२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मतदाताले पत्याएनन् बदलिएको कांग्रेस

shivam cement
जीवन शर्मा
२०८२ फागुन २५ गते ०६:१५
Shares
मतदाताले पत्याएनन् बदलिएको कांग्रेस

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले इतिहासकै ठूलो हार बेहोरेको छ । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर बदलिएको कांग्रेसको सन्देशसहित चुनावमा गएका सभापति गगन थापासमेत सर्लाही–४ मा अस्वीकृत भए । 

२०७९ को चुनावमा संसदको पहिलो दल रहेको कांग्रेस दोस्रो पुस्ताको नेतृत्वमा चुनावमा जाँदा १७ सीटमा खुम्चिएको छ । नेताहरूले निर्वाचनमा कम्तीमा १०० सिट पार गर्ने अपेक्षा राखेका थिए । चुनावका क्रममा नारा नै बनाईएको थियो– ‘अबकि बार सय पार’ । कम्तीमा ६० देखि ७० सीट प्रत्यक्ष र ३० सिट समानुपातिकबाट प्राप्त गर्ने कांग्रेसको लक्ष्य पूरा भएन । 

राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चल्दा अनपेक्षित हार व्यहोर्नुपरेको नेताहरूको दाबी छ । जेनजी आन्दोलनपछि पूराना दलप्रतिको आकर्षण घट्दै जाँदा वैकल्पिक राजनीतिक शक्तिले आशा जगाएको मत परिणामले देखाएको छ ।  नयाँ नेतृत्व, नयाँ अनुहार  र नयाँ नारा लिएर गए पनि मतदाताले यसपटका कांग्रेसलाई पत्याएनन् । सभापति गगन थापासहित सबै पदाधिकारीले पराजय भोगेका छन् । थापाले सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंहसँग फराकिलो मतान्तरले चुनाव हारे । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा गगन २२ हजार ८३१ मै रोकिए । त्यस्तै, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पनि चुनाव जित्न सकेनन् ।

सहमहामन्त्रीहरु उदयशम्शेर राणा, फरमुल्लाह मन्सुर, प्रकाश रसाइली स्नेही लगायत अरु पदाधिकारीहरूका लागि पनि यसपटकको चुनाव प्रतिकुल बन्न पुग्यो । कांग्रेसका चर्चित नेताहरू डा शेखर कोइराला, डा मिनेन्द्र रिजाल, सुनिल शर्मा, विमलेन्द्र निधि, विजय गच्छादार, चन्द्र भण्डारी,प्रकाशशरण महत, एजपी साउद, नैनसिंह महरले समेत चुनाव हारे । यो परिणामलाई कांग्रेसले अनपेक्षित परिणामका रूपमा लिएको छ । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले उम्मेदवार नभएरै चुनावी कमाण्ड हाँकेका थिए । 

कांग्रेस पनि गत भदौमा भएको जेनजी आन्दोलनको घानमा परेको देखिन्छ । आन्दोलनका बेला कांग्रेस–एमालेको गठबन्धन सरकार थियो । आन्दोलनका क्रममा ठूलो भौतिक तथा मानविय क्षति भएपछि कांग्रेसभित्र एकाथरि नेताहरूले आन्दोलनको मर्म र भावना अनुसार पार्टीमा नीति र नेतृत्व बदल्ने अभियान चलाए । अर्कोथरि आम निर्वाचनपछि मात्रै पार्टीको आन्तरिक संरचना बदल्ने अड्की कसे । लामो रस्साकस्सीपछि विवादकै विच विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरियो । त्यसको बैधानिकतामाथि अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ ।  

विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको असहयोगकाबीच नागरिकस्तरमा कांग्रेसको माहोल बदलेको नयाँ नेतृत्व चुनावमा गएको थियो । तर, नयाँ नेतृत्वले मतदातामा खासै आशा जगाउन नसकेको मत परिणामले देखाउँछ । कांग्रेसका प्रवक्ता देवराज चालिसे जेनजी आन्दोलनकको मर्म र भावनाअनुसार पार्टीको संरचनागत सुधार गरेर जनतामा गएकाले जनमतमा सुधार हुन्छ भन्ने अपेक्षा गरिए पनि परिणाम सन्तोषजनक नआएको बताउँछन् । यद्यपि कांग्रेसले जनादेशलाई सहर्ष स्वीकार्दै आगामी दिनमा जनताको सेवामा थप समय खर्च गर्ने उनले बताए । ‘समयको चापले गर्दा हामीले जनमतलाई कांग्रेस बदलिएर आएको छ भन्ने सन्देश दिन सकेनौं’, प्रवक्ता चालिसेले मध्यान्हसँग भने, ‘बदलिएको कांग्रेसले देश बदल्छ भन्ने सन्देश मतदातासँग पु¥याउन नसकेको परिणाम हो यो । तर, हामीले जनादेशलाई स्वीकार गर्दै आगामी दिनमा थप सच्चिएर जाने प्रण गर्दछौं ।’    

विशेष महाधिवेशनलाई अस्वीकार गर्दै यही नेतृत्वबाट टिकट लिएका नेताहरू र  विशेष महाधिवेशनको पक्षमा लागेका अधिकांश नेताहरूले चुनाव हारेपछि कांग्रेसभित्रको कलह चुलिने अवस्थामा छ । अहिले निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरूले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै सभापति थापामाथि खनिएका छन् । उपसभापति शर्माले चुनावी हारको समीक्षा गरेर पार्टी अगाडि बढ्ने बताउँदै आएका छन् । 

‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराससहित जनतामाझ पुगेको कांग्रेसलाई आम मतदाताले अपेक्षाकृत समर्थन नगरेपछि पार्टी नेतृत्वमाथि नैतिकताको दबाब बढेको छ । विशेष अधिवेशन समयभन्दा ढिला गरिएका कारण अनपेक्षित परिणाम बेहोर्नु परेको विश्लेषक शंकर तिवारीले बताए । ‘कांग्रेसले विशेष महाधिवेशन गर्न ढिला गरेकाले यो अवस्था आयो’, उनले भने, ‘कांग्रेसको परिवर्तन लगनपछिको पोते भयो ।’ 

उनका अनुसार, पूरानै नेतृत्वमा कांग्रेस चुनावमा गएको भए कांग्रेसले थप क्षति बेहोर्नुपर्ने हुनसक्थ्यो । निर्वाचन परिणामलाई समीक्षा गर्दै विशेष महाधिवेशनलाई समेत संस्थागत गरेर अघि बढ्नुपर्ने तिवारी बताउँछन् । त्यसका लागि ढिलोमा आउँदो मंसिरसम्म नियमित महाधिवेशन गर्नुपर्ने उनले बताए । 

प्रदेशगत प्रतिनिधित्व कायम, घट्दो जनमत

प्रत्यक्षतर्फ १७ सीटमा खुम्चिए पनि कांग्रेसको सबै प्रदेशमा प्रतिनिधित्व भने भएको छ । कोशीमा पाँचथरबाट नरेन्द्रकुमार केरुङ, तेह्रथुमबाट सन्तोष सुब्बा र सोलुखुम्बुबाट प्रकाश सिंह कार्की विजयी भएका छन् । मधेश प्रदेशबाट रौतहट २ मा मोहम्द फिरदोश आलम, बागमती प्रदेशबाट रसुवाका मोहन आचार्य, गण्डकीमा मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली विजयी भएका छन् । 

त्यस्तै लुम्बिनीमा पाल्पा १ बाट सन्दीप राना, कपिलवस्तु ३ मा अभिषेक प्रताप शाह, कर्णालीबाट मुगुका खड्ग शाही, हुम्लाका जयपती रोकाया, जाजरकोटमा खडकबहादुर बुढा, दैलेख १ मा बासना थापा र सुर्खेत १ मा विष्णुबहादुर खड्काले जितेका छन् । सुदूरपश्चिमबाट बाजुरा १ मा जनकराज गिरी, अछाम १ मा भरत कुमार स्वार र डोटीबाट भरतबहादुर खड्का विजयी भएका छन् । आइतबार रातीसम्मको समानुपातिक मतपरिणाम अनुसार कांग्रेसले दश लाख मत कटाएको छ ।  

करिव ९ लाख क्रियाशील सदस्यता बनाएको कांग्रेसले २०७९ को आमनिर्वाचनमा २७ लाख १५ हजार २२५ (२५.७१ प्रतिशत) मत प्राप्त गरेको थियो । जुन २०७४ को निर्वाचनमा पाएको ३२.७७ प्रतिशत भन्दा कम थियो । ०७४ मा समानुपातिक तर्फ कांग्रेसले करिव ३३ लाख मत पाएको थियो । त्यसबेला प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फका ४० गरी कांग्रेसका ६३ सांसद थिए । बदलिएको नारा लिएर जनतामाझ गएको कांग्रेस यस पटकको निर्वाचनमा बलियो प्रमुख प्रतिपक्ष बन्न समेत नसक्ने अवस्थामा पुगेको छ । 

सम्बन्धित खबर