
दम्माम, साउदी अरब : नेपाली लोकसंगीत क्षेत्रमा आफ्नै पहिचान बनाएकी लोक गायिका तुलसी क्षेत्री दम्माम आउने भएकी छन् । नेपाली साझा मञ्च, राष्ट्रिय समन्वय समिति साउदी अरबको आयोजनामा हुने १०औं वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा उनी विशेष सांगीतिक प्रस्तुति लिएर दर्शकमाझ उत्रनेछिन् ।
लोक भाकाको संरक्षण र प्रवर्धनमा सक्रिय क्षेत्रीले “माइतीघर, रेलीमाई, लाहुरे दाइ, पिरतीको डोरी” जस्ता लोकप्रिय लोकगीतमार्फत नेपाली स्रोता–दर्शकमाझ गहिरो छाप छोडेकी छन् । उनका गीतमा ग्रामीण जीवन, माया–प्रेम, पीडा र नेपाली समाजको यथार्थ जीवन्त रूपमा झल्किन्छ ।
नववर्ष २०२६ को शुभकामना आदान–प्रदानसहित आयोजना हुने यस सांस्कृतिक कार्यक्रममा गायक रोम लामा तथा प्रतिभाशाली स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ । कार्यक्रम शुक्रबार, ९ जनवरी २०२६ का दिन बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म दम्मामस्थित रोज गार्डेन होटलमा आयोजना हुनेछ ।
आयोजकले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमलाई भव्य, सफल र स्मरणीय बनाउन आग्रह गरेको छ ।