२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस-एमालेबीच चुनावी तालमेलको संकेत

shivam cement
जीवन शर्मा
२०८२ पुष १६ गते ०६:३०
Shares
कांग्रेस-एमालेबीच चुनावी तालमेलको संकेत

काठमाडौं : पार्टीको १५औं महाधिवेशनबारे अनिर्णयको बन्दी बनेको नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाको अर्को ठुलो दल नेकपा एमालेसँगको चुनावी तालमेलको गृहकार्य थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यसबारे अनौपचारिक संवाद अघि बढेको निकटस्थ स्रोतको दाबी छ । 

एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले मंगलबार सार्वजनिक कार्यक्रममै लोकतन्त्र पुनस्र्थापनाका लागि दुई दल मिलेर जानुपर्ने बताएपछि परम्परागत प्रतिस्पर्धी दलबीच गुपचुपमा भइरहेको संवादले औपचारिकता पाएको हो ।  नेताहरूले औपचारिक छलफलमा नल्याइएकाले दोस्रो र तेस्रो तहका नेताहरूले यसबारे खुलेर बोलेका छैनन् । मुलुकको तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको चलखेल बढ्दै गएको र वर्तमान संविधानसहितको व्यवस्था नै कोल्याप्स गर्न खोजेको दाबी कांग्रेस–एमालेको छ । ‘संविधान र व्यवस्थाका पक्षधर राजनीतिक दलहरू मुलुकको स्वाधीनताको रक्षाका लागि चुुनावी एकतामा जानुपर्ने विषयमा दलबीच आन्तरिक छलफल सुरु भएको छ,’ एमालेका एक पदाधिकारीले मध्यान्हसँग भने, ‘चुनावको पूर्वसन्ध्यामा विभिन्न विकल्पबारे कुरा हुनु स्वाभाविक हो । कांग्रेस–एमाले तालमेलको विषय औपचारिक छलफलमा ल्याइएको छैन ।’ 

पूर्वगृहमन्त्रीसमेत रहेका बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने संकेत गरेका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष ओलीको अगाडि उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमालेले मोर्चाबन्दी कसेर अघि बढ्नुपर्ने बताएका हुन् ।  ‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्र्थापना गर्न सक्छौं । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौं भने हामीले लोकतन्त्रलाई फेरि पुनस्र्थापना गर्न सकिन्छ,’ उनले भने, ‘हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधीनता र अस्तित्व हामी टिकाउन सक्छौं ।’ सोही कार्यक्रममा कांग्रेस नेता मीन विश्वकर्माले पनि सहकार्यमै जोड दिएका थिए । उनले कांग्रेस–एमाले २०४६ सालदेखिका सहयात्री भएकाले लोकतन्त्रका लागि एक ठाउँ उभिने बताएर सहकार्यको सम्भावनाको संकेत गरेका थिए । नेताहरूको पछिल्लो अभिव्यक्ति र देउवा–ओलीबीचको निरन्तर संवादले केही दिनमै कांग्रेस–एमालेबीचको चुनावी तालमेलले औपचारिकता पाउने संकेत देखिएको छ । 

जेनजी आन्दोलनबाट भागाभाग भएका पुराना दललाई रोक्नका लागि नयाँ दल तथा समूहबीच भएको एकताले झस्काइदिएका छन् । निर्वाचनमा आफ्नो शक्ति बचाइराख्न पनि तालमेल गर्नुपर्ने बहस दलहरूभित्र सुरु भएको छ ।  संसद् पुुनस्र्थापना भए संसदबाटै मुुलुकको निकास खोज्ने र निर्वाचनमै जाने स्थिति निर्माण भएको खण्डमा पुुरानो हैसियतअनुुसार प्रत्यक्षमा सिट बाँडफाँट गरेर जान अनौपचारिक कुराकानी अघि बढेको कांग्रेसका एक पदाधिकारीले स्वीकारे । ‘अहिलेको परिस्थिति हेरेर कांग्रेस–एमालेबीच चुनावी तालमेल हुन सक्ने छलफल अघि बढेका छन्,’ उनले भने । अनौपचारिक छलफलमा कांग्रेस–एमालेबीच आधाआधा सिट बाँडफाँट हुने सम्भावना रहेको ती नेता बताउँछन् । 

कांग्रेस नेता डा. शेखर कोइरालाले पनि मंगलबार देशमा विदेशी शक्तिको चलखेल भइरहेको बताएका थिए । ‘हाम्रो देशसँग विदेशीहरूको चासो र चिन्ता छ,’ उनले भने, ‘उत्तर र दक्षिणमा हाम्रा दुुईवटा शक्तिशाली छिमेकी छन् । विश्वको सबैभन्दा ठुलो देशको पनि चलखेल छ । संसद् पुनस्र्थापना गरेर संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको कुरा आइरहेकोमा यसमा विदेशीहरूकै चलखेल स्वाभाविक देखिन्छ ।’ पुराना दलहरूलाई निषेध गरेर मुलुकको समस्या समाधान नहुने उनी बताउँछन् । नयाँ दल र शक्तिहरूको एकताले राजनीतिमा ल्याएको तरंग आइरहेका बेला हार्ने डरले कांग्रेस चुनावबाट पछि नहट्ने नेता कोइरालाले बताएका छन् । तर एमालेसँगको चुनावी तालमेलमा भने उनी सहमत देखिँदैनन् । 

त्यसो त कांग्रेसले गत वर्ष भएको महासमिति भेलाबाटै निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ ।  तर पछिल्लो जेनजी आन्दोलनपछिको परिस्थित हेरेर आवश्यक निर्णय लिनुपर्ने संस्थापन पक्षका नेताहरूको भनाइ छ । एमाले पनि यसका सहमत छ । एमाले नेता महेश बतौंलाले कांग्रेस–एमालेबीचको चुनावी तालमेलको औपचारिक छलफल नभएको दाबी गरे । उनले मध्यान्हसँग भने, ‘यस विषयमा औपचारिक छलफल भएको छैन । तर संविधान र व्यवस्थाका पक्षधर राजनीतिक दल मुलुकको स्वाधीनताको रक्षाका लागि एकठाउँ उभिएर राजनीतिक निकास दिनुपर्ने अवस्था आएको छ ।’ 

कांग्रेसमा महाधिवेशनको च्याप्टर क्लोज

प्रतिनिधि सभाको निर्वाचन अघि १५औं महाधिवेशन गर्ने र नगर्नेबीचको लडाइँले थलिएको नेपाली कांग्रेसको महाधिवेशन अन्ततः रोकिएको छ । आज वडा अधिवेशन गर्ने कार्यतालिका प्रकाशन गरेको कांग्रेसको वडा अधिवेशन भएन । तर केन्द्रीय समितिले न त महाधिवेशनको मिति सारेका छन् न तोकिएकै मितिमा अधिवेशन थालेको छ । यसरी अनिर्णित बनेको कांग्रेसका लागि महाधिवेशनको विकल्पका रूपमा अघि सारेको विषेश महाधिवेशनको प्रयास समेत सफल हुने अवस्थामा छैन ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास महाराजगन्जमा केही पत्रकारलाई बोलाएर विशेष महाधिवेशनमा नजाने र नियमित महाधिवेशनको वातावरण सबै मिलेर बनाउनुपर्ने सन्देश दिए । देउवाले मुलुक चुनावमा गइसकेकाले त्यसअघि विशेष महाधिवेशन हुन नसक्ने प्रस्ट पार्दै चुनावपछि नै महाधिवेशन उपयुक्त हुने सुझाव पदाधिकारीहरूलाई दिएको बताए । सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर निष्क्रिय बनेका थिए ।  तर पार्टीका हरेक निर्णयमा उनकै हस्तक्षेप भएको छ ।

पार्टीको महाधिवेशनको निर्णयदेखि समानुपातिक बन्द सूचीमा समेत देउवाकै हस्ताक्षर चलाइएको छ । समयमा महाधिवेशन नहुने भए विशेष महाधिवेशनको हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि दाबी गर्दै आएका महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मासहितका नेताहरू अझै विशेष महाधिवेशन भन्दै राष्ट्रिय भेला बोलाउने योजनामा छन् । पुसको १९, २० वा २१ गतेका लागि भेला बोलाउने तयारी भइरहे पनि यकिन नभएको विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।  ‘पार्टीभित्र रूपान्तरणका लागि उठेको आवाजलाई बेवास्ता गरियो । विधानको व्यवस्थालाई लत्याउने प्रयास भयो । अब यथास्थितिमा कांग्रेस अगाडि बढ्दैन । विशेष महाधिवेशन पक्षधर एकै ठाउँमा भेला भएर दबाब दिन्छौं,’ उनले भने । 

महामन्त्री थापा पक्षधरहरूले हस्ताक्षरकर्ताहरूले नै विशेष महाधिवेशन बोलाउनेबारे कानुनविद्हरूसँग नियमित परामर्श दिएका थिए । महाधिवेशन टार्दै लगिएपछि विशेष महाधिवेशन पक्षका नेताहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपामै भेला बोलाउने बताएका छन् । यसैबीच महामन्त्री थापानिकट नेताहरूले सामाजिक सञ्जालमा ‘अक्कुपाई सानेपा’ ह्यासट्याग ट्रेन्ड सुरु गरेका छन् । उनीहरूले सानेपास्थित कांग्रेस कार्यालय घेराउ गर्ने, सत्याग्रह गर्नेलगायतका दबाबमूलक कार्यक्रमको तयारी गरेका छन् ।

सम्बन्धित खबर