
कोभिड महामारी पछि लयमा आउन थालेको पर्यटन क्षेत्रमा अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वले फेरि त्रास सृजना गराएको छ । पर्यटन क्षेत्रमा खर्बाैंको लगानी गरिरहेका व्यवसायी जसरी कोभिडको मारमा परेको थिए त्यस्तै पश्चिम एसियामा सुरु भएको द्वन्द्वले उस्तै बनाउने त होइन भन्ने चिन्तामा व्यवसायी देखिएका छन् ।
तर, द्वन्द्व अन्त्य हुने र नेपालमा बन्न लागेको पाँच वर्षे स्थिर सरकारले पर्यटनमैत्री नीति निर्माण र भौतिक पूर्वाधारमा काम गरे पर्यटन उद्योगको लागि स्वर्णयुग बन्ने अपेक्षा पनि पर्यटन व्यवसायीमा देखिन्छ । प्रस्तुत छ, पश्चिम एसियाको तनावले तत्काल पर्यटन क्षेत्रमा पर्ने असर र नयाँ सरकारले पर्यटन क्षेत्रका लागि के गर्नुपर्छ भन्ने विषयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका पूर्व उपाध्यक्ष एवं पर्यटन व्यवसायी प्रदीप पण्डितसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालको पर्यटन क्षेत्रलाई कस्तो असर गर्छ ?
नेपालको पर्यटन क्षेत्र कोभिड अघि कै लयमा आइरहेको अवस्था छ । तर, अमेरिका–इजलायल र इरान बीचको युद्धले फेरि अर्काे त्रासको सृजना गरेको छ । युद्ध केही महिना मात्र जारी रहने हो भने यो वर्ष पर्यटन क्षेत्रले ठूलो अवसर गुमाउने देखिन्छ ।
पर्यटन व्यवसायीको लागि अबको ६ महिनालाई सिजनको रूपमा हेर्ने गरिन्छ । पर्यटन व्यवसायीले आम्दानी गर्ने बेला मार्च, अप्रिल मे र जुन महिना नै हो । यो बेला नै पर्यटक धेरै आउने गर्छन् । तर, अहिले पश्चिम एसियामा समस्या आएको छ त्यसको असर यो क्षेत्रमा देखिन थालेको छ ।
अहिले भारतीयदेखि चिनियाँ पर्यटक नै कम आउने देखिन्छ । जनवरी, फेब्रुअरीमा पर्यटक आगमन बढ्न थालेको थियो । तर, मार्चमा पर्यटक आगमन निकै कम हुने देखिएको छ । नेपालमा पर्यटक धेरै ल्याउने सबैभन्दा ठूलो कतार एयर कम्पनी नै हो तर, यो एयरले अहिले द्वन्द्वको कारण फ्लाइट गर्न सकिरको छैन । अन्य फ्लाइट समेत रोकिएका छन् यसको सिधै असर नेपालको पर्यटन क्षेत्रमा देखा परेको छ ।
पश्चिम एसियाको द्वन्द्वले तत्काल पर्यटन क्षेत्रमा आउने समस्या के हुन् ?
भिजिट नेपाल–२०२० घोषणासँगै पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिएको थियो । एनआरएनदेखि पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा खर्बाैं लगानी गरेका छन् । पछिल्लो दुई तीन वर्षको समयलाई हेर्ने हो भने तारे होटलदेखि चेन होटलका संख्या थपिएका छन् । सो आधारमा जुन हिसाबले पर्यटन आउनु पर्ने हो त्यो नहुँदा प्रत्यक्ष रूपमा लगानीकर्तालाई नै असर गर्ने छ ।
पर्यटन क्षेत्र अब तीव्र गतिमा अगाडि बढ्ने बेलामा पछिल्लो द्वन्द्वले फ्लाइटसँगै घुम्ने मान्छेको समेत कमि आउने देखिन्छ । द्वन्द्व हुँदा घुम्ने भन्दा पनि बचत गर्ने तर्फ लाग्ने धेरै हुन्छन् । नेपाल घुम्न आउने पर्यटक मध्यम आय भएका धेरै हुन्छन् । त्यो वर्ग पनि डेली लाइफ चलाएर बचाएको पैसाले घुम्ने गर्छन् ।
त्यसलै अहिले यस्ता पर्यटक आउने कुरामा ब्रेक लागेको छ । बुकिङ क्यान्सिलेसन समेत सुरु भइसकेको छ । सिजनमा आउने पर्यटकको समेत अहिले इन्क्वाइरी निकै कम भइसकेको छ, भएका बुकिङ समेत पोष्टपोन तथा क्यान्सिल नै गर्ने अवस्था सुरु भइसकेको छ । त्यसले गर्दा पर्यटन क्षेत्रसँगै समग्र अर्थतन्त्रलाई नै प्रवाह पार्ने देखिन्छ ।
विदेशी मुद्रा भित्र्याउने माध्यम रेमिट्यान्सपछि पर्यटन नै हो । रेमिट्यान्स पनि नआउने र पर्यटनको आगमन नै ठप्प हुँदा विदेशी मुद्रा समेत नहुने हो भने फेरि आर्थिक मन्दी आउन सक्ने हुन्छ । विदेशी मुद्राको असन्तुलन हुने अवस्था विदेश गएका र पर्यटन व्यवसायमा आश्रित व्यवसायी, परिवार र विशेषगरी मजदुर वर्गमा समस्यामा पार्ने देखिन्छ ।
लामो समयपछि स्थिर सरकार बन्दै छ । नयाँ बन्ने सरकारप्रति पर्यटन क्षेत्रले कस्तो अपेक्षा गरिरहेको छ ?
नेपालको समग्र विकास हुन नसकेको कारण राजनीतिक अस्थिरता नै हो भन्ने गरेका थियौँ । पटक–पटक सरकार परिवर्तन भइरहने, नीति परिवर्तन भइरहने गर्दा कामको गति नै सुस्त थियो । तर, अब पाँच वर्षको लागि स्थिर सरकार बन्दै गरेको अवस्थामा व्यवसायीहरू पश्चिम एसियाको द्वन्द्व छिटो समाधान भए पर्यटन क्षेत्रमा स्वर्ण युग आउने अपेक्षा गरेका छन् ।
राजनीतिक स्थिरता हुँदा विदेशीले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक पर्ने छ । ट्रेकिङ, टुर, पर्वतारोहण गर्न आउने पर्यटकले समेत नेपाल परिवर्तन भएको आभास गर्नेछन् । अहिले संसदमा निर्वाचित भएका नयाँ युवा नेतृत्व आउँदै गर्दा पनि पर्यटन व्यवसायी धेरै सकारात्मक छन् । सरकारले तत्काल केही पर्यटनमैत्री नीति बनाएर सुरुवात गर्दा आम व्यवसायीहरूमा उत्साह आउने देखिन्छ ।
भौतिक पूर्वाधार निमाणमा नयाँ सरकारको अबको भूमिका कस्तो हुनुपर्छ ?
हो, नेपालमा भौतिक पूर्वाधार निर्माण निकै नै सुस्त छ । पर्यटकको गन्तव्यसम्म पुग्ने सडक वर्षाैं हुदाँ समेत बदैनन् । पर्यटकमा त्रास र दुःखकष्ट हुँदा स्थान राम्रा हुँदाहुँदै पनि पर्यटक जान चाहिरहेका हुँदैनन् । जस्तै, काठमाडौं–पोखरा, काठमाडौं–चितवनदेखि अन्य पहाडी सडक बन्न लागेको वर्षौं हुँदा समेत काम सुस्त छ । २ सय किलोमिटर ट्राभल गर्न पनि आठ÷नौ घण्टा र एकदमै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यसले पर्यटक प्रवर्धनलाई असर गरिरहेकै हुन्छ ।
अब नयाँ सरकारले पर्यटकीय क्षेत्रमा राज्यको संयन्त्र नै लगाएर भएपनि फास्ट ट्रयाकमा काम गर्नैपर्छ । काठमाडौं–पोखरा, काठमाडौं–चितवन टुर कार्यक्रममा आउने पर्यटकहरू रोडकै कारणले क्यान्सिल हुने समेत अवस्था छ । यात्रा गरेर फर्किएका पर्यटकले दिने सन्देशले समेत धेरै पर्यटक डराएको अवस्था छ । त्यसैले गर्दा पूर्वाधारको क्षेत्रमा धेरै काम गर्न आवश्यक छ ।
हामी वर्षमा ११ लाख संख्यामा पर्यटक आए भनेर मात्र रमाएका छौँ तर, हाम्रा होटलहरूको क्यापासिटी २०–३० लाख लाई सेवा दिन सक्ने छन् । सरकारले जुन पूर्वाधारमा काम गर्नु पर्ने हो त्यसलाई चाहिँ अब फास्ट ट्रयाकमा काम गर्न आवश्यक छ ।
पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल फूल फेजमा सञ्चालन गर्न आवश्यक छ । त्यो सञ्चालन हुन नसक्दा पर्यटक जुन मात्रामा पर्यटक भित्र्याएर राज्य र व्यवसायीले लाभ लिन नसकेको अवस्था छ । बन्दै गरेको नयाँ सरकारले चाहिँ पूर्वाधारहरूमा लगानी गर्ने र भइराखेको पूर्वाधारहरूलाई चाहिँ मर्मत गर्ने हो भने मात्र पर्यटक क्षेत्रको विकास गर्न सहज छ ।
दुई छिमेकी मुलुक चीन र भारतमा अर्बाैं जनसंख्या छ । त्यहाँबाट हामीले पर्यटक किन ल्याउन सकेका छैनौं ?
अहिले पनि धेरै पर्यटक आउने भनेको भारत र चीनबाट नै हो । भारत र चीनबाट जुन मात्रामा आउनु पर्ने हो त्यो मात्रामा पर्यटक आउन नसकेको चाहिँ सत्य हो । किनभने हाम्रो सडक र हवाई पूर्वाधार नै कमजोर छ ।
चाइनिज पर्यटकहरू कोभिड भन्दा अगाडि जति आएका थिए त्यो संख्या घटेको छ । हामीले मुस्ताङको केरला नाका खोले त्यहाँबाट चाइनिज पर्यटक भित्र्याउन सकिन्छ । हामीले जुन हिसाबले भारतीय पर्यटक भित्र्याउन सक्छौँ त्यो पनि भित्र्याउन सकिएको छैन । किनभने अहिले भारतबाट हुने फ्लाइट दिल्ली–काठमाडौंमै सीमित छ ।
मुम्बई हैदराबाद, चेन्नइ, बनासरबाट समेत डाइरेक्ट फ्लाइट गराउन सक्ने हो भने भारतीय पर्यटकको ठुलो संख्या भित्र्याउन सकिन्थ्यो तर, त्यसतर्फ अहिलसम्म ध्यान गएको छैन । जुन मात्रामा इन्डियन र चाइनिज करोडौं व्यक्ति अन्य देशमा ट्राभल गरिरहेका छन् त्यसको केही प्रतिशतमात्र नेपाल ल्याउन सक्ने हो भने हामी धेरै टाढा जानु पर्दैन ।