– हेमराज अधिकारी, सिक्किम ।
“बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँध माथि” भन्दै बुढाले तुरुक्कै आँसु खसाले । गैह्री खेतको सिरानको गह्राबाट उनले गोरु नारेर दुई गह्रा खेत जोति सकेका थिए । मिर्मिरे उज्यालोमा गोरु नारेर मने गह्रो जोतिसक्दा समेत श्रीमतीले चिया ल्याइन् भन्दै के–के बर्बराउदै गोरुलाई स्वाँठ् कुट्दै रिस देखाउनु थाले । मने दुई दिनलाई गोरु माग्नु पर्यो भन्दै भक्मिले कान्छाको छेउ के पुगेको थियो गोरु तर्सेर कुद्न थाले । भक्मिले बुढाले गोरु थाम्न हलो थिचेका मात्रै के थिए, ढुङ्गामा हलो अड्क्येर गोरुले हरिष् भाँचे । जुवामा भएका हल गोरु ठाडो पुच्छर लगाउँदै गैह्री खेतको चारैतिर कुद्न थाले । मनेको छाँया देखेर भक्मिलेले नानाथरी मुख छाड्नु थाले ।
“असती मने तैंले गर्दा मेरो हल गोरु तर्सेर हलो भाँच्यो, बल्लतल्ल काजीमानको घरबाट एउटा किम्बुको लाथ्रो ल्याएर हरिष् जोडेको त्यो पनि देखी सकिनस् । जा गएर गोरु थाम् । नथामे आज तँलाई यही गैह्री खेतमा गाड्छु”, भन्दै भक्मिले उफ्रे । तुरुरु बगेको पसिना शिरको टोपीले पुछ्दै् भक्मिले गोरु थाम्नु कुदिरहेका थिए । मने पनि धर्म संकटमा पर्दै सिधै ओरालो हानियो । दुवै फत्फताउँदै गोरु थाम्नु कुद्दै गर्दा भक्मिलेकी श्रीमती एक घान मकै, कालो कित्लिमा चिया र डोको भिरेर गैह्री खेतको खलेगह्रामा देखा परि । भक्मिले रुद्र रूपमा थिए । श्रीमतिको डोको सोको हुत्याउँदै् “तँ यतिबेलासम्म कहाँ गएकी थिइस” भनेर सुरुवाल बिगार्ने गरि हप्काए । तलबाट मने उफ्रिनु थाल्यो । “ओए भक्मिले, तेरो घरको झगडा भरे गर गोरु समाउनु आईज्, आफ्नो ढंग छैन अर्कालाई थर्काउने ?” भन्दै उफ्रिनु थाल्यो ।
कैजल्को फेदमा कसोकसो गोरु थामिए । चारतिरबाट जसोतसो तीन जनाले गोरु थाम्दै जुवा फुकाली दिए । मने गोरु फुकाल्ने बितिकै डाँढो काट्यो । श्रीमती भाँच्येको हरिष् तर्फ लागी । भक्मिले कित्लिमा भएको चिया पिउँदै सुर्तिको लुँढो चिमोट्न थाल्यो । बेलुका गोरु फकाउँदै थलोमा ल्याएर बाँध्यो । अनि लखतरान् भक्मिले ओछ्यानमा पल्टियो ।
उज्यालो हुँदा मण्डलको घरमा भक्मिले पुग्यो । हिजोको सम्पूर्ण वृतान्त बतायो । मनेले गर्दा हल गोरु बिच्केर तर्सेर हलो, जुवा, हरिष् भाँच्यो भनेर मण्डललाई उजुरी गर्यो । दिउँसो मण्डलका घरमा सबै गाउँले भेला भए । मनेलाई समेत बोलाइएको थियो । सभा सुरु गर्दै मण्डलले भने, “हेर मने, तेरो यो गाउँमा असाध्य आरोप प्रत्यारोप छ । तँ दुहुनो गाईको गोठमा जाँदा बेलुकीदेखि गाईले दुहुनो बस्नै नदिने । तैँले कुनै नानीलाई भात खुवाउँदै गरेको हेर्दा चोखा लाग्ने आरोप छ । गाउँमा कसैलाई लाग–लगनको चिन्ता, अक्षता अन्साई–मन्साई गर्दा तँ छस् भने त्यो बिमारी बीसको उन्नाइस नहुने कुरा छ । हिजो फेरि भक्मिलेको असारमा जोत्नु लगेको गोरुलाई तर्साएर बिचरा भक्मिलेले पाउनुसम्मको दुःख पायो । हल गोरु झन्डै मर्यो । हलो जुवा, हरिष् भाँच्यो । अब के गर्छस् ? तँ त यो गाउँमा बदमाश होस् । अब तैँले भक्मिलेको खेत रोपिदिनु पर्यो, कि के भन्छौ हो गाउँले हो ?”
मण्डलको कुरा काट्ने हिम्मत त्यो गाउँमा कसैसँग थिएन । सबैले होमा हो मिलाए । भक्मिलेले मण्डललाई हेर्दै आँखा झिम्क्यायो । मने रुँदै “होइन मलाई यो के आरोप आइलाग्यो” भन्दै सभामा रुवाबासी मच्चाउन थाल्यो । हात जोड्दै भक्मिलेलाई पाँच खेताला सघाउने बन्दोबस्त गर्यो । सभा सकियो । सबै घर फर्के । बेलुकी साँझमा भक्मिले मण्डलको घरमा दसपाथी धान लिएर पुग्यो । धानको भारी देख्ने बितिक्कै मण्डल खुशी भए । मण्डलनिलाई बोरा राख्नु दिँदै मण्डलले भक्मिलेलाई धाप मारे ।
“अझै केही पर्यो भने भन भक्मिले ? तेरो सिमानाको झगडा पनि मिलाइदिन्छु एक मुरि धान ठिक पार्नु ।” भक्मिलेले “हस् हजुर” भन्दै हात जोड्यो ।
पन्ध्र दिन पछि मने, धने, बिरे, कर्णे, एक सुरुमा नारा लाउँदै मण्डलको घरमाथि डाँडामा उत्पात मच्चाउन थाले । सरकारले मण्डल शासन समाप्त गरेर प्रजातन्त्र घोषित गरेछ । गाउँमा यस्ता मण्डलहरुको साह्रै रगरगी थियो । गरिबलाई जुधाएर मण्डलको चुल्हो जल्थ्यो । भक्मिले जस्ता सोझा र आदर्श किसानले मण्डलको परिवार पालेका थिए । हिजोसम्म मण्डलको कुरामा लहैलहै मिलाउने सबै गाउँलेहरु एकजुट भए । उता मनेको छोरा डाक्टरी पढ्न गएको थियो । मने र भक्मिले पनि एकजुट भए । मनेको छोरा डाक्टर पढेर गाउँमा आयो । उ पशुको डाक्टर थियो । सबैको उपकार गर्यो । मने, भक्मिले र गाउँलेहरु मण्डलको कारणले झगडा गर्थे । अब उनीहरु सबै मिले । एक दिन मण्डलको गाई बिरामी भयो । उनले उपचारको निम्ति डाक्टर खोजे । मनेको छोरो छ भनेपछि मण्डलले मनेलाई खबर पठाए । मनेले मेरो घर परिवार कसैको गोठमा जाँदा गाईले दुहुनो दिँदैन भनेर उल्टा खबर पठाए । मण्डललाई पर्नुसम्मको पीर पर्यो । उनी सुर्तामा ओछ्यान लागे। उनले दस वर्षदेखि पालेको गाई बिरामी थियो । साँझमा छोरालाई लिएर मने मण्डलको गोठमा पुग्यो । “सो मण्डल ? अब छोरालाई लिएर गोठमा जाँदा तिम्रो गाईले दुध देला के ?”
मण्डलले केही भन्न सकेनन् । एक घण्टा पछि मण्डलको गाई उठ्यो । मनेले गाईको दाम्लो खुस्काउँदै भक्मिलेलाई भन्यो, “धपा भक्मिले, मण्डलले तेरो गाई अन्याय गरेर उतिबेला लगेको थियो कुलोको पानी मिलाइदिन्छु भन्ने सर्तमा । अब यो गाई तेरो हो राम्रो पाल । अब प्रजातन्त्र हो । यहाँ तँ, म र हामी जस्ता सर्वसाधारणको राज चल्छ ।”
मण्डलले केही बोल्न सकेनन् । मने र भक्मिले भएर गाई डोर्याउन थाले । मण्डलको नजरमा पश्चताप सिवाय अरु केही थिएन । सबै गाउँले मिलेर एका अर्कालाई सहयोग गर्दै खेत रोपनी गरे । मण्डल एक्लै भए । गाउँलेले मण्डललाई गतिलो सबक् दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies