२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सकसमा पुराना दल. नीति बदल्दै नेता

Nada
जीवन शर्मा
२०८२ पुष १९ गते ०६:३०
Shares
सकसमा पुराना दल. नीति बदल्दै नेता

काठमाडौं : भदौ २२ सम्म सत्ता र प्रतिपक्षका भिन्न कित्तामा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दल तीन महिनापछि करिब–करिब एउटै कित्तामा आइपुगेका छन् । जेनजी आन्दोलनपछि यी दलको एउटै परिचय बनेको छ, पुराना दल । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनमा नयाँ भर्सेज पुराना दलको ध्रवीकरण चलिरहँदा कांग्रेस, एमाले र नेकपा चुनावी रणनीति बनाउन व्यस्त छन् । 

ncell

विघटित प्रतिनिधि सभाको ठुलो दल कांग्रेस पार्टी महाधिवेशनको किचलोमा फसेको छ । पुस मसान्तमा तोकिएको १५औं महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुटेका छन् भने संस्थापनले वैशाख अन्तिमका लागि नयाँ तालिका पारित गरेको छ । पार्टी विवाद उत्कर्षमा पुगे पनि कांग्रेस नेतृत्व चुनावी तयारीमा पनि उत्तिकै लागेको छ । एमाले पार्टी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै चुनावी रणनीति बनाउन व्यस्त छ भने नेपाली कम्युनिस्ट पार्टी वामशक्तिलाई एकठाउँ ल्याएर जनमत जोगाउने गृहकार्यमा छ । यी दललाई यसपटकको चुनाव अवसरभन्दा ज्यादा चुनौतीका रूपमा देखिएको छ । 

पुरानो वर्चस्व जोगाउन दलबीच चुनावी तालमेलको पनि गृहकार्य सुरु भएको छ । कांग्रेस–एमाले, एमाले–नेकपा, कांग्रेस–नेकपा र कांग्रेस–एमाले–नेकपाबीच सिट बाँडेर चुनाव लड्ने कोणबाट संवाद चलिरहेको छ । समानुपातिकतर्फको बन्दसूची पेस गर्नेबेलासम्म नयाँ दलहरूको चुनावी मोर्चा बसिक्दा पुरानाले कुनै पनि गठबन्धनको टुंगो भने लगाइसकेका छैनन् । यसबीचमा कांग्रेस–एमाले र एमाले–नेकपा समीकरणका लागि भित्रभित्रै छलफल चलिरहेको ती दलनिकट नेताहरूले बताएका छन् । प्रतिनिधि सभा चुनावअघि राष्ट्रिय सभा चुनावका लागि तीन दल एक ठाउँ उभिने तयारी छ । 

वर्तमान राजनीतिक व्यवस्था र सार्वभौमिकताको रक्षार्थ अन्दोलनका सहयात्री दलहरू मिलेर निर्वाचनमा जानुपर्ने भन्दै नेताहरू छलफलमा जुटेका छन् । एमाले नेता महेश बर्तौला सार्वभौमिकता र राष्ट्र बचाउन, वर्तमान व्यवस्थाको रक्षाका लागि आन्दोलनका सहयात्री दल मिलेरै अघि बढ्नुपर्ने आवश्यकता देख्छन् । ‘एमाले–कांग्रेस र नेकपासहितको कार्यगत एकता मुलुकको अहिलेको आवश्यकता हो,’ उनले चुनावी सहकार्यको संकेत गर्दै भने । आन्दोलनपछिको राजनीतिक घटनाक्रमले विपरीत कित्तामा रहेका र मिल्नै नसक्नेहरूबीचको धु्रवीकरणसमेत सामान्य भएको देखिन्छ । 

राजनीतिक विश्लेषक मुमाराम खनाल नयाँ–पुराना दलबीचको मिलनलाई स्वार्थको रोटी सेक्ने मेलोका रूपमा टिपी गर्छन् । उनले मध्यान्हसँग भने, ‘नयाँ हुन या पुराना जोजोसँग मिले पनि अन्ततः स्वार्थकै लागि मिल्ने हुन् । यसले आमरूपमा नागरिक वा देशहितका लागि अर्थ राख्दैन ।’ नयाँहरू पुरानालाई पन्छाएर आफू खान र पुरानाले खाइपाइ आएको ठाउँमा नयाँलाई प्रवेश नदिन मात्रै यस्ता कृत्रिम गठबन्धन गर्न खोजिएको उनको टिप्पणी छ । 

पुराना दलहरूले आफ्नो विरासत कायमै राख्ने नाममा चुनावी एकता वा ध्रुवीकरणले दीर्घकालीन समस्या निम्त्याउने भन्दै त्यो रोक्न पनि केही नेता लागिपरेका छन् । कांग्रेस नेता प्रदीप पौडेल लोकतन्त्रमा विधि र व्यवस्था ठिक हुनुपर्ने बताउँछन् । जित्नकै लागि मात्रै पार्टीहरूबीचको ध्रुवीकरणले राष्ट्रहित अथवा जनताप्रति जिम्मेवार भइहालिन्छ भन्ने अर्थमा राजनीतिलाई हेरिनु नहुने उनको टिप्पणी छ । ‘लोकतन्त्रमा विधि र व्यवस्था ठिक ढंगले अघि बढ्न सकेन भने जोजो मिलेर चुनावी परिणाम ल्याए पनि आमजनताका पक्षमा काम गर्न सक्छ भन्ने मलाई लाग्दैन,’ पौडेलले मध्यान्हसँग भने,  ‘त्यस कारण हामी आम समस्यालाई केलाएर जनताका बीच एक्लै वा मिलेर जसरी गए पनि हुन्छ ।’ चुनावी परिणाम बलियो बनाउन पुराना कांग्रेस–एमाले गठबन्धनबाट निर्वाचनमा जाने विषयमा कुनै छलफल नभएको उनको दाबी छ । 

एमाले नेता गोकुल बास्कोटा नयाँहरू मिले भन्दैमा फेरि कांग्रेस–एमालेको मिलन हुनुपर्छ भन्ने तर्कसँग सहमत छैनन् । ‘नयाँ भनिएका मिले भन्दैमा यति लामो आन्दोलनको जगबाट आएका, यो व्यवस्थाका रक्षक दलहरू चुनाव जित्नकै लागि मिल्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘कांग्रेस–एमाले मिल्ने हल्ला गरिँदै छ केका लागि मिल्ने ? चुनाव जित्नकै लागि मिल्ने कि यो व्यवस्था बचाउन लाग्ने ?’ उनले प्रश्न गरेका छन् ।  

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सहितका दलहरू मिलेर १९ कात्तिकमा नेकपा बनेको छ । २६ कात्तिकमा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान पनि त्यसैमा मिसियो । यसलाई पनि अघिल्लो जनमत जोगाउने रणनीतिका रूपमा लिइएको छ । 

त्यस्तै, तराई मधेशका दलहरू समेत धमाधम एकाकार हुनेक्रममा छन् । गत पुस १३ मा तराई मधेश केन्द्रित दुई दलको एकता भयो । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको मिलनले भएको हो । पुस १४ गते अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी रेणु यादव पनि सोही पार्टीमा फर्किइन् । योसँगै तीन दलको मिलन भएर तराई मधेशको राजनीतिक शक्ति समीकरण तयार भएको छ । उनीहरूबीचको मिलनले मधेशको राजनीतिमा पहिलाजस्तो प्रभाव नपारे पनि आफ्नो अस्तित्व रक्षाका लागि अर्थपूर्ण रहने तराई–मधेशको राजनीतिका जानकार बताउँछन् । ‘यी दलहरूको पुरानो विरासत एकदमै खस्कँदो छ । तर मधेशको राजनीतिमा दलबीचको ध्रुवीकरणले पुराना नेताहरूले शाख बचाउने उपाय खोजेका हुन् । यसले नेताहरूका लागि फाइदा नै हुन्छ,’ पत्रकार राजेश कर्णले भने । तर नयाँ दलहरूका लागि मधेशमा धेरै सहज नदेखिएको उनको टिप्पणी छ । 

तराइका दल मात्रै होइन, बाबुराम भट्टराईको नेसपा र पूर्वमाओवादी नेता जनार्दन शर्मा समूहबीच पनि एकता भएको छ । सोही एकतामा रास्वपाका नेता सन्तोष परियारसमेत मिसिएर प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ । 

नेकपा नेता जगन्नाथ खतिवडा प्रगतिशील–कम्युनिस्टबीचको ध्रुव्रीकरणलाई सहज रूपमा लिनुपर्ने उल्लेख गर्र्दै आगामी निर्वाचनमा सबै वाम–कम्युनिस्ट तथा प्रगतिशील शक्तिबीच तालमेल हुने दाबी गर्छन् । 

निर्वाचन नजिकिँदै जाँदा राजसंस्था पुनस्र्थापनाको एजेन्डा बोकेको राप्रपा र राप्रपा नेपाल पनि एक भएका छन् । महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङदेनसँग हारेपछि त्यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिँदै कमल थापाले २०७८ माघ २५ गते गीताको कसम खाएर राप्रपा छाडेको घोषणा गरेका थिए । उनले राजसंस्थाको एजेन्डा परित्याग गर्दै एमालेको चुनाव चिन्ह लिएर चुनाव लडे । तर जित्न सकेनन् । अन्ततः चुनावको मुखैमा विगतलाई बिर्संदै उनी पुस ९ गते राप्रपामा समाहित भए । 

पुराना दललाई नयाँ परिस्थितिको चुनौती हुनु र नयाँ दललाई पुराना दलले  टोलटोलसम्मको बनाएको सांगठनिक संरचनासँगलाई भत्काउने प्रतिस्पर्धाका लागि दलबीचको ध्रुवीकण बढेको विश्लेषक बताउँछन् । खासगरी पुराना दलप्रति नागरिकको विश्वास घट्दै जानु र उनीहरूप्रति आमवितृष्णा समाजसम्म फैलनु ठुला दलका लागि चुनौती बनेको विश्लेषक सिके लालले बताए । ‘अहिले जेजनीको आन्दोलन यो व्यवस्था नै ठिक भएन भनेर गरिएको हो भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘यो आन्दोलन त भ्रष्टाचार अन्त्य, सुशासन कायम र नागरिकले पाउने सेवाप्रवाहमा सरलता, स्वास्थ्य, शिक्षा सुधार र रोजगारीका सन्दर्भ जोडिएका छन् । ती मुद्दामा पुराना दलहरूले नागरिकलाई अझै बुझाउन सकेका छैनन् । यो नै उनीहरूका लागि चुनौती हो ।’ 

ठुला दलहरू मिल्दैमा चुनाव जितिहाल्छन् भन्ने अवस्था अब नरहेको उनको टिप्पणी छ । लाल भन्छन्, ‘चुनावमा नयाँहरू मिले भनेर पुराना दलहरू मिल्ने हल्ला चलेको छ । तर नागरिकले पाउने सेवाप्रवाह, सुशासन, रोजगारीसहितका मुद्दा कार्यान्वयन गर्ने गराउने विश्वास दिलाउन सकेनन् भने ठुला दल मिल्दैमा परिणाम नआउन सक्छ ।’

ताजा खबर

सम्बन्धित खबर