२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

आक्रामक रास्वपा र कांग्रेस, घरदैलोमै एमाले

shivam cement
जीवन शर्मा
२०८२ फागुन १८ गते ०६:२५
Shares
आक्रामक रास्वपा र कांग्रेस, घरदैलोमै एमाले

काठमाडौं : जेनजी आन्दोलनको पृष्ठभूमिमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचन आयोगका कार्यवहाक प्रमुखआयुक्त रामप्रसाद भण्डारीका अनुसार आवश्यक निर्वाचन सामग्री र जनशक्ति सम्बन्धित क्षेत्रमा व्यवस्थापन भइसकेका छन् ।

२१ फागुनको निर्वाचनका लागि आयोगले तय गरेको निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलहरू पनि अगाडि बढे । फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसार सुरु भएसँगै राजनीतिक दलहरू जनतासँग पुगे । आफ्ना प्रतिबद्धता जनाए । यसक्रममा स्वभाव र शैलीमा रास्वपा आक्रमक देखियो भने नेपाली कांग्रेसले पनि केही सहरमा मात्र केन्द्रित रह्यो । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी भने उम्मेदवारहरूमार्फत मतदाता रिझाउन घरदैलोमा पुगेको छ । चुनावी अभियानलाई नागरिकको घर दैलोमा पुर्‍याएका दलहरू आफ्नो पक्षमा परिणाम निकाल्न फरक–फरक रणनीतिमा रहेको देखिन्छ । 

रास्वपाले घरदैलोसँगै रोड सो र चुनावीसभालाई आक्रमक बनायो । कांग्रेसले पनि जनकपुर, सुर्खेत, पोखरा, बुटवल र काठमाडौंमा चुनावी सभा गर्‍यो । यी दलका उम्मेदवारले मतदातासँगको प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिँदै पार्टीका शीर्ष नेताहरूले भने विभिन्न क्षेत्र, जिल्ला र प्रदेशस्तरिय आमसभाहरू मार्फत जनमत बदल्ने प्रयासमा रहे । चुनावीसभा मार्फत नेताहरूले आफ्नो दल सरकारमा पुगे के गर्ने ? भन्ने वाचासहित देशभरका मतदाताको ध्यानाकर्षण गराउँदै आफ्नो दललाई मत हाल्न  आग्रह गरेका छन् ।  

कांग्रेस र रास्वपा चुनावीसभामार्फत आक्रमक देखिँदा एमाले रक्षात्मक अवस्थामा देखियो । नेपाली कम्युनिस्ट पार्टीले पनि छिटपुट चुनावीसभा गरेको छ । एमालेले भने यस पटक ठूला सभा गरेन । एमालेले ठूला चुनावी आमसभासहितका कार्यक्रमभन्दा घरदैलोलाई जोड दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ मै केन्द्रित छन् भने अरु पदाधिकारीहरु पनि आआफ्नो क्षेत्रभन्दा बाहिर निस्किएनन् । मतदातालाई भेट्ने, गुनासो सुन्ने र कन्भिन्स गर्ने रणनीतिसहित एमालेले चुनावी अभियान अघि बढाएको छ । 

कांगे्रसले फैलायो बदलिएको सन्देश 

निर्वाचनको सम्मुखमा आइपुग्दा आइतबार मात्रै कांग्रेसले काठमाडौं उपत्यकाका ६ स्थानमा ठूला चुनावीसभा आयोजना गर्‍यो । काठमाडौंका १० वटा र भक्तपुरका २ वटा निर्वाचन क्षेत्र केन्द्रित ती चुनावीसभाहरू कीर्तिपुर, भक्तपुर, पेप्सीकोला, बालाजू, सामाखुसी र बालुवाखानीमा गरिएको कांग्रेसले जनाएको छ ।  

१५ गते बुटवल, पोखरा र बागलुङ गरी एकैदिन तीनवटा चुनावी सभा गरेको कांग्रेसले शनिबार सुदूरपश्चिममा ठूलो चुनावीसभा गरेको थियो । 

फागुन ६ गते जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिकीकरण गर्दै औपचारिकरूपमा सुरूभएको कांग्रेसको सार्वजनिक चुनावी कार्यक्रमहरू दैनिकजसो भईरहेका छन् । यी अधिकांश चुनावी सभालाई सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसालसहितका नेताहरूले सम्बोधान गर्दै आएका छन् । 

सम्बोधनका क्रममा नेताहरूले विशेष महाधिवेशन मार्फत बदलिएको कांग्रेसले सरकारको नेतृत्व गरेर आगामी पाँच वर्षभित्र मुलुकलाई कस्तो बनाउँने भन्ने स्पष्ट खाका तयार गरिसकेकाले त्यसको कार्यान्वयनका लागि एकल सरकार बनाउनसक्ने मत दिन आग्रह गरेका छन् । 

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले आफ्नो पाँच वर्षे योजना जनतामाझ पुर्‍याएर मत माग्नेकार्य जारी रहेको बताए ।  

‘चुनावमा नागरिकसँगको संवाद प्रधान विषय हो’, उनले मध्यान्हसँग भने, ‘हामीले नागरिकका कुरा सुन्ने, आफ्ना कुरा भन्ने र बदलिएको कांग्रेसका एजेण्डा जनतामाझ पुर्‍याउने अभियान अन्तर्गत घरदैलो र आवश्यक चुनावी सभाहरू गर्‍यौं । यी कार्यक्रमार्फत कांग्रेसप्रतिको जनताको आकर्षण बढ्दो छ ।’  

रास्वपाले माग्यो बहुमत

चितवन र काठमाडौंको चुनावी सभापछि रास्वपाका बरिष्ठ नेता बालेन शाह आइतबार झापा पुगेका छन् । रास्वपाले गत फागुन ६ बाट धनगढीबाट सुरु गरेको निर्वाचन केन्द्रित चुनावी अभियान देशव्यापी बनायो । त्यसक्रममा उसले सरकार बनाउन सक्ने गरी जनतासँग बहुमत मागेको छ ।

विशाल प्रदर्शन र आम सभामार्फत आफ्नो चुनावी यात्रालाई आक्रमक बनाएको रास्वपाले आफ्नो पक्षमा अधिक जनमता बदलिएको सन्देश दिएको छ । 

रास्वपाले शनिबार काठमाडौंमा बालेन शाह र रवी लामिछानेले संयुक्तरूपमा गरेको चुनावी यात्रामा व्यापक जनसहभागिता थियो । त्यस्तै शुक्रबार साझामा गरेको चुनावीसभामा त्यत्तिकै बलियो समर्थन देखिएको थियो । रवि र बालेनले संयुक्तरूपमा सहभागी भई गरिएका सभा तथा चुनावी यात्रामा देखिएको जनसागरलाई मतमा बदल्न सक्छ कि सक्दैन ? भन्ने आम चासो छ ।  

कार्यक्रममा सहभागी नागरिकहरू सबैले मत हाल्ने आशा रास्वपाको भए पनि अन्य राजनीतिक दल तथा विश्लेषकहरूले रास्वपाले भनेजस्तो जनमत बटुल्ने सम्भावना नरहेको बताएका छन् । 

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले नागरिकको जनलहरलाई मतमा बदल्ने अपेक्षासहित रास्वपा चुनावी मैदानमा रहेको बताईन् । उनले भनिन, ‘चुनाव नजिकिँदै जादा उर्लिएको जनसागर जनमतमा बदलिने अपेक्षामा हामी छौं ।’ 

भोट जोगाउने रणनीतिमा एमाले र नेकपा 

नेकपाले शनिबार कपिल्बस्तु, रोल्पा, रुपन्देहीमा ठूला चुनावीसभा गरेको छ । त्यसअघि देशव्यापीरूपमा चुनावी कार्यक्रमलाई व्यापक बनाइएपनि ठूला सभा भने खासै नभएको नेकपाका नेता अग्नि सापकोटाले बताए ।  

धेरैजसो ठुला सभा भन्दा पनि प्रत्यक्ष जनतालाई भेट्ने र आफ्ना एजेण्डा जनतामाझ प्रष्ट पारेर मत माग्ने व्यस्त रहेको सापकोटाको भनाई छ ।  

उनले मध्यान्हसँग भने, ‘हामीले यो पटक जनताकै घरआँगनमा पुगेर मत मागेका छौं । त्यसका लागि केन्द्रस्तरका नेताहरू समेत आफ्नो जिल्ला र क्षेत्रमा बसेर आफ्नो पक्षमा परिणाम निकाल्न आवश्यक रणनीति बनाउने कुरालाई प्राथमिकता दिएका छौं ।’ 

अधिकांश दलहरूले खुला सभादेखि मतदातासँगको प्रत्यक्ष भेटघाटमा समेत आफ्नो पक्षमा बहुमत आउने र सरकारको नेतृत्व आफ्नै दलले गर्ने दाबी गर्दै आएका छन् । 

ठुला चार दल मध्य तीन दलले घरदैलोसँगै चुनावीसभामार्फत मतदाता तान्ने योजना बनाइरहँदा  एमालेले चुनावी सभालाई प्राथमिकतामा राखेन् ।  सो दलले आफ्ना ६ लाख संगठित सदस्यलाई सक्रिय बनाएर प्रति व्यक्ति ३ मत सम्म तान्न सक्नेगरी जनतासँग वान टुवान भेटघाटलाई प्राथमिकता दिएको नेताहरूले बताएका छन् ।  

एमाले चुनावी परिचालन कमिटीका सचिव विष्णु रिमालले सार्वजनिक हल्ला गर्ने र गाडीको हुटमा हात हल्लाउँदै हिड्दैमा जनमत नबदलिने बताए । 

‘नेकपा एमाले जनताको पार्टी हो’, उनले भने, ‘हामी निरन्तर जनतामाझ छौं । जनतासँगको नियमित भेटघाट, समस्या पहिचान र ती समस्या समाधानका उपायहरूसमेत खोज्ने प्रतिवद्धतासहित जनताको मत पाउने कोसिसमा छौं ।’ 

रिमालले यसो भने पनि एमालेले निर्वाचन क्षेत्रगत चुनावी सभा र प्रदर्शन भने देशैभर गरिरहेको छ । आइतबार सुर्खेत र दाङका चुनावी सभामा उल्लेख्य सहभागीता थियो ।  

अरू दलहरूजस्तै एमालेले पनि आफ्नो बहुमत आउने दाबी गर्दै आएको छ । यी दलहरूले चुनावी अभियाका क्रममा पार्टी प्रवेश गराएर आफ्नो पक्षमा भोट थपिएको सन्देश दिने कामलाई समेत निरन्तरता दिएका छन् । 

सम्बन्धित खबर