
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले प्रष्ट बहुमतसहितको सरकार बनाउने म्यान्डेट दिएको देखिएको छ । यो परिणामको राजनीतिक सन्देशलाई चुनावमा जित्ने, हार्ने र अन्य पक्षले स्पष्ट रुपमा बुझनुपर्ने विज्ञहरु बताउँछन् । कतिपयले यसलाई ब्यालेट बिद्रोहका रुपमा पनि अर्थ्याएका छन् ।
संविधानविद् भीमार्र्जुन आचार्यले परिणामलाई मूलतः पूरानो इतिहास भएका दलहरुप्रतिको वितृष्णा र आक्रोश मतदानमार्फत व्यक्त भएको हिसाबमा अहिलेको चुनावी परिणामलाई लिइनुपर्ने बताउँछन् । यसका साथै नयाँ पुस्ताको छनौट र रास्वपको पक्षमा यसपटक सृजना भएको लहरको प्रभावले पनि चुनावी परिणाम यस्तो आएको निश्कर्ष उनको छ । जेन्जी आन्दोलनको श्रेय लिन सकेका कारण पनि रास्वपालाई अनुकुलता सृजना भएको धारणा पनि उनको छ ।
‘विगतमा पनि आन्दोलनकारी शक्तिका पक्षमा यस्तो लहर आएको हो’ आचार्यले भने, ‘विगतमा काँग्रेस एमाले, नेकपा र माओवादीसमेतका पक्षमा यस्ता लहर आएकै हो । त्यो जनमतलाई उनीहरुले धोका दिएको परिणाम उनीहरुले भोगेका हुन्, रास्वपाले त्यसलाई विचार गर्नु पर्छ ।’
अहिलेको चुनावी परिणामले हार्ने र जित्ने दुवैलाई प्रष्ट र गहिरो सन्देश दिएको उनी बताउँछन् । ‘एकातिर पुराना दललाई जनमतको कदर नगर्दा केसम्म हुँदो रहेछ भन्ने शिक्षा लिने अवसर दिएका छन् । अर्को तर्फ रास्वपालाई जनताले दिएको मौका सदुपयो गर्न नसक्दा पुराना राजनीतिक दलले अहिले भोग्नु परेको जस्तै परिणाम आफूले पनि भोग्नु पर्दो रहेछ भन्ने सन्देश दिएका छन्’ आचार्यले भने । रास्वपाले आफूलाई प्राप्त अपार जनसमर्थनलाई देशका सबै क्षेत्रमा रहेका समस्या समाधान गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन नसकिए अहिलेको जनमतलाई पहिलो र अन्तिम बनाइदिन सक्नेरहेछन् भन्ने हेक्का राख्नुपर्ने पनि उनले बताए ।
राज्यका सबै अंग पूर्ण रुपमा मर्मतसम्हार गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै संविधानविद् आचार्यले जितको उन्माद प्रदर्शन नगरी काममा लाग्नु पर्ने समेत बताए ।
समाजशास्त्री डा. दिपेश घिमिरे पुराना दलले साढे चार दशकदेखि चार÷पाँच जना नेताकै मात्र वरपर घुमाउने र पुस्तान्तणलाई ढोका बन्द गर्ने काम गरेकाले जनताले आक्रोश पोखेको बताउँछन् । ‘पुराना दलहहरुले आशा देखाए, जसलाई वास्तविकतामा परिणत गर्न कुनै काम गरेनन्’, उनले भने । विकासका केही काम भए पनि भ्रष्टाचार व्याप्त भएकोले पनि जनतामा पुराना दलप्रति विकर्षण पैदा भएको उनको ठहर छ ।
नेपाली जनताको इतिहासदेखि नै विद्रोहलाई मतदानमार्फत अनुमोदन गर्नेे प्रवृत्तिले पनि यसपटक काम गरेको उनी बताउँछन् । ‘जनताले २०१५ मा नेपाली काँग्रेसलाई र २०६४ सालमा माओवादीलाई यस्तै हिसाबको जनमत दिएका थिए अहिले रास्वपालाई त्यस्तै खालको जनमत दिएका छन्’, उनले थपे । यद्यपी नेपालमा हालसम्म बहुमत प्राप्त गरेको पार्टीले पूर्णकाल सत्ता चलाउन नसकेको बाट रास्वपाले शिक्षा लिनुपर्ने भनाई पनि घिमिरेको थियो । ‘२०४८ साल र २०५६ सालमा नेकपा माओवादी र २०७४ मा एमाले माओवादी गठबन्धनलाई त्यस्तै जनमत मिलेको थियो । अहिले त रास्वपाले २०१५ सालमा कांग्रेसले पाए जत्तिकै जनमत पाएको छ’, उनी थप्छन् । यसबाट जनउत्तरदायी र जवाफदेही सत्ता सञ्चालन गर्नुपर्ने रहेछ भन्ने करा रास्वपाले सिक्नुपर्ने पनि उनी बताउँछन् ।
काठमाडौं विश्वविद्यालयमा अध्यापनरत शिक्षाशास्त्री रूपा मुनकर्मी चुनावमा रास्वपातर्फ सोहोरिएको मतले जनताले नयाँ खोजको मात्र नभई उत्तरदायित्व पूर्ण शासन खोजेको अर्थमा लिनुपर्ने बताउँछिन् । यसका साथै जनताले पुराना राजनीतिक दलमा असल राजनीतिक सँस्कार र सदाचार एवं पारदर्शिताको अभाव देखेको र त्यसैको आशमा नयाँतर्फ आकर्षित भएको पनि उनको निश्कर्ष छ ।
‘पुराना दलहरुले हाम्रै कार्यकर्ताले पनि हामीलाई विश्वास गरेनछन् भन्ने बुझनु् पर्छ र यसलाई गम्भिरता पूर्वक लिनुपर्छ’, उनले भनिन् । रास्वपाले पनि आफूमा राजनीतिक सँस्कारको अभाव भए जनताबाट अर्को चुनावमा नतिजा अनुकुल आउन नसक्ने मुनकर्मी बताउँछिन् ।
वरिष्ठ अधिवक्ता बाबुराम दाहाल पुराना दलको तुलनामा निकै कम सदस्य र सांगठनिक क्षमतामा रास्वपाले यस्तो परिणाम ल्याउनुले पुराना दलको रवैया जनता आजित भएको पुष्टि गरेको बताउँछन् । ‘अब नयाँले अपेक्षित ढंगले काम गर्न सकेनन् र त्यही बेला पुराना दलले आफूलाई सच्याए भने अहिले जसरी मत विकर्षित भयो, त्यसै गरी मत आकर्षित हुनसक्छ । त्यसको साटो नयाँबाट पनि काम नहुने र पुराना पनि उही चालमा रहने हो भने जनताहरु दलीय व्यवस्थाकै विकल्पमा जान खोज्ने खतरा हुन्छ’, उनको भनाई छ ।
काठमाडौं विश्वविद्यालयकै अर्की प्राध्यापक डा. अमिना सिंह अहिलेको जनादेश सैद्धान्तिक प्रश्नमा भन्दा अवस्था परिवर्तन नहुँदा उत्पन्न भएको भावनात्मक अभिव्यक्तिका रुपमा लिनुपर्ने बताउछिन् । पुराना राजनीतिक दलले परिणाम नदिएको र नयाँले अघिल्लो संसदमा खलेकोे भूमिका हेरेर आशाले मत दिएको पनि उनको निश्कर्ष छ । ‘समग्रमा राजनीतिक भाषण र दस्तावेजमा भनिएका कुरा गरेर देखिउन नसक्दा जनता विकर्षित हुन्छन् भन्ने सन्देश सबै राजनीतिक शक्तिलाई दिएको छ ’, उनले थपिन् ।