२०८१ माघ ६ गते आइतवार / Jan 19 , 2025 , Sunday
२०८१ माघ ६ गते आइतवार
Ads

ठाडी भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

hardik ivf
मध्यान्ह
२०८१ साउन १२ गते १३:२०
ठाडी भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

सिराहा : जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु पाँच करोड राजस्व कम संकलन गरेको हो ।

कार्यालयले गत आवमा रु नौ करोड नौ लाख ९३ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु चार करोड १९ लाख २२ हजार राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी विनय चौधरीले जानकारी दिए । 

कार्यालयले राजस्व चुहावट नियन्त्रण, चोरीपैठारी रोक्न नियमित भन्सार गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीबाट चार सय ५० मुद्दा दर्ता भई चार सय २० मुद्दाको टुंगो लगाएको सूचना अधिकारी चौधरीले बताए । 

कार्यालय प्रमुख मुकेशकुमार पाठकले राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताउँदै पर्याप्त जनशक्ति नहुँदा अवैध चोरी पैठारी नियन्त्रण गर्न कठिनाइ भइरहेको जानकारी दिए । उनले भारतबाट भित्रिने सवारीसाधन, टायल्स तथा मार्बलबाट बढी राजस्व संकलन हुने गरेको बताए । उनले पछिल्लो समय निर्यातको अवस्था पनि कमजोर रहेको उल्लेख गरे । 

विसं २०७५ अघि छोटी भन्सारका रूपमा रहेको उक्त कार्यालय विसं २०७७ देखि ठाडी भन्सारका रूपमा रूपान्तरण भएको थियो । यहाँ खाद्य, पशुलगायतको क्वारेन्टिन छैन । 

“खाद्य वस्तु, पशुचौपायाको भन्सार कट्दैन । सोही कारणले राजस्व संकलनमा असर परेका हो”, कार्यालय प्रमुख पाठकले भने। उनका अनुसार प्रमुखसहित १९ जनाको स्वीकृत दरबन्दी रहेकामा हाल कार्यालयमा स्थायी नौ र करारमा दुईजना कर्मचारी कार्यरत छन् ।

ठाडी भन्सार कार्यालयले गत आवमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि चालु आवमा रु चार करोड २३ लाख ४२ हजारको लक्ष्य पाएको प्रमुख पाठकले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise