२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

इराकको आवासीय कार्ड भएकालाई श्रम स्वीकृति दिइने

Nada
२०८२ पुष १२ गते ०६:३०
Shares
इराकको आवासीय कार्ड भएकालाई श्रम स्वीकृति दिइने

काठमाडौं : सरकारले विभिन्न तरिका र बाटो हुँदै वैदेशिक रोजगारीका लागि इराक पुगेका नेपाली कामदारलाई वैधानिकता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

ncell

मन्त्रिपरिषद्ले इराकको आवासीय कार्ड भएका नेपालीलाई श्रम स्वीकृति दिने निर्णय गरेको हो । सो निर्णयले हाल इराकमा कार्यरत करिब ३० हजार नेपाली लाभान्वित हुने गैरआवासीय नेपालीहरूले बताएका छन् ।

२०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या भएपछि इराकको रोजगारीमा प्रतिबन्ध लागेको थियो । अब इराकमा कार्यरत नेपालीले श्रम स्वीकृति पाई वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने सुविधा सहज रूपमा पाउनेछन् भने उनीहरूलाई नेपाल आवतजावतमा रहेको असहजता हट्ने छ ।

त्यसैगरी नेपाल सरकार र जापान सरकारबीच भएको जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन जिट्को अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०६६ खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

उक्त निर्णयपछि रोजगारीका लागि जापान जाने प्रशिक्षार्थी कामदारको भाषा परीक्षा सञ्चालन गर्न नेपाल जाइका अल्मुनाइ एसोसिएसन ‘जान’लाई दिएको अनुमति पनि खारेज भएको छ ।

नेपाली कामदारको भिसा आएपछि भाषा परीक्षा सञ्चालन गर्नु गैरकानुनी भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी नगरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानलाई अर्को व्यवस्था नभएसम्म भाषा परीक्षा सञ्चालन गर्न पत्र पठाएको थियो ।

सम्बन्धित खबर