२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, एक सय १३ अंकले बढ्यो नेप्से परिसूचक

Nada
२०८१ साउन १३ गते १६:०२
Shares
सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, एक सय १३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अंक अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।

ncell

आज तीन सय १८ कम्पनीको चार करोड तीन लाख १४ हजार पाँच सय एक सय ७६ कित्ता शेयर एक लाख ६३ हजार आठ सय १० पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार दुई सय ३५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैंकिंग समूह नौ दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह पाँच दशमलव ७५ र विकास बैंक समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ ।

आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैंक छन् । नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल एसबिआई बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, एभरेस्ट बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

उपकार लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको रु ३६ करोड १० लाख बराबरको १७ लाख छ हजार पाँच सय ८२ कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत विन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो ।

सम्बन्धित खबर