
काठमाडौं : प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले उम्मेदवार छनोटको कामलाई तीव्रता दिएका छन् । निर्वाचनमा भाग लिने दलहरूले समानुपातिक उम्मेदवार मनोनयनसँगै २१ फागुनमै निर्वाचनको माहोल तातेको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गर्ने समय तोकिएकाले दलहरूले त्यसअगावै आन्तरिक प्रक्रिया पूरा गरेर आधिकारिक मनोनयन दर्ता गराउनुपर्ने दबाबमा छन् । सोहीअनुसार प्रमुख ठुला दुई दल नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उठाउने उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । एमालेमा १३ पुसको केन्द्रीय सचिवालय बैठकको सर्कुलरअनुसार गत बिहीबारदेखि निर्वाचन क्षेत्रस्तरबाट सिफारिसको काम धमाधम गरिरहेको छ । विघटित प्रतिनिधि सभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक आवेदन र प्राइमरी निर्वाचनमार्फत उम्मेदवार छनोट गरिरहेको छ । निर्वाचन प्रचार अवधिलाई ध्यान दिँदै प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रिया टुंगो लगाउनुपर्ने चापमा रहेका दलहरूका लागि १३ दिन मात्रै समय बाँकी छ ।
सरकार र निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरमा तोकिएकै समयमा सम्पन्न हुने भनेर दलहरूसँग पटकपटक छलफल गरिसकेको छ । यस अवस्थामा निर्वाचन हुनेमा दलसमेत ढुक्क हुँदै गएका छन् । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार र निर्वाचन आयोगले निर्वाचन हुनेगरी काम गरिरहेकाले फागुन २१ को निर्वाचन हुने विश्वास व्यक्त गरे । पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले मध्यान्हसँग भने, ‘राजनीतिक दलहरू निर्वाचनप्रति सशंकित थिए । तर आयोग र सरकारले निर्वाचन हुने विश्वास दिलाएपछि दलहरू निर्वाचनकै तयारीमा लाग्नुपर्नेहुन्छ । त्यसका लागि कांग्रेसले उम्मेदवार छनोटको काममा जुुटेको छ ।’
कांग्रेसले अघिल्लो निर्वाचनमा निर्वाचित नेताहरूलाई नै प्राथमिकता दिने विषयमा छलफल केन्द्रित भएको स्रोतको दाबी छ । यद्यपि कांग्रेसले उम्मेदवार सिफारिस गर्दा व्यक्तिको लोकप्रियता, योगदान, क्षमता र जित्ने सम्भावनासँगै सामाजिक छविलाई पनि विशेष मापदण्ड बनाएको छ । एउटा निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जना उम्मेदवार सिफारिस गर्ने मापदण्ड बनाएको छ । तर कतिपय निर्वाचन क्षेत्रबाट २५–३० जनासम्मको नाम केन्द्रमा सिफारिस भएर आएको केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यो संख्या केलाएर एक जनालाई टिकट दिनुपर्ने कांग्रेसका लागि तल्लो तहकै समितिले बोझ बढाएको नेताहरूले बताएका छन् । तीन जना मात्रै पठाउन गरिएको परिपत्रलाई बेवास्ता गर्दै ३० जनासम्मको नाम सिफारिस हुँदा केन्द्रीय समितिमाथि नेता मिलाउने भार थपिएको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलबहादुर केसीले बताए । उम्मेदवार छनोटको सबै काम कार्यसम्पादन समितिलाई हुनेछ ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिदृश्यअनुसार पुराना दलमाथि निर्वाचन जित्न सक्ने व्यक्ति छनोटमा ध्यान दिनुपर्ने दबाब रहेको नेपाली कांग्रेसकी नेता डा. डिला संग्रौलाले बताइन् । ‘अहिले नयाँ र पुराना भन्ने भाष्य निर्माण गरिएको छ । तर कुन पार्टीले के गरेका छन् ? राजनीतिक संघर्ष र देश–जनताप्रति योगदान कसको के छ ? भनेर नहेरी पपुलिस्टलाई जनताले छनोट गर्ने अवस्था बनेको छ । त्यसकारण ठुला दलहरूले पनि समाजमा भिजेका र ‘लोकप्रिय व्यक्तित्व र जित्ने सम्भावना’लाई प्रथमिक्ता दिनुपर्छ ।’ पुराना दलका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको नाम एकल सिफारिस भएको छ । देउवाको डडेल्धुरा, ओलीको झापा ५, प्रचण्डको कालीकोट र नेपालको रौतहट २ बाट एकल सिफारिस छ ।
नेकपा एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएका तल्लो कमिटीहरूमा सर्कुलर गरेअनुसार नै उम्मेदवार सिफारिस आइरहेको बताएको छ । पार्टी सचिव महेश बस्नेतले केन्द्रीय कमिटीले बनाएर पठाएको मापदण्डअनुसार उम्मेदवारहरूको नामावली आइरहेको बताए । ‘सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो लगाइनेछ,’ उनले भने, ‘यसपटक एमालेले जेनजीको भावनासमेत बुझेर भूगोलमा खटेर काम गरेका केही पुराना र केही नयाँ लोकप्रिय नेतालाई नै उम्मेदवार बनाउँछ ।’ एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले एक महिलासहित तीन जनाको नाम प्राथमिकता क्रममा सिफारिस आएको उनको भनाइ छ ।
जेनजी आन्दोलनका कारण युवापुस्ताको प्रतिनिधित्वबारे बहसकाबीच दलहरूले समानुपातिक बन्दसूचीमा पठाएका नामहरूको लोकप्रियतावादमा बढी केन्द्रित भएको देखिन्छ । नयाँ भनिएको रास्वपाले प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा उमेर समूहभन्दा पनि ‘लोकप्रिय’ व्यक्तिलाई प्राथमिकतामा राखेको छ । रास्वपाका प्रवक्ता मनीष झाले भने, ‘सामाजिक कार्य गरेका र भोलिका दिनमा पनि निरन्तरता दिन सक्ने, परिवर्तनका पक्षधर, विभिन्न क्षेत्रका विज्ञ, जनतामाझ लोकप्रिय व्यक्तिलाई नै उम्मेदवार बनाएर पठाउँछांै ।’ रास्वपा आगामी सरकारको प्रधानमन्त्री बालेन शाहलाई घोषणा गरेर निर्वाचनमा जाँदै छ । सभापति रवि लामिछानेले सोमबार पार्टीले आयोजना गरेको राजनीतिक समायोजन कार्यक्रममा डा. स्वर्णिम वाग्लेलाई आगामी सरकारको बजेट लेखन सुरु गर्न आग्रह गरे । उनको भनाइले अर्थमन्त्री वाग्लेलाई बनाउने तयारी गरेको बुुझिन्छ । तर निर्वाचनमा पार्टीले सरकार बनाउन सक्ने सिट ल्याउने विश्वस्त आधार भने छैन ।
त्यस्तै, राप्रपाले अधिकांश निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारको नाम समानुपातिकसँगै केन्द्रमा मगाइसकेको महामन्त्री राजेन्द्र गुुरुङले बताए । समानुपातिक बन्दसूचीको गल्ती सच्याउने समय निर्वाचन आयोगले पुस २७ सम्मका लागि तोकेको छ । तोकिएको समयसीमाभित्र बन्द सूचीको काम फत्तेगरेर दलहरू प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार छनोटको काममा लाग्नेछन् ।
निर्वाचनका मुख्य सरोकारवाला राजनीतिक दलहरूलाई आयोग र सरकारले बोलाएर निर्वाचन तयारीका बारेमा छलफल गरिसकेको छ । आयोगले समयमै निर्वाचन गर्न सकिने प्रतिवेदन बुझाएपछि दलहरू उम्मेदवार छनोटलगायत तयारीका काममा जुटेका हुन् । नेपाली कांग्रेसले निर्वाचनकै नाममा पार्टीको महाधिवेशनसमेत सारेको छ । नेताहरूको एकल सिफारिस र प्राथमिकता हेर्दा कांग्रेस, एमाले र नेकपाले गत निर्वाचनमा चुनाव जितेका सांसद्लाई पुनः टिकट दिने खोजेको देखिन्छ । वैकल्पिक दल र समूहलाई ध्रुवीकरण गर्दै अघि बढेको रास्वपाले भने चर्चित अनुहार, अरू दलबाट विद्रोह गरेर आउने नेतालाई प्राथमिकतामा राखेको छ ।
एमालेमा हेभिवेट एकल सिफारिस
आगामी फगुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमाका लागि नेकपा एमालेल देशभर उम्मेदवार सिफारिसको कामलाई तीव्रता दिएको छ । कतिपय जिल्लामा उम्मेदवार सिफारिसका लागि मतदान नै भइरहँदा शीर्ष नेतालाई एकल सिफारिस गरेर पठाएको छ । जिल्ला तथा निर्वाचन क्षेत्रबाट एमालेका अध्यक्ष, उपाध्यक्षसहित २६ जना बढी नेताको नाम एकल सिफारिस भएर आएको नेकपा एमालेले जनाएको छ ।
‘एमाले केन्द्रीय कमिटीको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्’ एमाले सचिव महेश बस्नेतले भने, अहिलेसम्म आएका सिफारिसमा २६ निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस आएको छ । त्यसमा हेभीवेट नेताहरू हुनुहुन्छ ।’ पार्टी अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएका छन् भने उपाध्यक्ष विष्णु पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएर आएका छन् । पौडेलको नाम पाल्पा २ बाट समेत सिफारिस भएको छ । त्यस्तै, महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २, सचिव लेखराज भट्ट कैलाली क्षेत्र नम्बर ४ र सचिव महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन् । त्यस्तै, प्रदीप ज्ञवाली–गुल्मी क्षेत्र नम्बर १, ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५, गोकुल बास्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन् । उम्मेदवार छनोट प्रक्रिया जारी रहेको एमालेले जनाएको छ । सिरहा क्षेत्र नम्बर ३ बाट लीलानाथ श्रेष्ठ, रौतहट क्षेत्र नम्बर १ बाट अजय गुप्ता, सर्लाही क्षेत्र नम्बर ३ बाट हरि उप्रेती, नवलपुर क्षेत्र नम्बर २ तिलक महत, गोरखा क्षेत्र नम्बर २ मिलन गुरुङ, इलाम क्षेत्र नम्बर २ बाटसुहाङ नेम्वाङलगायत २६ जनाको एकल सिफारिस आएको एमाले सचिवालयले जनाएको छ ।
कांग्रेसमा शीर्षलाई प्राथमिकता
नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रिय सभामा उम्मेदवार सिफारिस पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिम सिफारिस गर्न निर्देशन दिइएको थियो । मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको सोही निर्णयअनुसार उम्मेदवार सिफारिस आइसकेको कांग्रेसले जनाएको छ । सभापति शेरबहादुर देउवाको नाम डडेल्धुराबाट सिफारिस भएका छन् । देउवा २०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट सधंै निर्वाचित नेता हुन् । त्यस्तै, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको छ । उपसभापति धनराज गुरुङको नाम स्याङ्जा क्षेत्र नम्बर १ र २ बाट सिफारिस भएको छ ।
महामन्त्री गगन थापाको नाम चार जिल्लाबाट सिफारिस भएको छ । थापाको नाम काठमाडौं क्षेत्र नम्बर ४ बाट एकल सिफारिस भएको छ । त्यसबाहेक सर्लाही–४, रोल्पा र धनकुटाबाट पनि सिफारिस भएको हो । महामन्त्री विश्वप्रकाश शर्माको नाम झापा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ । तर उनले निर्वाचन नलड्ने बताएका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को मकवानपुर क्षेत्र नम्बर १ बाट महेन्द्र यादव धनुषा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । त्यस्तै, सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नाम पाँचथर, जीवन परियार कास्की क्षेत्र नम्बर १, किशोरसिंह राठोर बाँके क्षेत्र नम्बर ३, बद्री पाण्डेको बाजुराबाट सिफारिस भएका छन् । संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाको नाम मोरङ क्षेत्र नम्बर ६ बाट एकल सिफारिस भएको छ भने पूर्वमहामन्त्री प्रकाशमान सिंहको काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन् । यी सबै नेता विघटित प्रतिनिधि सभाका सदस्य हुन् ।