२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

अर्जुन थापाको नेतृत्वमा जनसम्पर्क समिति साउदीको नयाँ कार्यसमिति गठन

Nada
अन्जान गुभाजु
२०८२ पुष १२ गते १०:४०
Shares
अर्जुन थापाको नेतृत्वमा जनसम्पर्क समिति साउदीको नयाँ कार्यसमिति गठन

साउदी अरबः नेपाली कांग्रेसको प्रवासस्थित भातृ संगठन जनसम्पर्क समिति साउदी अरबको तेस्रो अधिवेशन शुक्रबार रियादमा सम्पन्न भएको छ। अधिवेशनले अर्जुनबहादुर थापालाई सर्वसम्मत रूपमा सभापति चयन गर्दै २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध गठन गरेको छ। सहभागीहरूले यो अधिवेशनलाई संगठनभित्रको आपसी विश्वास र एकताको स्पष्ट सन्देशका रूपमा मूल्याङ्कन गरेका छन्।

ncell

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपसभापतिमा शुरेसराज त्रिपाठी चयन भएका छन् भने उपसभापतिमा पदमप्रसाद पाण्डे, नरेश सापकोटा र गोपाल पंगेनी रहेका छन् । यस्तै, अरुण वेल्वासे र मोहन अधिकारी महामन्त्री तथा भिम विक र खेमराज भट्ट सह–महामन्त्रीमा चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा पाराश काफ्ले, रामचन्द्र राउत, लक्ष्मी लोप्चन तामाङ, रामशरण थापा, अनिल रेग्मी, राजेन्द्र कार्की, सुरज रेग्मी, संजोग पाण्डे, आयान बस्नेत, पूर्णप्रसाद रिजाल, प्रकाशबहादुर ढाँट, भरतबहादुर बोहोरा, तेजप्रसाद अधिकारी, इब्राहिम शर्मा, गणेश भाट इब्राहिम, गोपाल आचार्य र सन्तोष परियार रहेका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेलले पछिल्लो समय युवापुस्ताबाट उठेको दबाबले राजनीतिक दलहरूलाई आत्मसुधारतर्फ अघि बढ्न सन्देश दिएको उल्लेख गरे । उनले वर्तमान राजनीतिक गतिरोधको समाधान लोकतान्त्रिक प्रक्रिया र निर्वाचनमार्फत मात्रै सम्भव हुने धारणा व्यक्त गर्दै प्रवासमा रहेका नेपालीहरूको सीप, अनुभव र लगानीलाई पर्यटन र उद्यमशीलतासँग जोडेर देशको विकासमा प्रयोग गर्न सकिने बताए । 

कार्यक्रममा वक्ताहरूले साउदीमा सहमतिका आधारमा सम्पन्न अधिवेशनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन पनि आपसी समझदारीका साथ समयमै सम्पन्न हुनुपर्ने आवश्यकता औँल्याएका छन्। कार्यक्रममा शुभकामना व्यक्त गर्दै रियादस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेती तथा जनसम्पर्क समन्वय विभागका सदस्य पुरुषोत्तम खनालले प्रवासमा रहेका नेपाली श्रमिकहरूको हक–हितका सवालमा जनसम्पर्क समितिले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिए । 

अधिवेशनकै अवसरमा साउदी अरबमा कार्यरत २२ जना युवा नेपाली कांग्रेसमा आबद्ध भएका छन् । नवनिर्वाचित सभापति थापाले संगठनलाई अझ सुदृढ बनाउँदै साउदीमा रहेका नेपाली समुदायको हितका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
 

सम्बन्धित खबर