– पवित्रा चाम्लिङ, खोटाङ
१.
हरपल हार व्यहोर्नु पर्ने, आफन्तले खुट्टा तानेपछि
हाँगाबाट आखिर छुट्टिनु पर्यो, पतझर ठानेपछि
तिमी हौ मेरो प्राण भन्दै, तिमी नै जिउ ज्यान भन्दै
छातिमाथि परेड खेलेर गयो, गरिब भन्ने जानेपछि ।।
२.
मुटु नै गाँठो पर्यो हजुर, छोराले बचन लाएपछि
निल्नु न ओकल्नु भएँ, एक गाँस भात खाएपछि
सिमल भूवा केस पाक्यो, घरले जा बनले डाक्यो
मनले देख्छ शरीर स्थिर, बुढ्यौली पन आएपछि ।।
३.
आज सोचमा डुबेको छु, विपक्षलाई हार नमिलेपछि
तिनलाई हराउने सही समय, गते र बार नमिलेपछि
सफल हुन कोसिस गरेँ, रफ्तारमा रहेर म कति लडेँ
बिजुली बलेन पल्स र माइनसको, तार नमिलेपछि ।।
४.
सोध्नलाई बाध्य भएँ, एकाएक सन्नटा छाएपछि
रुनलाई विवश बनायो, आँखामा आँसु आएपछि
सुर्यलाई धरामा झार्यो, रिसले आफैंलाई मार्यो
प्राण त्याग्दा पछुतायो, आवेगमा विष खाएपछि ।।
५.
मर्का बुझ्ने को हुन्छ यहाँ, उल्टो दोष लाउँछ जूनलाई
आखिर पित्तलसँग नै तुलना गर्छन्, मान्छेले सुनलाई
मान्छेले पाप जमाई दिन्छ, मृत्युमा उत्सव मनाई दिन्छ
बैगुनको मात्र चर्चा चलाएर, लुकाउँछ गरेको गुनलाई ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies