२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

चुनावले बढायो कांग्रेस-एमालेको मनोबल

गठबन्धन नभएकाले प्रत्यक्षमा धेरै सिट जित्ने आन्तरिक विश्लेषण

shivam cement
अस्मिता बम
२०८२ माघ २२ गते ०६:३०
Shares
चुनावले बढायो कांग्रेस-एमालेको मनोबल

काठमाडौं : जेनजी आन्दोलनबाट सत्ताच्युत भएका दुई पुराना दल नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताकार्यकर्ताको मनोबल चुनावी अभियानपछि बढेको पाइएको छ । उम्मेदवारसहित घरदैलोमा पुग्दासम्म यी दलहरूले पुरानै लयमा फर्किएको दाबी मात्र गरेका छैनन्, प्रत्यक्षतर्फ पहिलो वा दोस्रो दल हुने आन्तरिक विश्लेषण पनि गरेका छन् । 

जेनजी आन्दोलनले खस्काएको मनोबलसहित चुनावमा गएका यी दुई दलको भित्री चाहना सर्वोच्च अदालतबाट संसद् पुनस्र्थापना होस् भन्ने थियो । चुनाव आउन एक महिना मात्र छँदासमेत कांग्रेसको शेरबहादुर देउवा पक्ष र एमाले त्यही आशामै छन् । तर चुनावी मैदानमा पुगेका उम्मेदवार भने चुनावी नतिजाप्रति आशावादी देखिएका हुन् । विगतमा कहिले एमाले–माओवादी केन्द्र त कहिले कांग्रेस–माओवादी केन्द्र गठबन्धनले प्रतिकूल स्थितिमा समेत चुनाव लडेका यी दल यसपटक एक्लाएक्लै प्रतिस्पर्धा हुन लागेकाले सहज रहेको बताइरहेका छन् । 

भदौ २३–२४ मा जेनजी आन्दोलन हुँदा सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा कांग्रेस–एमाले गठबन्धन सरकार थियो । त्यस क्रममा ठुलो मानवीय एवं भौतिक क्षतिपछि विघटित संसद्का यी दुई ठुला दल रक्षात्मक बने । दुवै दलमा नेतृत्व परिवर्तनको बहस चल्यो । एमालेले अर्ली महाधिवेशन गरेर पुनः ओलीलाई नै अनुमोदन गरेको छ भने कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण भयो । गगन थापा पार्टी सभापति मात्र बनेनन्, कांग्रेसले उनैलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा गएको छ । 

सामाजिक सञ्जाल मात्र हेर्दा २१ फागुनको चुनावी नतिजा एकपक्षीय हुने विश्लेषण भइरहेका बेला घरदैलोबाट कांग्रेस–एमाले नेताकार्यकर्ता उत्साहित भएका हुन् । ‘पार्टीका तल्लो तहका नेता कार्यकर्ता भेट्दा उहाँहरू उत्साहित हुनुहुन्छ । सिंगो पार्टी एकजुट भएर चुनावी मैदानमा उत्रिएको छ,’ कांग्रेस महामन्त्री एवं काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले मध्यान्हसँग भने, ‘मिडिया र सामाजिक सञ्जालमा देखिएकोभन्दा धेरै भिन्न माहोल टोलबस्तीमा पाएका छौं । यसले पक्कै पनि पार्टीको मनोबल बढाएकै छ ।’ 

नियमित कि विशेष महाधिवेशनको लामो रस्साकस्सीपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा कांग्रेस विशेष महाधिवेशनमा गएको थियो । सोही महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचितसमेत भएको छ । निर्वाचन आयोगबाट सोही समितिले आधिकारिकता पाएपछि कांग्रेस भावनात्मक रूपमा विभाजितजस्तै छ । निवर्तमान सभापति शेरबहादुर देउवा, कार्यवहाक सभापति पूर्णबहादुर खड्कालगायत देउवा पक्षीय नेताहरू कसैले टिकट पाएनन् त कोही लड्न चाहेनन् । कांग्रेस वैधानिकताको विवाद अदालतमा विचाराधीन रहे पनि दुई पक्षलाई मिलाएर चुनाव जित्ने रणनीतिमा सभापति थापा देखिन्छन् । बुधबार मात्र एक भिडियो सन्देश जारी गर्दै बदलिएको कांग्रेस अब नयाँ ढंगले चल्ने दाबी गरेका छन् । ‘अब कांग्रेसले युनिभर्सिटी, अड्डा अदालत र संवैधानिक नियुक्तिमा भागबन्डा खोज्दैन,’ उनले भनेका छन् । 

आन्तरिक कलहले विभाजित अवस्थामा रहे पनि नेतृत्व पुस्तान्तरण गरेर चुनावमा आएको कांग्रेसमा नयाँ उत्साह देखिन्छ । ‘हामी पुरानो कांग्रेस होइन । भएका कमीकमजोरी सच्याएर संगठित र एकीकृत ढंगले जनतामा पुगेका छौं,’ महामन्त्री पौडेलले भने, ‘त्यसैले हामी पहिलो शक्ति हुने ढंगले नै अघि बढेका छौं ।’ 

कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्री अघि सार्नुअघि नै रास्वपाले बालेन शाहलाई अबको प्रधानमन्त्री प्रस्ताव गरिसकेको थियो । जेनजी आन्दोलनपछि नेतृत्व छाड्न पार्टीभित्र र बाहिरबाट चर्को दबाब एवं आलोचना खेपेका अध्यक्ष ओलीलाई नै एमालेले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । चुनावी दौडाहामा निस्केका रास्वपा नेता बालेनको लोकप्रियता देशभरि नै देखिएको छ । उनी ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा–५ बाटै चुनाव लड्दै छन् । यस्तोमा रास्वपाको लोकप्रिय मत धेरै हुन सक्ने आन्तरिक विश्लेषण कांग्रेस र एमालेको छ । खासगरी सहरी क्षेत्र र मधेस प्रदेशबाट समानुपातिकतर्फ रास्वपाले धेरै मत पाउने उनीहरूको अनुमान छ । तर प्रत्यक्षतर्फ भने २०७९ को निर्वाचनको सिट नघट्ने दाबी कांग्रेस–एमालेका नेताहरूको छ । 

‘आन्तरिक असन्तुष्टि, गुनासोलाई थाती राखेर पार्टीलाई जिताउने अभियानमा एमालेको सिंगो पंक्ति एकठाउँ उभिएको छ,’ एमाले उपमहासचिव योगेश भट्टराईले भने, ‘घरदैलो पुग्दा नेताकार्यकर्ताको उत्साह बढेको छ । मनोबल उँचो भएको छ ।’ यसअघिका दुई निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भट्टराईले यसपटक टिकट पाएनन् । तर उनी एमाले उम्मेदवार क्षितिज थेबेलाई जिताउन लागिपरेका छन् । देशका अन्य निर्वाचन क्षेत्रका चुनावी अभियानमा पनि पुगेका छन् । प्रतिकूल परिस्थितिमा पनि पार्टीलाई एक ढिक्का राखेर चुनावबाट मुख्य राजनीतिक शक्ति स्थापित हुने आत्मविश्वास एमाले पंक्तिमा रहेको भट्टराईको दाबी छ । 

जेनजी आन्दोलनबाट सत्ताच्युत भएपछि एमाले अध्यक्ष ओलीको लोकप्रियताको ग्राफ निकै खस्किएको थियो । आन्दोलनकारी, नयाँ दलहरू र नागरिकस्तरबाट समेत ओली र एमालेको चर्को आलोचना गरिएको थियो । जनमत ओरालो लाग्ने संकेत पाएपछि एमालेले टोल, वडा, पालिका, जिल्ला र प्रदेशस्तरीय बैठक, भेला र सभामार्फत पार्टी कार्यकर्तासम्म पार्टी धारणा पुर्‍याएको थियो । नेतृत्व परिवर्तनको माग गर्ने संस्थापनइतर पक्षलाई सम्बोधन गर्दै एक वर्षअघि नै ११औं महाधिवेशन डाकेर नयाँ नेतृत्व छानेको थियो । पार्टी नेतृत्व र निर्वाचनका उम्मेदवारमा पनि उल्लेख्य संख्यामा युवा प्रतिनिधित्व गराएर चुनावमा निस्केको एमालेले आन्तरिक विवाद भने मिलाइसकेको छैन । ‘अहिले आन्तरिक विवाद निकाल्ने समय होइन । पहिले हामी चुनाव जित्छौं, अनि समीक्षा त छँदै छ,’ उपमहासचिव भट्टराईले भने । 

एमालेमा अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा–५ को नतिजाप्रति जति चिन्ता छ, प्रत्यक्षतर्फ अघिल्लो चुनावको सिट नघट्ने विश्वास उत्तिकै देखिन्छ । अघिल्लो चुनावमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एससहितको पाँच दलीय गठबन्धनसँग सामना गरेर पनि प्रत्यक्षमा ४४ सिट र लोकप्रिय मतमा एमाले पहिलो दल बनेको थियो । एमालेले मधेस प्रदेशमा जसपा र झापा, रूपन्देही, बाँकेलगायतका केही क्षेत्रमा राप्रपासँग तालमेल गरेको थियो । ‘यसपटक प्रत्यक्षमा ५० प्लस सिट जित्छौं । समानुपातिक मत केही खस्किए पनि पहिलो दल हुने प्रतिस्पर्धाभन्दा बाहिर छैनौं भन्ने हाम्रो आन्तरिक विश्लेषण छ,’ ओलीनिकट एक नेताले भने ।

सम्बन्धित खबर