– बिदुर दाहाल
सिद्धान्त विहीन नेपाली राजनीतिले जुनसुकै बेला कोर्ष परिवर्तन गर्न सक्ने देखिन्छ । स्थानीय निर्वाचनको परिणामले त्यसलाई बल पुर्याएको छ । अहिलेको निर्वाचन परिणाम स्वभाविक छ । यो अपेक्षित नै थियो । पार्टीहरुको गठबन्धनलाई जनताले आंशिक मात्र समर्थन गरेका छन् । जनताले यसलाई शंकाको आखाले हेरेका र कार्यान्वयन पूर्णरूपमा नगरेको देखियो । किनकी यो सजातीय गठबन्धन थिएन । नेताको स्वार्थमा गरिएको गठबन्धन भएकोले नतिजा स्वभाविक हो ।
अर्को महत्वपूर्ण कुरा, स्थानीय निर्वाचनमा व्यक्ति र उसको लोकप्रियता, उसले गर्ने खर्च, कार्यकर्ता परिचालन आदिले पनि चुनावी परिणाम तल माथि पर्ने देखियो । पार्टी र नीति भन्ने कुरा गौण देखियो । कति पय ठाउँमा बुथ कब्जा, किनबेच सामान्य भए । जसले जति गर्न सक्यो, जित उसैको । निष्पक्ष निर्वाचन भन्ने कुरा मात्र हो । जनतामा अझै राम्रो व्यक्ति र राम्रो नीति भएको उम्मेदवार छनौट गर्न सक्ने क्षमता विकास भएकै छैन । मतदाता गुणस्तरीय हुनै सकेनन् ग्रामीण क्षेत्रमा । यसका बारेमा कुनै दिन चर्चा गरिनेछ ।
सत्ता पक्षको गठबन्धनबाट तुलनात्मक लाभ नेपाली कांग्रेसलाई बढी र केही मात्रमा माओवादीलाई भएको छ । गठबन्धनको फाइदा एकीकृत समाजवादीले खास उठाउन सकेन । यसको असर सत्ता गठबन्धनमा नपर्ला भन्न सकिन्न । नतिजा आएसँगै गठबन्धनका कतिपय नेताहरुले दिएको अभिव्यक्तिले पनि सो तर्फ संकेत गरेका छन् । उनीहरुका अभिव्यक्ति निकै असन्तुष्टीपूर्णं छन् । कतिपय खुलेरै पनि गठबन्धन व्यर्थ भएको टिप्पणी गरेका छन् ।
सत्ता पक्षको गठबन्धन हुनु र पार्टी विभाजन हुनुको प्रत्यक्ष असर एमालेलाई परेको छ । एमालेले बनाएको गठबन्धन प्रभावकारी भएन । नतिजाले त्यही देखाउँछ । नतिजाबाट एमाले आत्तिएको छ । साथै ६ महिना पछि हुने संघीय तथा प्रदेश चुनावको पूर्वानुमान उसले गरेको हुनुपर्छ । विभाजन नभएको भए २०७४ को स्थानीय निर्वाचनभन्दा राम्रो परिणाम आउथ्यो भन्ने विश्लेषण एकातिर गरिएकै छ । अहिलेको परिणाम अनुमान गरिएकै तहमा छ । एकिकृत समाजवादीको त संगठन बनेकै थिएन, योभन्दा बढी उसले ल्याउनै सक्दैन्थ्यो । ल्याएन पनि । जुन स्वभाविक नै हो ।
एकातिर नेकपा एमालेले हार तथा अर्को तिर फुटेको एकीकृत समाजवादीको कमजोर नतिजाले कतै राजनीति कोर्ष फेरी परिवर्तन हुन्छ कि भन्ने आम मानिसमा शंका उठ्न थालेको छ । विगतमा पार्टीको विभाजन कुनै नीतिगत कारणले भएको थिएन । केपी शर्मा ओलीको दम्भ/घमण्ड तथा केही विधिगत र प्रक्रियागत बलमिच्याइका कारण भएको थियो । माधव कुमारलगायतका नेताको कुण्ठाले त्यतिकै काम गरेको थियो । त्यसैलाई बहाना बनाई पार्टी विभाजन गरेका थिए । यो कुण्ठा र घमण्डको मिश्रित परिणाम हो । चुनावी नतिजाले दुबैलाई शरीरमा चिसो पानी खनाई दिएको छ । दुबै पक्षले समीक्षा गर्ने नै देखिन्छ । माधव कुमार नेपालले मदन आश्रित स्मृति दिवसमा यसको छनक दिइसकेका छन् । अर्कोतिर सत्ताका महान खेलाडी ओली दुई दिन यता गुमनाम छन् । उनी नबोल्नुलाई अनौठो मान्न सकिन्छ । कतै खिचडी पाक्दै त छैन !
स्थानीय चुनावकै परिणाम स्वरूप सत्ता परिवर्तन होला त ? नेपाली कांग्रेस हर सम्भव यसलाई जोगाउन चाहन्छ । उसले यसका लागि हर प्रयास गर्ने देखिन्छ । तर, कम्युनिस्ट कार्यकर्ता एकताको सम्भावना देखिरहेका छन् । निर्वाचनले ओलीको घमण्डलाई स्वीकार गरेन । अनि विधि र पद्धतिको कुरा गर्ने माधवहरुलाई पनि अनुमोदन गरेन ।
अब के हुन सक्छ त ?
निर्वाचनको परिणामसँगै राजनीति फरक ढंगले तातिन थालेको छ । अब उज्यालो होइन अँध्यारो कोठामा वार्ता हुनेछन् । सकेसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बृहत बाम एकता भनिन् सक्छ । जहाँ नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्य ‘किरण’सहितको एकता पहल हुन सक्छ । तर, इगोको कारण प्रचण्ड सजिलै एकतामा जान सक्ने अवस्था देखिँदैन । यसको लागि ओली ओझेलमा पर्नुपर्ने हुनसक्छ । जुन अलि कठिन छ । तर माधव नेपालहरुको एकता भने सम्भावना छ । यसका लागि दुबै पक्षले कार्यकर्ताको माग तथा परिस्थिति भन्दै आत्मा आलोचना गर्न सक्छन् । यो सम्भावना त्यतिकै छ ।
प्रचण्ड बाहेकको एकतामा पनि माधव र झलनाथहरुको पार्टीमा व्यवस्थापन पेचिलो बन्न सक्छ । यी दुई पात्रको व्यवस्थापन बिना पार्टी एक हुने सम्भावना कम छ । यसको व्यवस्थापनका लागि केही हाताहाती र केही उधारो सहमती नहोला भन्न सकिन्न । एमाले र एकीकृत समाजवादी एक भएको खण्डमा लोसपा वा जसपा सधैं एमालेलाई समर्थन गर्न आतुर छन । सत्ताका लोभी न हुन् !
कम्युनिस्टहरुलाई सजिलो छ, “हामीले गम्भीर आत्मसमीक्षा गर्यौं र हामीले गल्ती कमजोर सच्याउने प्रतिबद्धता गर्यौं” भनेमा तमाम कुरा मिलि हाल्छ । भएको पनि त्यही छ । त्यसभन्दा अगाडि पद र पात्र व्यवस्थापन जरुरी हुन्छ । यो मिल्न पनि सक्छ । गर्लान् पनि । उल्लेखित कुरामा सहमती भएमा वा हुन सकेमा असार १७ को तिथि मिति दिएकै छन् ओलीले । त्यसको सम्भावना पनि जिवितै छ । माधव नेपालले पनि यसको संकेत गरेकै छन् ।
एउटा सिद्धान्त विहीन विभाजन लेनदेन वा पद व्यवस्थापबाट नटुंगिएला भन्न सकिन्न ! किनकी यो नेपाली राजनीतिको चरित्र हो । फुट्दा पनि आफ्नो स्वार्थका लागि फुटेका र जुट्दा पनि आफ्नै स्वार्थका लागि जुटेको इतिहास छ । नेपाली राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न । विभाजित पार्टी जुटे पनि अचम्म नमान्दा हुन्छ । यसले अहिलेको सत्ता गठबन्धन अल्पमतमा पर्न सक्छ । बजेट फेल हुन सक्छ ।
तर, स्थानीय निर्वाचनको परिणामले पार्टीहरु असफल भएको संकेत गरिसकेको छ । पार्टी फुट्नु र जुट्नु वा सत्ता परिवर्तन हुनुभन्दा पनि वर्तमान शासन प्रणाली, निर्वाचन प्रणाली वा त्यसबाट निर्वाचित पार्टीका उम्मेदवार अक्षम हुँदै गएको सन्देश प्रवाह भइरहेको छ । पार्टी र उसका उम्मेदवारले सुशासन र समृद्धि दिन सक्दैनन् भन्ने कुराको संकेत स्वतन्त्र उम्मेदवारहरुले दिएको धक्कालाई लिनुपर्ने हुन्छ । सिक्लान् वा नसिक्लान् उनीहरुको कुरा हो तर, जनताले भने क्रमशः विचार र व्यवहारमा ‘भुत्ते’ भइसकेका नेतृत्वलाई स्वीकार्ने छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies