
सिरहा : दैनिक मजदुरीमै उनको परिवारले हातमुख जोड्दै आएको छ । गरिबीकै बीच उनले डाक्टर बन्ने सपना देखे । तर घरपरिवार र गाउँले कसैले पत्याएनन् । सिरहाको बरियारपट्टीका २१ वर्षीय सत्यनारायण साफीले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेर सिंगो गाउँलाई खुसी दिएका छन् ।
चिकित्सा शिक्षा आयोगले १५ कात्तिकमा लिएको एमबिबिएस प्रवेश परीक्षामा साफीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन् । बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका साफी दैनिक मजदुरी गर्छन् । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घर निर्माणमा गिट्टी, बालुवा, सिमेन्ट बोकेर मजदुरी गर्छन् । दिनभर कामले थकित शरीर लिएर उनी रातभर एमबिबिएस प्रवेश परीक्षाको तयारी गर्थे । यही संघर्षले उनी पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने अवसर पाए ।
विराटनगरस्थित अरनिको माविबाट २०७९ मा विज्ञानमा १२ कक्षा उत्तीर्ण गरेका साफी एमबिबिएस पढ्ने सपना बोकेर गाउँबाट १० हजार ऋण काढेर काठमाडौं पुगे । डेढ महिनाको बसाइमा ऋणको पैसा सकियो तर नाम निस्केन । उनी फेरि गाउँ फर्किए । बुबा माधुरी कतारको रोजगारी छाडेर फर्किएपछि उनको परिवारको आर्थिक संकट झनै गहिरियो । ६ जनाको परिवार धान्न मजदुरी नै मुख्य सहारा बन्यो । ‘दिनभर मजदुरी गरे पनि राति चाहिँ राम्रै तयारी गरेको थिएँ । दोस्रो प्रयासमा सफलता हात लाग्यो,’ उनी भन्छन् ।
एमबिबिएस तयारीका १३ महिना उनले निर्माण क्षेत्रमा मजदुरी गरेरै तयारी गरेका थिए । मेहनतले उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पूर्ण छात्रवृत्तिमा भर्ना हुने मौका पाए । तर भर्नापछि लाग्ने खर्च व्यवस्थापनको चिन्ता भने छँदै छ ।
मासिक खर्चको चिन्ता
छात्रवृत्ति पाए पनि होस्टेल, खाना, पुस्तक, स्टेसनरी, लत्ताकपडा र परीक्षा शुल्क गरी मासिक ३० हजार रुपैयाँ जति खर्च लाग्छ । परिवारसँग स्थायी आम्दानीको स्रोत नभएकाले उक्त खर्च कसरी जुटाउने भन्ने चिन्ता लागेको उनी बताउँछन् । एमबिबिएस नाम निस्किएपछि २४ मंसिरमा साफी परिवारले छिमेकीसँग ८० हजार ऋण लिएर स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्यो । त्यहाँ ५० हजार धरौटी, ११ हजार रजिस्ट्रेसन शुल्क र ३५ सय स्वास्थ्य बिमा बुझाएको उनी बताउँछन् । यात्रा र बसोबासमा थप खर्च भएपछि ऋणको रकम सकिएको उनी बताउँछन् ।
साफीको संघर्षपूर्ण सफलताको समाचार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय तथा बाहिरबाट सहयोगी हात जुट्न थालेका छन् । अभियन्ता आशिका तामाङले घरमै पुगेर १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको बरियारपट्टी गाउँपालिका–३ का वडाध्यक्ष विनोदकुमार यादवले बताए ।
साफी परिवारसँग जस्ताले छाएको घर र केही बाख्राबाहेक अरू सम्पत्ति छैन । बुवाआमालाई गाउँमै नियमित मजदुरी पाउन पनि कठिन छ । यस्ता कठिन अवस्थाका बीच पनि सत्यनारायणको इच्छाशक्ति अडिग छ । ‘कसैले पत्याएका थिएनन् । तर मैले मजदुरी गरेरै नाम निकालें,’ उनी भन्छन्, ‘अब डाक्टर बनेर परिवार र गाउँको अवस्था सुधार्नु छ । आज मसँग पैसा छैन तर हिम्मत हारेको छैन ।’