
रौतहट : गर्मीको पदचापसँगै रौतहटसहित तराईका विभिन्न जिल्लाहरूमा लामखुट्टेको आतंकले उग्र रूप लिएको छ । साँझ पर्न नपाउँदै घरभित्र र बाहिर लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई हम्मेहम्मे पर्न थालेको छ । तर नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो गम्भीर समस्या समाधानका लागि स्थानीय निकाय र सम्बन्धित प्रशासन भने मौन देखिएका छन् ।
पछिल्ला केही वर्षयता डेंगु, मलेरिया र कालाजार जस्ता रोगहरूले भयावह रूप लिइरहेका छन् ।
यस्तो अवस्थामा पनि रौतहटका १८ वटा स्थानीय तहहरूले लामखुट्टे नियन्त्रणका लागि हालसम्म कुनै ठोस कदम चालेका छैनन् । अव्यवस्थित शहरीकरण र ढल निकासलाई दिइएको छ ।
जिल्लाका अधिकांश नगरपालिकाहरू खुल्ला नाला खुला र जाम भएका ढलहरू लामखुट्टेका मुख्य प्रजनन् थलो बनेका छन् । सडकका खाल्डाखुल्डीमा जमेको फोहोर पानीले लार्भा उत्पादनमा मद्दत गरिरहेको छ, टोल–टोलमा रहेका झाडीहरूको सरसफाइमा कसैको ध्यान पुगेको छैन । दिउँसो पनि घरमा ढुक्कले बस्न सकिने अवस्था छैन । बालबालिका र वृद्धवृद्धाहरू बिरामी पर्ने डर उत्तिकै छ, स्थानीय एक बासिन्दाले आक्रोश पोख्दै भने नगरपालिकाले न स्प्रे गर्छ न औषधि नै छर्किन्छ । हाम्रो कर कहाँ खर्च भइरहेको छ ? बजेट छ तर कार्यान्वयन छैन ।
स्थानीय निकायहरूले स्वास्थ्य शीर्षकमा बर्सेनी ठुलो बजेट विनियोजन गर्ने गर्दछन् । तर उक्त बजेटको कार्यान्वयनमा चरम ढिलासुस्ती र समन्वयको अभाव देखिएको छ । विगतका वर्षहरूमा टोल–टोलमा देखिने ’फगिङ’ (धुवाँ छर्कने कार्य) यस वर्ष कतै पनि सुरु भएको छैन । यद्यपी जनस्वास्थ्य विज्ञहरूका अनुसार फगिङभन्दा प्रभावकारी मानिने ’लार्भा खोज र नष्टग’ अभियानलाई यस पटक कतै पनि सशक्त रूपमा अघि बढाइएको छैन । सरकारी अस्पतालहरूमा हाल ज्वरोका बिरामीहरूको चाप बढ्न थालेको छ, जसमध्ये अधिकांशमा लामखुट्टेजन्य रोगको लक्षण देखिएको चिकित्सकहरू बताउँछन् ।
जनस्वास्थ्य विज्ञहरूले समयमै सचेत नभए यसले ठुलो मानवीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार सरकारले तत्काल सरसफाइ अभियान र विषादी छर्कने कार्यलाई तीव्रता दिनुपर्छ ।
नागरिकले पनि आफ्नो घर वरपर पानी जम्न नदिने र झुलको प्रयोग गर्ने जस्ता सुरक्षात्मक उपाय अपनाउनुपर्छ । स्थानीय सरकारले केवल चुनावका बेला मात्र सक्रिय नभई यस्ता स्वास्थ्य जोखिमका बेला अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । नागरिकले तिरेको करबाट सञ्चालित स्थानीय सरकारहरू लामखुट्टेको ‘भुनभुन’ सँगै फैलिने सम्भावित महामारीप्रति समयमै सचेत हुन जरुरी छ । ढिलासुस्तीले निम्त्याउने क्षति अपूरणीय हुन सक्छ ।