२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

फरक मत नरुचाउने सञ्जाल : पुरुषजति झोले, महिला चरित्रहीन

shivam cement
सपना बोहरा
२०८२ फागुन १४ गते ०६:३०
Shares
फरक मत नरुचाउने सञ्जाल : पुरुषजति झोले, महिला चरित्रहीन

काठमाडौं : कमेडी क्षेत्रकी चर्चित कलाकार हुन्, नविना सिलवाल (खुइली) । पर्दामा उनी जति राम्रो नाटक गर्छिन्, विचार पनि प्रष्टसँग राख्छिन् । पछिल्लो समय उनी चुनावी माहोलबारे निरन्तर भिडियो पोस्ट गरिरहेकी छन् । कुनैबेला उनका भिडियो मन पराउनेहरू नै अहिले उनीविरुद्ध खनिन थालेका छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबारे आलोचनात्मक टिप्पणी गरेपछि सो पार्टीका समर्थकहरु गालीगलौचमा उत्रिएका छन् । ‘म पनि कुनै बेला बालेनको उग्र समर्थक नै हो । बालेनजस्तो केटा पाए बिहे गर्थें भनेर गीत नै गाएको हो,’ उनले एउटा भिडियोमा भनेकी छन्, ‘अहिले केही आलोचना गर्दैमा कांग्रेस–एमालेका नेतासँग जोडेर गालीको वर्षा हुन्छ ।’ 

फरक विचार राख्ने पुरुषलाई झोले र महिलालाई अश्लिल गाली गर्ने गरिएको उनी बताउँछिन् । आफूलाई त्यसरी गाली गर्नेमा अधिकांश रास्वपाका समर्थक रहेको उनले बताइन् ।  

पछिल्लो समय झापा–५ को चुनावप्रति धेरैको चासो छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको प्रतिस्पर्धाले देशैभर चुनावी चर्चा छ । खुइली आफैं पनि झापाकै मतदाता हुन् । त्यसैले त्यहाँको चुनावी माहोलबारे उनले भिडियोमार्फत खरो टिप्पणी गर्दै आएकी छन् । आफूलाई गाली र धम्कीको ओइरो लागेपछि खुइलीले समाजिक सञ्जालमा लेखेकी छिन्, ‘छोरा मान्छे भनेको छोरा मान्छे नै हो यार । त्यत्तिकै भनेको होइन रहेछ । हिजो छोरा मान्छे प्रधानमन्त्री हुँदा कहिल्यै कोहीसँग डराउनु पर्थेन । आज छोरी मान्छे प्रधानमन्त्री भएका बेला दिनदिनै डराएर हिँड्नुपरेको छ ।’

राजनीतिक दलबारे आफ्नो विचार राख्दा पनि गालीगलौज, काट्ने, मार्ने धम्की आइरहेको उनको गुनासो छ । बाटोमा हिँड्दा पनि मास्क लगाएर नचिनिने भएर हिँडनुपरेको उल्लेख गर्दै उनी भन्छिन्, ‘राजनीतिक दलका बारेमा प्रश्न राख्दा, आफ्नो विचार व्यक्त गर्न खोज्दा छोरी मान्छे किन असुरक्षित हुनुपर्ने ? गालीगलौज पाइराख्नुपर्ने किन ?’

उनी प्रतिनिधि पात्र हुन् । सामाजिक सञ्जालमा चुनावले अरुको विचार सुन्नै नसक्ने अराजकता बढाएको छ । प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता खुम्चिएको छ । त्यसको सबैभन्दा ठुलो मारमा महिला उम्मेदवार, दलका नेता कार्यकर्ता र सञ्जाल प्रयोगकर्ता परेका छन् । 

गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नं. ५ को उम्मेदवार निशा अधिकारीलाई सामाजिक सञ्जालमा अपशब्दको ओइरो लागेको छ । सञ्चारमाध्यम, टेलिभिजन र चलचित्र क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय अधिकारी यसअघि पनि पटकपटक साइबर हिंसाको सिकार भएकी थिइन् । अहिले प्रत्यक्ष राजनीतिमा आउँदासम्म त्यो रोकिएको छैन । उनी सामाजिक सञ्जालमा आफनो विचार सार्वजनिक गर्छिन्, योजना सुनाउँछिन्, सल्लाह माग्छिन् । त्यसको बदलामा उनीमाथि गालीको वर्षा हुन्छ । 

सामाजिक सञ्जालको विषय मात्रै होइन, महिला नेतृलाई भौतिक रूपमा समेत आक्रमणका प्रयास हुन थालेका छन् । त्यसको प्रत्यक्ष सिकार हुन्, नेकपा एमालेकी समानुपातिक उम्मेदवार शान्ता चौधरी । कम्लहरी पृष्ठभूमिबाट आएर उनी दुई पटक सांसद भइसकेकी छन् । जतिबेला उनी राम्ररी बोल्न जान्दैन थिइन्, मेकअप गेटअपमा खासै चासो दिँदैनथिइन् ।

त्यतिबेलासम्म उनले गाली सुन्नु परेन । जब उनले समाज र राजनीति बुझिन्, आफ्नो विचार व्यक्त गर्न थालिन्, उनीमाथि साइबर हमला हुन थाल्यो । साइबर हमला मात्रै हाइन, उनीमाथि भौतिक आक्रमणको प्रयास समेत गरियो । एमालेको प्रचारप्रसारमा सक्रिय रहँदा घरमै गएर केही युवाहरूले तथानाम गाली गरेको भिडियो अहिले भाइरल भएको छ । 

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । कुनै दल वा उम्मेदवारबारे सामाजिक सञ्जालमा खुलेरै समर्थन वा विरोध हुन थालेको छ । त्यस्तोमा अपशब्द र लाञ्छनाजन्य गालीगलौजको सिकार भने महिला धेरै भइरहेका छन् । समाजशास्त्री निर्मला ढकाल अरुलाई अनावश्यक धम्की दिने व्यक्तिले बिर्सन नसक्ने गरी फोटो/म्यासेज हाल्ने अभ्यास उपयुक्त रहेको बताउँछिन् । कानुनभन्दा पहिले समाजले यस्ता अपराधीलाई चिन्नुपर्ने उल्लेख गर्दै उनी भन्छिन्, ‘निशा अधिकारी मात्रै होइन, ज्योति मगर, समीक्षाको कमेन्ट सेक्सन हेर्नुस् त । यी सबैको जड समाजको हुर्काइ र चेतको प्रतिफल हो । यो उधो मति भएको समाज कहिले सुध्रन्न ।’ 

यति हुँदा पनि साइबर ब्युरोमा भने खासै उजुरी परेका छैनन् । महिला नेतृहरू डिजिटल हिंसामा परिरहँदा पनि उजुरी नआएको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थी बताउँछन् । ‘अहिलेसम्म उजुरी परेको छैन, उजुरी परेको खण्डमा हामी न्याय दिलाउँछौं,’ उनले भने, ‘त्यसबाहेक अन्य सर्वसाधारणका उजुरीहरू प्रशस्तै छन् ।’

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता टिप्पणी गर्न वा गराउन नहुने भनिएको छ । कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री उत्पादन, प्रकाशन वा प्रसारण गर्न नहुने पनि आचारसंहितामा उल्लेख छ । 

महिला उम्मेदवारलाई अश्लील वा घृणित टिप्पणी गर्दा आचारसंहिताको उल्लंघन हुन्छ । उजुरी दिइने माध्यमहरूमा लिखित, मौखिक, सामाजिक सञ्जाल वा विद्युतीय माध्यमहरू समावेश छन् । आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय वा अनुगमन टोलीसमक्ष उजुरी दिन सकिन्छ ।

आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना, उम्मेदवार भए उम्मेदवारी रद्द र निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन, २०७३ बमोजिम कारबाही हुने व्यवस्था छ । निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरे एआई र सामाजिक सञ्जालको प्रयोगले नकारात्मकता बढेको बताउँछन् ।  आयोगले आचारसंहिताविपरीत हुने गतिविधि नियन्त्रण गर्न संयन्त्रसहित काम गरिरहेको उनको दाबी छ । 

यसबीच चरित्रहत्यासम्बन्धी एकादुई उजुरी आयोगमा आएको उल्लेख गर्दै घिमिरे दोषपूर्ण अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने बताउँछन् । ‘आचारसंहिता उल्लंघन गर्नेले स्पष्टीकरण दिनुपर्नेछ, चित्तबुझ्दो जवाफ नआए कारबाही पनि हुनेछ’ उनले भने । 

सम्बन्धित खबर