२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

चुनावी मैदानमा आठ महिनाकी गर्भवती

shivam cement
अस्मिता बम
२०८२ माघ २७ गते ०८:५१
Shares
चुनावी मैदानमा आठ महिनाकी गर्भवती

काठमाडौं : अहिले देशभर चुनावी चटारो छ । उम्मेदवारहरू भोट माग्न घरदैलोमा निस्किएका छन् । उम्मेदवारका एजेन्डा मात्र होइन, अवस्था पनि अलग छन् । युवादेखि लिएर लठ्ठी टेक्ने वृद्धसम्म चुनावी मैदानमा छन् । काठमाडौं–१ मा कार्यकर्ता भेटघाटमा व्यस्त रास्वपा उम्मेदवार रञ्जु दर्शनाको अवस्था अरूको भन्दा अलि भिन्न छ । उनी आठ महिनाकी गर्भवती छिन् । चिकित्सकले प्रसूतिका लागि १८ फागुनको मिति दिएका छन् । त्यसको तीन दिनपछि २१ फागुनमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ । ‘यो अलि फरक अवस्था हो । अरू उम्मेदवार एक्लाएक्लै छन्, म दुई जना भएर हिँडिरहेको छु,’ उनले मध्यान्हसँग भनिन्, ‘मतदातासँग भेटघाट, अन्तत्र्रिmया र आरामलाई सन्तुलन मिलाएको छु ।’ 

चुनावी दौडधुपमा उनलाई श्रीमान् किशु कुइँकेलले सघाइरहेका छन् । हिँडेर थाक्दा आराम गराउनेदेखि खानपान, भेटघाट र अन्तत्र्रिmयाको प्रबन्ध गर्नेलगायतका सबै हेरचाह उनैले गरिरहेका छन् । गर्भवतीजस्तो विशेष अवस्थामा सक्रिय चुनावी अभियान चलाइरहेकी दर्शनालाई समर्थक र शुभचिन्तक मात्र होइन्, विपक्षी उम्मेदवार र मतदाताले समेत आराम गर्न सल्लाह दिन्छन् । तर उनी थाकेकी छैनन् । ‘आराम गर्नुुस् भनेर धेरैको टिप्पणी आइरहेको छ । त्यसमा पनि पुरुष साथीहरू धेरै हुनुहुन्छ । तर यो अवस्था महिलाका लागि वरदान पनि हो,’ उनी भन्छिन्, ‘गाउँघरमा अघिल्लो दिनसम्म कामै गरेर बच्चा जन्माइरहनुभएको छ । हाम्रै आमाहरूले पनि त्यसरी नै जन्माएको हो । त्यसैले सकिन्छ भन्ने लागेको छ ।’ 

यस्तो शारीरीक अवस्थामा दर्शना सजिलै चुनावी मैदानमा उत्रिएकी भने होइनन् । नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनकै अगुवाइमा विवेकशील साझा र रास्वपाबीच पार्टी एकता गराइन् । रास्वपाले सुरुमा उनलाई समानुपातिक बन्दसूचीमा राखिएको थियो । तर दर्शनाजस्तो जुझारु नेता समानुपातिक सूचीमा राखिएको भन्दै साइबर बुलिङ गरियो । उनले आफू गर्भवती रहेकाले समानुपातिकमा बसेको प्रस्टीकरण दिइरहिन् । तर आलोचना रोकिएन । त्यहीबेला सभापति रवि लामिछानेले बन्दसूची सच्याउँदा दर्शनाको क्रमसंख्या धेरै तल झारिदिए । त्यसले असन्तुष्ट रहेकी उनी अन्ततः प्रत्यक्ष निर्वाचन लड्ने निर्णयमा पुगिन् । 

समानुपातिक बस्दा बुलिङ गरिरहेका नै अहिले फेरि गर्भवती अवस्थामा चुनाव लड्नुलाई ‘राजनीतिक मोह’ भनिरहेका छन् । केहीले भने महिला सशक्तीकरण र समान अवसरको बहसलाई अघि बढाएका छन् । उनी भने यसलाई समाज बदल्ने स्वरूपका रूपमा हेरिरहेकी छन् । ‘राजनीतिमा महिला, त्यसमा पनि गर्भवती महिला सक्रिय हुन सक्दैनन् भन्ने सोच नै बदल्नुपर्छ,’ उनी भन्छिन् । 

सुशासन, जवाफदेही राजनीति, पारदर्शिता, युवा सहभागिता र नागरिक–केन्द्रित नीतिनिर्माणलाई प्रमुख चुनावी एजेन्डामा बनाउँदै आएकी उनी परम्परागत राजनीतिक संस्कारभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् । उनका अनुसार, गर्भावस्था महिलाको क्षमता घट्ने अवस्था होइन, बरु जिम्मेवारीप्रतिको चेतनाको अर्को रूप हो । यही सोचका साथ उनी आफ्नो स्वास्थ्यको ख्याल राख्दै, डाक्टरको सल्लाह र परिवारको सहयोगमा चुनावी अभियानमा जुटेको उनी बताउँछिन् । 

त्यसो त, दर्शनाका लागि यो पहिलो चुनाव होइन् । यसअघि पनि उनले दुईवटा चुनाव लडिसकेकी छन् । २०७४ को स्थानीय तह निर्वाचनमा विवेकशील पार्टीबाट काठमाडौं महानगरको मेयरमा उठेर २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् । २०७९ को आमचुनावमा भने उनीप्रतिको आकर्षण ह्वात्तै घटेको देखियो । सो निर्वाचनमा दर्शनाले काठमाडौं–५ बाट झन्डै ६ सय मत मात्र प्राप्त गरिन् । यसपटकको निर्वाचनको परिणाम जेसुकै भए पनि उनको यो कदमले राजनीति र समाज दुवै क्षेत्रमा नयाँ प्रश्न र बहस भने जन्माएको छ । 

आचारसंहिताका कारण उम्मेदवारहरूले घरदैलो सुरु गरिसकेकी छैनन् । त्यसैले मतदाता भेट, कोणसभा र सडक मुभ चलिरहेको छ । उनको जोड अन्तत्र्रिmयात्मक भेटमार्फत सबैसँग साक्षात्कार गर्ने रहेको छ । मौन अवधिसम्ममा सबै मतदाताकहाँ पुग्नेगरी योजना बनाइएको दर्शना बताउँछिन् ।

सम्बन्धित खबर