२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विवादित बन्दै क्यानका महानिर्देशक, बचाउमा वायुसेवा सञ्चालक

ADV
मध्यान्ह
२०८१ साउन १५ गते २२:०७
विवादित बन्दै क्यानका महानिर्देशक, बचाउमा वायुसेवा सञ्चालक

काठमाडौं : नेपाली उड्डयन क्षेत्रको नियमनको विषयमा विगतदेखि विभिन्न प्रश्नको सामना गर्दै आएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बुधबार सौर्य एअरलाईन्सको विमान दुर्घटनापछि थप विवादित बन्न पुगेका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको राजीनामाको माग सामना गरेका अधिकारीलाई सोमबार प्रतिनिधिसभामा बोल्दै सांसदहरुले समेत राजीनामा दिनुपर्ने बताएका थिए ।

बिहीबार समितिको बैठकमा बोल्दै सांसदहरुले सौर्य एयरलाइन्सको विमान दुर्घटनासहित हालसम्म भएका विमान दुर्घटना र मानवीय क्षतिबारे कसले जिम्मा लिने भनी प्रश्न गरेका थिए । साथै, सांसदहरुले प्रत्येक विमान दुर्घटनापछि छानबिन समिति बन्ने र समितिको प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति देखिएको भन्दै विमान दुर्घटनाबारे निष्पक्ष छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्नसमेत माग गरेका थिए ।

त्यस्तै सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले महानिर्देशक अधिकारीलाई निलम्बन गरेर सौर्य एअरलाइन्सको दुर्घटनाबारे छानबिन गर्नुपर्ने बताएका थिए । सोही बैठकमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिँहले पनि क्यानको महानिर्देशक अधिकारीको विरोध गर्दै ११ औं तहको कर्मचारीलाई प्राधिकरणको महानिर्देशक बनाइएको बताएका थिए ।

ईयुको हवाई सुरक्षा सूचीबाट नेपाल नहट्नु र जहाज दुर्घटना बढ्दै जाँदा आलोचनाको निशाना बन्दै गएका महानिर्देशक अधिकारीलाई मंगलबार भने हवाई सञ्चालकहरुले बचाउ गरेका छन् । मंगलबार एक विज्ञप्ति प्रकाशन गर्दै दुर्घटना कसैले चाहेर नहुने बताएका हुन् ।

नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवैदनशील रहेको, तर प्राधिकरण नेतृत्वबारे भ्रम फैलाइएको भन्दै विज्ञप्ति जारी गरेका हुन् । साउन ९ गते सी चेक (सम्पूर्ण मर्मत)का पोखरातर्फ उड्नासाथ ढल्–ब्ःभ् कलसाइनको सौर्य एअरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमै  दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने पाइलट मनिषरत्न शाक्यको भने उपचार भइरहेको छ ।

महानिर्देशक अधिकारीको कार्यकालमै देशमा ७ वटा भन्दा बढी हवाई दुर्घटना हुन पुगेको छ । नेपालको नागरिक उड्डयन क्षेत्रका समस्या बढ्दै जाँदा वायुसेवा संघले भने अधिकारीको पक्षमा विज्ञप्ति जारी गरेको हो । संघले हवाई सुरक्षा मामिलामा प्राधिकरणको समेत ‘जिम्मा लिएको’ छ ।

‘हालका दिनहरुमा संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भए गरेका काम कारवाहीहरु तथा घटना/दुर्घटनाको सीमित स्वार्थ परिपूर्तिका लागि नकारात्मक रुपमा टिकाटिप्पणी गरी कुनै एक व्यक्ति वा संस्थाको कार्यप्रति भ्रम फैलाउने कार्य भइरहेकोले संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरु प्रति विश्वास नगरिदिनुहुन’, विज्ञप्तिमा उल्लेख छ । साथै संघले विज्ञप्तिमार्फत् हवाई दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र व्यक्ति विशेष, कम्पनी लगायत नियमनकारी निकाय कसैले चाहेर नहुने तर्क गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise