम बनाउने तयारीमा जुटेकी हुन् । उनको टिममा वर्तमान उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, गोकुल बास्कोटा, विन्दा पाण्डे, कर्ण थापा, उषाकिरण तिमल्सिनालगायत नेता लागेका छन् । नवौं महाधिवेशनमा यीमध्ये धेरै नेताहरूले ओलीलाई साथ दिएका थिए । यद्यपि ओलीले संसद् विघटनदेखि ईश्वर पोखरेल, विद्या भण्डारी, विन्दा पाण्डे, गोकुल बास्कोटाबाहेकका अधिकांश नेताहरूले ओलीविरुद्ध आन्दोलन गरेका थिए ।
यही मंसिर अन्तिम साता भक्तपुरको सल्लाघारीेमा हुने ११औं महाधिवेशनको संघारमा रहेको एमालेमा नेतृत्वदेखि पुरै टिम बनाएर आमनेसामने हुने पक्का भएपछि कार्यकर्ता तहमा समेत स्पष्ट दुई समूह देखिएका छन् । सोमबार पोखरेल पक्षका नेताहरू बानेश्वरस्थित विद्या भण्डारीको सम्पर्क कार्यालयमा तयारी बैठक गरेर महाधिवेशनको माहोल आफ्नो पक्षमा पार्ने रणनीति बनाएका छन् । सो बैठकमा सहभागी एक नेताले भने, ‘हामी निरन्तर छलफल र महाधिवेशनको तयारीमा छौं । ईश्वर कमरेडको नेतृत्वमा बन्ने टिमको खाकाका विषयमा व्यापक छलफल भइरहेको छ । तर अहिले नै सार्वजनिक गर्ने तहमा पुगेका छैनौं । ओली पक्षले कस्तो टिम बनाउँछ त्यहीअनुसार हामी अघि बढ्छौं ।’ उनका अनुसार, ओली पक्षका कतिपय नेतासमेत ईश्वरको समूहमा आएर चुनाव लड्ने तयारी भइरहेको छ ।
केही नेताहरू भने अहिलेसम्म दुवै पक्षमा खुलेका छैनन् । नखुलेका नेता र प्रतिनिधि आफूतर्फ तान्न दुवै प्यानल सक्रिय छन् । नेताहरू छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रघुजी पन्त, कृष्ण गोपाल श्रेष्ठलगायत कतै खुलेका छैनन् । कतै नखुले पनि अन्तिममा ओलीलाई नै साथ दिने दाबी गुण्डुको छ । संस्थापनको दाबीअनुसार केन्द्रीय कमिटीका ८० प्रतिशत सदस्य पनि ओलीकै पक्षमा छन् । तर ओलीको टिममा चाहेको पद नपाए पोखरेल समूहबाट चुनाव लड्ने योजनामा पनि कतिपय नेताहरू छन् । पोखरेल समूह त्यस्तो संख्या ठुलो हुने र त्यसैले महाधिवेशनको नतिजा बदल्ने आशामा छ । त्यसैका लागि नेताहरू नखुलेको अनुमान गरिएको छ । ओली भने टिम मजबुत बनाउन अधिकतम प्रयासमा छन् । उनी सकेसम्म सहमति गर्ने नभए सहज प्रतिस्पर्धाका लागि नरम बनेका छन् । यसलाई अर्को खेमाका नेता कार्यकर्ताको मन बदल्ने रणनीतिका रूपमा पनि लिइएको छ । तथापि दुवै पक्षले टिम आन्तरिक रूपमा टुंग्याएका छन् । अन्तिम चरणमा फेरबदल पनि हुन सक्छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ भन्छन्, ‘टिम मोटामोटी तयारी भए पनि अन्तिम रूप दिने विषयमा छलफल चलिरहेकाले अझै केही दिन लाग्छ । देशभरका प्रतिनिधिको चाहनाअनुसार हामी अघि बढ्छौं ।’