२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सपना होइन, भरोसा दिलाऊ

shivam cement
२०८२ फागुन ४ गते ०६:३५
Shares
सपना होइन, भरोसा दिलाऊ

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । हरेक दलले समृद्धि, रोजगारी, सुशासन र निःशुल्क सेवाजस्ता आकर्षक वाचा गरेका छन् । शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने, लाखौं रोजगारी सिर्जना गर्ने, ठुला पूर्वाधार परियोजना सम्पन्न गर्ने प्रतिबद्धता दोहोरिएका छन् । झट्ट सुन्दा उत्साह जगाउने यस्ता योजना कति यथार्थपरक छन् भन्ने प्रश्न उठ्नु स्वभाविकै छ । आम नागरिकले अब सपना होइन यथार्थ अनि, आश्वासनभन्दा भरोसा चाहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक करारका नाममा घोषणापत्रको सारांश सार्वजनिक गर्दै भ्रष्टाचार विरोधी महाअभियान चलाउने प्रतिबद्धता जनाएको छ । पाँच वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने, १२ लाख रोजगारी सिर्जना गर्ने र ठुलो परिमाणमा विद्युत् तथा सडक विस्तार गर्ने वाचा गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले शतप्रतिशत स्वास्थ्य बिमा, राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने र दीर्घकालमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना ल्याएको छ । जसपा नेपालले पाँच वर्षमै ५० लाख रोजगारी सिर्जना गर्ने दाबी गरेको छ भने आम जनता पार्टीले शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क गर्ने घोषणा गरेको छ ।

यी सबै प्रतिबद्धता जनताको चाहनासँग जोडिएका छन् । रोजगारी अभाव, स्वास्थ्य सेवाको कठिन पहुँच, महँगो शिक्षा र कमजोर पूर्वाधार अहिलेका मुख्य समस्या हुन् । त्यसैले दलहरूले यिनै विषयमा ध्यान दिनु सकारात्मक हो । तर विगतका अनुभवले यस्ता घोषणापत्रका धेरै बुँदा चुनावपछि सम्बद्ध दल र प्रतिनिधिले सम्झिँदैनन् । धेरै त कार्यान्वयन हुनै मुस्किल हुने खालका हुन्छ । अस्थिर सरकारले कुनै एक दलको घोषणा जस्ताको त्यस्तै कार्यान्वयन गर्ने वातावरण पनि बन्दैन । महत्वाकांक्षी लक्ष्य राख्नु आफैंमा नराम्रो होइन । तर त्यसका लागि आवश्यक बजेट, स्रोत र स्पष्ट कार्ययोजना पनि दलहरूले सँगसँगै ल्याउनुपर्छ । घोषणापत्र चुनावी प्रतिबद्धता लेखिएको कागज मात्र होइन, जनतासँग गरिएको सार्वजनिक प्रतिबद्धता पनि हो । त्यसैले कुनै दल विशेषले देखाउने सपनासँगै आमनागरिक आश्वस्त हुने भरोसायोग्य योजना पनि सँगै ल्याउनुपर्छ । अन्यथा यस्ता प्रतिबद्धता भाषणमै सीमित हुनेछन्, जसरी अहिलेसम्म भए । यसपटक मतदाताले नाराभन्दा कार्यान्वयन हुनसक्ने प्रष्ट योजना खोजेका छन् । आम मतदाताले भरोसा गर्न योग्य घोषणापत्र नै साँचो अर्थमा चुनावी प्रतिबद्धता बन्नुपर्छ । 

ताजा खबर

सम्बन्धित खबर