२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बिना खुट्टा सात महादेशका सर्वोच्च हिमालमा पाइला 

हरि बुढामगरको ‘सेभेन समिट’ विश्व कीर्तिमान

shivam cement
२०८२ माघ ४ गते १७:२४
Shares
बिना खुट्टा सात महादेशका सर्वोच्च हिमालमा पाइला 

काठमाडौं : दुवै खुट्टा गुमाएका नेपाली पर्वतारोही हरि बुढामगरले विश्वका सातै महादेशका सर्वोच्च हिमाल आरोहण गर्दै ऐतिहासिक ‘सेभेन समिट’ विश्व कीर्तिमान कायम गरेका छन् । उनले ६ जनवरी २०२६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन आरोहणसँगै आफ्नो कीर्तिमानी यात्रा सम्पन्न गरेका हुन् ।

सातौं चुचुरो माउन्ट भिन्सन (४,८९२ मिटर) सफलतापूर्वक आरोहण गरेपछि बुढामगर खुसी साट्न सिधै नेपाल फर्किएका छन् । उक्त अभियानमा उनका गाइड मिङ्मा शेर्पा र अफिसियल फोटो पत्रकार अबिरल राई सहभागी थिए ।

रोल्पाको थवाङ गाउँपालिका–३, मिरुलमा जन्मिएका बुढामगर पूर्व गोर्खा सैनिकसमेत हुन् । सन् २०१० मा अफगानिस्तानमा खटिएका बेला विष्फोटमा परी घुँडामाथिबाट दुवै खुट्टा गुमाएका उनले त्यसपछि जीवनलाई नयाँ मोड दिएका थिए । अनुकूलित (एडाप्टिभ) पर्वतारोहीका रूपमा उनले अपाङ्गता कुनै कमजोरी होइन भन्ने सन्देश विश्वभर फैलाउँदै आएका छन् ।

बुढामगरले ‘सपनाहरूको विजय–७ शिखर’ अभियानअन्तर्गत सातै महादेशका अग्ला हिमाल आरोहण गरेका हुन् । यससँगै उनी विश्वका सात उच्च शिखर आरोहण गर्ने पहिलो ‘डबल एम्प्युटी (घुँडामाथिबाट दुवै खुट्टा गुमाएका)’ व्यक्तिको रूपमा विश्व रेकर्डमा दर्ज भएका छन् ।

यसअघि उनले २०१९ अगस्ट १३ मा माउन्ट एल्ब्रुस, २०२० मा माउन्ट किलिमाञ्जारो, २०२३ मे १९ मा सगरमाथा, २०२४ जुन २८ मा डेनाली, २०२५ फेब्रुअरी २२ मा आकोंकागुवा र २०२५ अक्टोबर १८ मा कार्स्टेन्स पिरामिड (पुन्चक जया) आरोहण गरिसकेका थिए ।

करिब छ वर्षसम्म चलेको यो अभियानमा कठोर प्रशिक्षण, विशेष प्रोस्थेटिक (कृत्रिम) खुट्टाको विकास, करिब १० लाख अमेरिकी डलर बराबरको आर्थिक संकलन र अत्याधुनिक उपकरणको प्रयोग गरिएको थियो । अत्यधिक चिसो, तीव्र हावाहुरी, भिराला पहाड र हिउँका पर्खालसँग जुध्दै टोलीले सातै महादेशका सर्वोच्च शिखरमा पाइला टेक्न सफल भएको बुढामगरले बताए ।

“यदि हामीसँग सपना छ, समर्पण छ र हार नमान्ने अठोट छ भने जीवनका जस्ता सुकै चुनौती भए पनि जित्न सकिन्छ,” बुढामगरले भने, “म पैसा, व्यापार वा नाम कमाउन हिमाल चढ्दिनँ । म केवल अपाङ्गता सम्बन्धी सचेतना फैलाउन हिमाल चढ्छु ।”

उनले अपाङ्गता भएका व्यक्तिहरूले आफूमाथि विश्वास गर्नुपर्ने र समुदाय, संस्था तथा सरकारले अपाङ्गताप्रति सही दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए । विगतमा नेपालमै अपाङ्गता भएका व्यक्तिलाई हिमाल आरोहणमा प्रतिबन्ध लगाइएको स्मरण गर्दै उनले अपाङ्गता कमजोरी होइन, फरक क्षमता मात्र भएको बताए ।

सगरमाथा आरोहणपछि पनि अपाङ्गताप्रतिको सोच एकाएक परिवर्तन नहुने महसुस भएपछि विश्वका अग्ला हिमालहरू चढेर सचेतना फैलाउने निर्णय गरेको उनको भनाइ छ । उनले आफ्नो बाँकी जीवन ‘अपाङ्गता सचेतना’का लागि समर्पित गर्ने घोषणा समेत गरेका छन् ।

बुढामगरको यो उपलब्धिलाई नेपाली पर्वतारोहण इतिहासको महत्वपूर्ण अध्यायका रूपमा हेरिएको छ । यसले विश्वभर अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना ‘निजी पहाडहरू’ चढ्न प्रेरणा दिने विश्वास लिइएको छ ।

सम्बन्धित खबर