
सन् १९६० – ८० को दशकमा औद्योगिक विकास तीव्र बनाउँदा दक्षिण कोरियाले विदेशमा रहेका आफ्ना कोरियाली वैज्ञानिक र इन्जिनियरहरूलाई देश फर्कन आह्वान गरेको थियो । त्यतिबेला सरकारले अनुसन्धान संस्था र विश्वविद्यालयमा आकर्षक अवसर दिएर उनीहरूको ज्ञान र सीप प्रयोग गरेको थियो ।
आर्थिक संकटपछि आयरल्याण्ले विदेशमा रहेका आयरिश नागरिकहरूलाई लगानी, स्टार्टअप र ज्ञान साझेदारीका लागि देशसँग जोड्ने नीति लिएको थियो । यसले आयरल्याण्डको प्रविधि, उद्योग र नवप्रवर्तन क्षेत्रमा ठूलो सहयोग पुर्यायो ।
त्यति धेरै टाढा पनि जानु परेन, हाम्रा छिमेकी मुलुक भारत र चीनको पछिल्लो नेतृत्वले देश बाहिर रहेका आ–आफ्ना वैज्ञानिक, उद्यमी, प्रविधि विज्ञ र विद्यार्थीहरुलाई देश फर्केर उद्योग, प्रविधि र अनुसन्धानमा योगदान दिन अपिल गरेको थियो । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि उनले बिश्वभर रहेका भारतीय वैज्ञानिक, उद्यमी र प्रविधि विज्ञहरूलाई भारतमा लगानी गर्न र काम गर्न आग्रह गरेका थिए भने देङ सिआओ पिङको नेतृत्वमा चीनमा आर्थिक सुधार सुरु भएपछि उनले बिदेशमा रहेका चिनियाँ वैज्ञानिक, उद्यमी र विद्यार्थीहरूलाई देश फर्केर उद्योग, प्रविधि र अनुसन्धानमा योगदान दिन आह्वान गरेका थिए ।
नेपालको पछिल्लो निर्वाचन परिणामसँगै देश नयाँ राजनीतिक चरणतर्फ अघि बढ्दैछ । मतदाताहरूले यसपटक दिएको जनादेशले परिवर्तनको चाहना स्पष्ट रूपमा व्यक्त गरेको छ । लामो समयदेखि राजनीतिक प्रक्रियाप्रति बढ्दै गएको निराशाबीच जनताले नयाँ नेतृत्वप्रति आशा र भरोसाका साथ अवसर दिएका छन् । अब बन्ने नयाँ सरकारले यही जनविश्वासलाई सम्मान गर्दै जिम्मेवार, पारदर्शी र परिणाममुखी शासनको पारदर्शी अभ्यास गर्नुपर्नेछ ।
नयाँ नेतृत्वका लागि यो अवसर मात्र होइन, ठूलो परीक्षा पनि हो । कतिपय नेतृत्वमा शासकीय अनुभव सीमित हुन सक्छ, तर उत्साह, नयाँ सोच र जनअपेक्षाको बलले धेरै सकारात्मक कामहरू गर्न सकिन्छ । देशको विकास र सुशासनका लागि आवश्यक ज्ञान, सीप र अनुभवलाई व्यापक रूपमा उपयोग गर्नुपर्ने समय आएको छ । आवश्यक परेमा देशभित्रका मात्र होइन, विदेशमा रहेका नेपाली विज्ञ तथा विशेषज्ञहरूको अनुभवलाई पनि राष्ट्र निर्माणमा उपयोग गर्न सकिन्छ ।
विश्वका विभिन्न मुलुकमा नेपालीहरू महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिरहेका छन् । उनीहरूले आर्जन गरेको ज्ञान, प्रविधि र व्यवस्थापन अनुभवलाई नेपालको विकासमा प्रयोग गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो । त्यसका लागि राज्यले पनि विश्वासिलो नीति, स्पष्ट योजना र सहकार्यको ढोका खोल्नुपर्छ । विदेशमा रहेका नेपाली विज्ञहरूलाई मातृभूमिको विकास यात्रामा सहभागी हुन आह्वान गर्नु अहिलेको आवश्यकता हुन सक्छ ।
सर्वप्रथम नेतृत्वले आम जनतामा आशा र भरोशाको संचार गर्नु आवश्यक छ । मानिसहरुमा निराशा र वितृष्णा बढ्दो छ । निराशा र वितृष्णा राष्ट्रको उन्नति र प्रगतिका वाधक हुन् । नयॉ नेतृत्वले यस्ता व्यवधानहरुलाई उखेलेर फाल्नु पर्ने चुनौती छ ।
अन्ततः, राष्ट्र निर्माणको यात्रा केवल सरकार वा राजनीतिक नेतृत्वको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो । आशा, भरोसा र सकारात्मक सोचका साथ सबै पक्षले सहकार्य गरेमा नेपालको सम्भावना उज्यालो बन्न सक्छ । सम्यक् हामीलाई पर्खने छैन । हामी यसैत ढिला भैसकेका छौं । यसका लागि नेतृत्वसंग संभवतः थकाइ मार्ने छुट नहुन सक्छ । निराशा होइन, विश्वास र सहकार्यको बाटोबाट नै राष्ट्रले स्थायी प्रगति हासिल गर्न सक्नेछ !