
कालीकोट : बालविवाह अन्त्य तथा सामाजिक विकृति न्यूनीकरण गर्ने लक्ष्यसहित रास्कोट नगरपालिकामा ३० दिने किशोर–किशोरी तथा अभिभावक रूपान्तरण कार्यक्रम सुरु गरिएको छ ।
रास्कोट नगरपालिका–७ स्थित पञ्च आधारभूत विद्यालयमा स्थानीय जनप्रतिनिधि, अभिभावक तथा किशोर–किशोरीहरूको सहभागितामा रूपान्तरण कार्यक्रम उद्घाटन गरिएको हो ।
कार्यक्रममार्फत बालविवाह, लैङ्गिक विभेद, घरेलु हिंसा लगायतका सामाजिक समस्याबारे सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालय कालीकोटको आयोजना, रास्कोट नगरपालिकाको समन्वय तथा युनिसेफ नेपालको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
३० दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीलाई जीवनोपयोगी सीप, व्यवहार परिवर्तन तथा सामाजिक रूपान्तरणसम्बन्धी प्रशिक्षण प्रदान गरिने सहजकर्ता टिकाराज उपाध्यायले जानकारी दिए ।
स्थानीय तहका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले समाजमा व्याप्त कुरीति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा टिकाराज उपाध्याय, निर्मला उपाध्याय र कर्ण कुमालले सहजीकरण गर्नेछन् ।