
काठमाडौं : मैतीदेवीकी ममता अधिकारी जापानिज भाषा अध्ययन गर्न नयाँ बानेश्वर पुगिन् । कोलाहलपूर्ण सहरमा मान्छेहरूको भिड उस्तै । चिसो मौसम भए पनि दिउँसो पारिलो घाम लागेको थियो । नजिकै फल्चामा बसेर घाम तापिन् । ‘एकछिन थकाई मार्न पनि कम्तीमा गोजीमा चिया खाने पैसा हुनुपर्छ,’ उनले भनिन्, ‘फल्चा बनेपछि थकाइ मार्न र बस पर्खिन सजिलो भएको छ ।’
धुम्बाराहीकी मनीषा झालाई कामले घरबाहिर निस्कँदा धेरै समय उभिएरै गाडी पर्खिनुपर्ने बाध्यता थियो । कलेज जान १५–२० मिनेसम्मै कुर्नुपर्छ । त्यसरी उभिँदा आफ्नै झोला पनि भारी हुन्छ । धुम्बाराहीमा फल्चा बनेपछि उनी बसेरै गाडी पर्खिन्छिन् । आधुनिक बस स्टपभन्दा परम्परागत फल्चामा बस्न रमाइलो हुने उनी बताउँछिन् ।
ममता र मनीषा मात्र होइन, काठमाडौंका धेरै यात्रुले फल्चामा विश्राम गर्न पाएका छन् । काठमाडौं महानगरको मेयरमा बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोल आएपछि उनीहरूको चुनावी प्रतिबद्धताअनुसार चोकचोकमा फल्चा ठडिँदै गएका छन् ।
त्यसो त सांस्कृतिक महानगर काठमाडौंमा १९९० सालको भूकम्पपछि फल्चाहरू हराउँदै गएका थिए । सडक बिस्तारसँगै पुराना संरचना पनि मासिँदै गए । भित्री सहर र गल्लीमा मात्र देखिने फल्चा अहिले बानेश्वरदेखि कलंकी र धुम्बाराहीसम्मै फैलिएका छन् । फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकता केन्द्रका रूपमा रहँदै आएको छ, जहाँ मानिसहरू भेला भएर विचार साटासाट, मेलमिलाप र सामुदायिक निर्णय लिने गर्दथे । चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वको तयारीसमेत हुन्थे । त्यस्तै, आकारप्रकारका फल्चा अहिले प्रतीक्षालयमा परिणत भएका हुन ।
प्राचीन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका फल्चाहरूको पुनर्निर्माणले काठमाडौंको आकर्षण बढाएको छ । व्यस्त सहर जहाँ एकछिन उभिन सकिँदैन । बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास सुनाउने र थकान मेटाउने थलो भएको छ । फल्चा मौलिक इतिहास र केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर बनेको छ ।
काठमाडांै महानगरपालिकाले विभिन्न चोकमा बस बिसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको छ । कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको फल्चा परम्परागत सिप र कला जोगाउन मद्दत गरिएको छ । हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ । बीचको बाटोबाट पैदल आवतजावत सहज हुनेगरी डिजाइन गरिएको छ । यी अपांगमैत्री पनि छन् । महानगरले फल्चा भएका केही ठाउँहरूमा खानेपानीसमेत व्यवस्था गरिदिएको छ ।
मेयर बालेन र उपमेयर डंगोलले चुनावी घोषणापत्रमा नै बस बिसौनीहरूमा परम्परागत फल्चा बनाउने प्रतिबद्धता जनाएर सुरु गरेको भए पनि पछिल्ला वर्षहरूमा भने वडामार्फत पनि ठाउँठाउँमा फल्चा निर्माण भइरहेका छन् । महानगरले प्रतीक्षालयका रूपमा अभियानकै रूपमा परम्परागत शैलीका फल्चा निर्माण गरिरहेको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई बताउँछिन् । ‘फल्चा चारपाखे शैलीकै छन् । परापूर्व कालदेखि नै काठमाडौं उपत्यकामा बाटोघाटो छेउ फल्चा बनाएको पाइन्छ । तर जीर्ण भएको फल्चा क्रमशः भत्किँदै गए, पुनर्निर्माण भएनन्,’ उनले भनिन्, ‘ती फल्चाहरूलाई पुनर्निर्माण, पुनः जीवित गरिएको छ ।’
उनका अनुसार, अहिलेसम्म २४ वटा फल्चा निर्माण भइसकेका छन् । त्यसमध्य दुईवटा फल्चा उपभोक्ताको सक्रियतामा निर्माण भएका हुन् । मल्ल राजाको पालामा काठबाट निर्माण भएका विभिन्न आकृतिमा बुट्टेदार फल्चा निर्माण भएको उनले बताइन् । ‘मल्लकालमा सार्वजनिक सरोकारका विषयमा छलफल र निर्णय गर्नुपर्दा फल्चाको प्रयोग गरिन्थ्यो,’ उनले भनिन् ।
‘कंक्रिटाइजेसन’ले छोपेको यो समयमा काठमाडौंको सभ्यता झल्काउने झिंगटीको छानो, थाम तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा निर्माण भएको सम्पदा तथा पर्यटन विभागका आर्किटेक्ट इन्जिनियर आनन्द मानन्धर बताउँछन् । फल्चा उद्घाटनका क्रममा महानगर मेयर बालेन शाहको भनाइ थियो, ‘फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदै छन् । यसलाई तस्बिर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ ।’
कम्तीमा हरेक बसस्टपमा यात्रुहरूलाई आफ्नो मौलिकता भएको फल्चा राख्न पाए आर्कषक देखिने भएकाले त्यहीअनुरूप काम भइरहेको उनले बताएका छन् ।
महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गर्दै आएको छ । सबैभन्दा पहिले बिजुली बजारमा रहेका दुईवटा फल्चा आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन गरिएको थियो । माघ २०८१ मा जारी कार्यादेशअनुसार, २४ वटा फल्चा निर्माण गरिएका हुन् । ती सबै फल्चाको कुल लागत करिब ९ करोड रहेको छ ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिकालगायतका स्थानीय तहले पुराना फल्चाको जीर्णोद्धार र पुनर्निर्माणसँगसँगै नयाँ फल्चाको निर्माणमा चासो देखाएका छन् । स्थानीयका अनुसार फल्चाको इतिहास झन्डै ३ सय २४ वर्ष पुरानो हो । १९९० सालको भूकम्पमा धेरै फल्चा भत्किएपछि हराउँदै गएकोमा अहिले पुनर्निर्माण गरिन लागेको हो ।