
काठमाडौं : इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीको हत्या हुनुभन्दा केही घण्टाअघि नै सयौं मानिसहरूले एउटा अमेरिकी अनलाइन प्लेटफर्ममा सोही दिन उनको मृत्यु हुने भन्दै 'दाउ' (सट्टा) लगाएका थिए । 'पोलिमार्केट' नामक यस अनलाइन प्लेटफर्ममा खामेनीको मृत्युमा गरिएको सट्टेबाजी सबैभन्दा प्रमुख दाउमध्ये एक बन्न पुग्यो, जसले १३ करोड डलर (करिब १७ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) को कारोबार गरेको छ ।
यसरी हुन्छ अनलाइन सट्टेबाजी
स्मार्टफोनको बढ्दो प्रयोगसँगै राजनीतिक र युद्धजस्ता संवेदनशील विषयमा सट्टेबाजी गर्न पहिलेभन्दा निकै सहज भएको छ । पोलिमार्केट जस्ता प्लेटफर्ममा प्रयोगकर्ताहरूले कुनै पनि घटनाको सम्भावित नतिजा (जस्तै 'हो' वा 'होइन') मा पैसा लगाउँछन् । यो परम्परागत सट्टेबाजीभन्दा फरक छ । यहाँ जित्ने व्यक्तिले सट्टा कम्पनीबाट मात्र पैसा पाउँदैन, बरु दाउको सुरुदेखि ट्रेड बन्द हुनेसम्मको मूल्यमा आएको परिवर्तनका आधारमा नाफा वा घाटा निर्धारण हुन्छ । माग र आपूर्तिको आधारमा यस्तो 'बेट'को मूल्य प्रतिक्षण परिवर्तन भइरहन्छ ।
ब्लूमबर्गका अनुसार खामेनीको मृत्यु भएको दिन इरानसँग सम्बन्धित राजनीतिक सट्टेबाजीले ४० करोड डलरभन्दा बढीको कारोबार गर्यो, जुन अघिल्लो दिनको तुलनामा झण्डै तीन गुणा बढी थियो । केही सट्टेबाजहरूले त यसबाट लाखौं डलर नाफा कमाएका छन् ।
एक प्रयोगकर्ताले फेब्रुअरी २८ मा अमेरिका-इजरायल र इरानबीचको सम्भावित युद्धसँग सम्बन्धित अनुमान लगाएर ५ लाख डलर (करिब साढे ६ करोड नेपाली रुपैयाँ) भन्दा बढी कमाएका थिए । अर्का एक सट्टेबाजले भेनेजुएलाका नेता निकोलस मादुरोलाई पदच्युत गरिने विषयमा ३० हजार डलर लगानी गरेर ४ लाख डलरभन्दा बढी आम्दानी गरेका थिए ।
खामेनीको हत्याको खबर आउनुअघि 'हो' मा दाउ लगाउनेहरूको प्रतिशत १ बाट बढेर ९० प्रतिशतभन्दा माथि पुगेको थियो ।
इरानसँग सम्बन्धित सट्टेबाजीमा खामेनीको मृत्यु मात्र होइन, अमेरिकी सेना इरान प्रवेश गर्ने समय, युद्धविराम कहिले हुन्छ र इरानले हर्मुज स्ट्रेट कति समयसम्म बन्द राख्छ भन्ने विषयमा पनि पैसा लगाइएको थियो । केहीले त इरानमा परमाणु बम खसालिने विषयमा समेत सट्टा लगाएपछि प्लेटफर्मले त्यस्तो विवादास्पद दाउ हटाउनु परेको थियो ।
नैतिकता र पारदर्शितामा प्रश्न
मानिसहरूको ज्यान जाने युद्ध र हत्याजस्ता विषयमा सट्टा लगाउनु कति वैध र नैतिक हो भन्ने विषयमा विश्वव्यापी रूपमा बहस सुरु भएको छ । अमेरिकी कानुनले सार्वजनिक हित विपरीत हुने सट्टेबाजीलाई निषेध गर्दछ, त्यसैले यस्ता प्लेटफर्महरू प्रायः पनामा जस्ता देशबाट सञ्चालन हुने गर्छन् ।
यसबाहेक, 'इन्साइडर ट्रेडिङ' वा गोप्य सूचनाको दुरुपयोगको आशंका पनि गरिएको छ । के महत्वपूर्ण निर्णय लिने अधिकारीहरू वा सरकारसँग सम्बन्धित व्यक्तिहरूले संवेदनशील जानकारीको प्रयोग गरेर सट्टा लगाइरहेका छन् ? भन्ने प्रश्न उठेको छ ।
यसै विवादका बीच अमेरिकी संसद (हाउस अफ रिप्रिजेन्टेटिभ्स)ले सरकारी कर्मचारीहरूलाई यस्ता प्लेटफर्ममा दाउ लगाउन रोक्ने विधेयकमाथि विचार गरिरहेको छ । इजरायल र नर्वेका अधिकारीहरूले पनि केही घटनामा गोप्य सूचनाको दुरुपयोग भएको भन्दै अनुसन्धान सुरु गरेका छन् ।
यता आलोचनाका बीच पोलिमार्केटले आफ्नो बचाउ गर्दै यस्ता 'प्रेडिक्सन मार्केट'ले जनताको सामूहिक बुझाइका आधारमा सटिक अनुमानहरू प्रदान गर्ने बताएको छ । प्लेटफर्मको दाबी अनुसार यस्ता अनुमानहरू वर्तमान समयमा निकै मूल्यवान हुन्छन् र यसले टेलिभिजन न्यूज वा सामाजिक सञ्जालले दिन नसक्ने जवाफहरू दिन सक्छन् ।
हाल यो मार्केट सुरुवाती चरणमा भए तापनि साना सट्टेबाजहरूको ठुलो सहभागीताले यसलाई विश्वव्यापी बनाउँदै लगेको छ, जसले गर्दा आगामी दिनमा थप कानुनी र नैतिक चुनौतीहरू थपिने देखिन्छ । -बिबिसी हिन्दीबाट