२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

ADV
मध्यान्ह
२०८१ साउन १८ गते ११:२५
लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

बाँकेः सृजनशील दलित महिला समूहमा आवद्ध दलित महिला गाउँमै लघुउद्यम सञ्चालन गरेर आर्थिक रूपमा सबल बन्दै गएका छन् । 

‘पाँच वर्षअघि समूहमा लागेर खाजा पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र छोरा छोरीलाई स्कूल पढाउन नास्ता पसलबाटै पुगेको छ’, महिला समूहमा आवद्ध रहेकी सुनिता विकले भनिन्, ‘मैले पसल सञ्चालन गरेर घरखर्च धानेँ, श्रीमान्ले कतारमा कमाएको पैसा बचाउन सक्यौँ ।’

बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी निवासी सुनिता विकले गाउँमै सञ्चालन गरेको नास्ता पसलबाट मनग्य आम्दानी गर्दै आइरहेकी छिन् । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक रु. दुईदेखि तीन हजारसम्मको नास्ता बिक्री हुने गरेको छ । 

सुनिताजस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका धेरै दलित महिला विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा सबल बन्न थालेका छन् । थोरै पैसाका लागि विगतमा श्रीमानको भर पर्दै आएका महिला अहिले कुखुरापालन, तरकारीखेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा क्रमशः सबल बन्दै गएका छन् ।

समूहमा आबद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आएकी बैजनाथ गाउँपालिका–३ निवासी जुना विकले आर्थिक आम्दानीमा सुधार भएसँगै छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको बताइन् । आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाका लागि स्थानीय सरकारले सहयोग गर्नसके महिला हिंसा घटाउन मद्दत पुग्ने उनको बुझाइ छ । 

विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने विपन्न वर्गका दलित महिला पछिल्लो समय गाउँगाउँमा महिला समूह निर्माण गरी स्वरोजगारमूलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका–१ स्थित हातेमालो कृषक समूहकी अध्यक्ष बिन्दु विकले बताइन् ।  

‘दलित महिलाहरुलाई आम्दानीको स्रोतको सृजना गरी विभिन्न पेसा व्यवसायमा संलग्न गराउन समूहबाट ऋण लगानी गर्ने गरिएको छ’, उनले भनिन्, ‘समूहमा बचत गरेर रु. १० लाख जम्मा गरेका छौँ, समूहबाट ऋण लिएर व्यवसाय गरेपछि धेरैजनालाई जीविकोपार्जनमा सहज भएको छ ।’ समूह गठनपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिला सस्तो ब्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ । 

हातेमालो समूहअन्तर्गतका २५ जना दिदीबहिनीले गाउँमा सामूहिक धान रोपाइँ गरेर रु. तीन लाख बचत गर्न सफल भएका छन् । गत वर्ष १७ जनाको समूह बनाएर सामूहिक रोपाइँको शुरु गरेका थियौँ, त्यसबाट रु. एक लाख पाँच हजार आम्दानी भएकामा यस वर्ष २५ जनाको समूहबाट धान रोपाइँ गर्दा रु. एक लाख ८५ हजार आम्दानी भएको हातेमालो कृषक समूहकी सचिव अञ्जली सुनारले बताइन् ।

बैजनाथ गाउँपालिका–१ गाभर निवासी पदमकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिक रूपमा कृषि पेसामा होमिएकी छिन् । अहिले उनको फार्ममा बाख्रा, लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेका छन् । 

दलित महिला सङ्घको सहजीकरणमा गाउँगाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिक रूपमा सक्षम भएका छन् । दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सबल बनाउन खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ जना सदस्य रहेका ५४ महिला समूह सक्रिय रहेका दलित महिला सङ्घकी अध्यक्ष निर्मला सुनारले बताइन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise