२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

दलहरूले बुझाए समानुपातिक सूची, नयाँ अनुहारको वर्चस्व

shivam cement
जीवन शर्मा
२०८२ पुष १५ गते ०६:३५
Shares
दलहरूले बुझाए समानुपातिक सूची, नयाँ अनुहारको वर्चस्व

काठमाडौं : आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले दिएको समयसीमाअनुसार दलहरूले समानुपातिक बन्दसूची बुझाएका छन् । विघटित प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), रास्वपा, राप्रपासहित दलहरूले बन्द सूची बुझाएका हुन् । 

त्यस्तै, पहिलोपटक निर्वाचनमा भाग लिने नयाँ दलहरूले समेत समानुपातिक बन्दसूची बुझाएका छन् । जेनजी आन्दोलनपछि आमपरिवर्तनको चाहनालाई ख्याल गर्दै पुराना राजनीतिक दलहरूले पटकपटक समानुपातिकमा बसेकालाई यसपटक बिदाइ गरेका छन् । आयोगले सूची बुझाउन आइतबार र सोमबारसम्मको समय तोकेको थियो । सोमबार राति अबेरसम्म टोकन लिएका दलहरूका लागि मंगलबार बिहान १० बजे सम्म सेवा दिने आयोगले जनाएको छ । उक्त समयभित्र निर्वाचनमा भाग लिने सबै दलहरूले समानुपातिक सूचीकृत गर्ने काम गरिसक्नुपर्नेछ । 

उम्मेदवारको बन्दसूची बुझाउने समय नथपिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘तर सूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई भने मंगलबार बिहान १० बजे पनि सेवा दिइनेछ,’ उनले भने । दलहरू निर्वाचन हुने नहुनेमै अलमल रहँदा उनीहरूका लागि बन्द सूची बुझाउन पनि निकै दबाब बढेको थियो । पुराना राजनीतिक दललाई समानुपातिक बन्द सूचीमा पर्ने उम्मेदवारहरूको संख्या धेरै भएपछि छनोटका सकस परेको नेताहरूले बताए । 

यद्यपि पुराना दल नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले पटकपटक अवसर पाएकालाई मापदण्ड बनाएरै नदोहोर्‍याउने नीति लिएका छन् । कांग्रेसले यसअघिका कुनै पनि निर्वाचनमा समानुपातिकबाट सांसद भएकाहरूलाई सूचीमा नसमेटेको सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘यसअघिका कुनै पनि निर्वाचनमा समानुपातिकबाट सांसद भएकाहरूलाई नराखी पार्टीमा योगदान गरेर अवसर नपाएकाहरूलाई प्राथमिकताका दिइएको छ । प्रत्यक्षमा जितेका र पार्टीले अत्यन्तै सम्मान गर्नुपर्ने ५ देखि ७ प्रतिशत पुराना नेताहरू समेटिनुभएको छ ।’ कांग्रेसले २०६४ देखि २०७९ सम्मको निर्वाचनमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको थियो । सोहीअनुसार बन्दसूची बुझाएको नेता विश्वकर्माले बताए । पुराना नेताहरूमा अर्जुननरसिंह केसी, भिष्मराज आङदेम्बेसहित केहीलाई भने समानुपातिकमा राखिएको छ ।  नेकपा एमालेले केही पुराना अनुहारसहित नयाँ अनुहारकै वर्चस्वसहित सूची पेस गरेको सचिव राजन भट्टराईले बताए । ‘केही पुराना नेताहरू पनि समेटिनुभएको छ । तर वर्चस्व नयाँ अनुहारकै छ,’ उनले भने । 

वैकल्पिक शक्तिका रूपमा उदाएका नयाँ दलहरूलाई समेत पार्टी एकताको चटारोले समानुपातिक सूची बुझाउन हम्मेहम्मे परेको छ । बालेन शाह समूहसँग एकता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बन्द सूची बुझाउने नाम आन्तरिक मतदानबाट दिउँसै टुंगो लगाए पनि बालेन समूहबाट आउने र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाललाई समेत समेट्न साँझसम्म पनि सूची पुर्‍याएको थिएन । १ सय १० जनाको नाम बन्द सूचीमा बुझाउनुपर्ने रास्वपामा कुलमानसँग पार्टी एकताको सहमति भएपछि उनको पार्टीलाई १८ जना समानुपातिक दिने सहमति भएको छ । यसअघि बालेन समूहलाई ४० र रवि पक्षलाई ७० जनाको समानुपातिक सूची बनाउने तयारी थियो । कुलमान आएसँगै रवि पक्षका १८ जना दिएपछि सबै पक्षसँगको सूची समायोजन गरेर अन्तिम रूप दिइने रास्वपाका नेताहरूले बताएका छन् ।  

कांग्रेसमा पुरानालाई ५ प्रतिशत 

समानुपातिक बन्द सूचीमा नेपाली कांग्रेसले पुराना नेताहरूलाई ५ प्रतिशत मात्रै दिएको दाबी गरेको छ । सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसपटक अधिकांश उम्मेदवार नयाँ र अवसर नपाएकाहरूलाई समानुपातिकमा समेटिएको बताए । पदाधिकारीबाट सहमहामन्त्री भिष्मराज आङ्दम्बेको नाम राखिएको छ भने अन्यमा अर्जुननरसिंह केसी छन् । त्यस्तै, आदिवासी जनजातिबाट पूर्वमन्त्री रोमी गौचन, गोपालमानसिंह राजभण्डारीको पनि नाम गएको छ । महिलाबाट उर्मिला थपलिया, प्रेमिका रानामगर, रुक्मिणी कोइराला, गोमा भट्टराई, देवकी गौतमलगायतको नाम बन्दसूचीमा छ । युवाबाट प्रेमिका र सेतेमान तामाङ, गीता गुरुङसमेतको नाम सूचीकृत भएको छ । त्यस्तै, चलचित्र निर्देशक मीन भामको पनि नाम बन्दसूचीमा परेको बताइएको छ । त्यस्तै, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान समानुपातिक सूचीमा परेका छन् । मधेश प्रदेशको समानुपातिकको भागबन्डा महेन्द्र यादव, फर्मुला मन्सुर, उमकान्त चौधरी र कृष्ण यादवबीच सहमति हुन नसक्दा समस्या परेको थियो । बन्द सूचीको प्रारम्भिक लिस्ट बुझाइएकाले कतिपय मिलाउनुपर्ने बाँकी नै रहेको कांग्रेसका नेता विमलेन्द्र निधिले बताए ।

एमालेको सूचीमा को परे ? 

एमालेले समानुपातिकतर्फ उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव पद्मा अर्यालसहित सूचीमा परेका छन् । बन्द सूचीमा नयाँदेखि पुराना समेतलाई स्थान दिएको हो । निर्वाचन आयोगमा पेस गरेको बन्दसूचीमा उपाध्यक्ष बादल, सचिव अर्यालदेखि जेनजी पुस्तकी निताता घतानीसम्म छन् । नयाँबाट क्रान्ति बुर्लाकोटी, भूमिका सुब्बालगायत परेका छन् । त्यस्तै, लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, स्थायी कमिटीका पूर्वसदस्य गोरखबहादुर बोगटी पनि सूचीमा छन् । अन्य समूहबाट पूर्वउपाध्यक्ष गुरु बरालसमेत परेका छन् ।  

त्यस्तै, पुराना नेताबाट रामेछापका राजकुमार श्रेष्ठ पनि समेटिएका छन् भने टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, अनिता कन्दङ्वा पनि बन्दसूचीमा छन् । पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतरा, लालबहादुर रावललगायत आठ जना परेका छन् । अपांगता भएका समुदायबाट स्यांजाका रामबहादुर थापा र यसुदा बराल परेको एमालेले जनाएको छ । त्यस्तै, दलित क्लस्टरमा मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, जितु गौतमलगायत छन् भने अल्पसंख्यक क्लस्टरबाट रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत छन् । आयोग पठाइएका कतिपय नाम सच्याउनुपर्ने र क्लस्टर मिलाउनुपर्ने भएकाले सबै सूची सार्वजनिक गरिएको छैन । आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेदवारको सूची पारित गर्दै थपघट गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । सोही अनुसार निर्वाचन आयोगमा पेस गरिएको एमालेले बताएको छ ।  

नेपाली कम्युनिस्ट पार्टीले पनि तल्ला तहबाट आएका नाम क्लस्टर मिलाएर बन्द सूची बुझाएको नेकपाका नेता राजेन्द्र पाण्डेले बताए । ‘देशभरबाट आएका सिफारिस सूचीका आधारमा विगत समानुपातिकबाट आएका नेताहरू बाहेक नयाँलाई प्राथमिकताका साथ सूची तयार पारिएको छ,’ उनले भने, ‘कतिपय समावेशी बनाउने क्रममा युवालाई पनि समेट्छौं । आयोगले तोकेको क्लस्टरअनुसारको सूची बनाउँदा सबैमा नयाँ र पार्टीमा दुःख गरेका तर सांसद मन्त्री नभएकाहरूलाई नै सूचीमा प्राथमिकता दिएका छौं । यद्यपि सूचीमा समेटिएका उम्मेदवारको क्लस्टर हेरफेर हुन सक्ने भएकाले नाम सार्वजनिक नगरिएको बताए ।  

रास्वपा प्रिइलेक्सनबाट उम्मेदवार छनोट 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रिइलेक्सनबाट मतदान गरेर उम्मेदवाहरू छनोट गरेका छन् । मतदाताहरूले पहिलो नम्बरमा रमेश प्रसाईंलाई रोजेका छन् । दोस्रोमा प्रमोद न्यौपाने, तेस्रोमा रञ्जु दर्शनालाई मतदाताले छनोट गरेका छन् ।  यस्तै, चौथोमा टिका संग्रौला (ज्वाला), पाँचौंमा लिमा अधिकारी, छैटौंमा समीक्षा बास्कोटा, सातौंमा विपिनकुमार आचार्यलाई छनोट गरेका छन् । मत संख्याअनुसार आठौंमा क्रान्ति शिखा धिताल, नवौंमा प्रतिभा रावल निर्वाचित भएकी छन् । यस्तै, आदिवासी जनजातितर्फ उत्तमबहादुर गुरुङ पहिलो नम्बरमा, गायिका सत्यकला राई, तेस्रो नम्बरमा मिलन लिम्बु छन् । दलिततर्फ प्रकाशचन्द्र परियार, विजय जैरु, अमृता विक, सविना विश्वकर्मा, स्मृति सेन्चुरी, अविता नेपालीसहित छन् । मधेशीतर्फ पुनमकुमारी अग्रवाल, डा. अंकिता ठाकुर छन् । मुस्लिमतर्फ समिना मिया, अख्तर हुसैन, मोहम्मद हसरत अलीलाई मतदाताले छनोट गरेका हुन् ।

सम्बन्धित खबर