२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

इनिशालाई न्याय देऊ

shivam cement
२०८२ चैत १० गते ०६:१०
Shares
इनिशालाई न्याय देऊ

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको तीन साता बितिसक्दा पनि परिवारले उनको अन्त्येष्टि गर्न पाएका छैनन् । दोषीमाथि कारबाहीको माग गर्दै पीडित परिवार, अधिकारकर्मी र अभियन्ताहरू सडकमा छन् । प्रहरीले घटनाको गहिरो अनुसन्धान भइरहेको बताइरहेको छ । तर, निष्कर्षमा पुग्न ढिलाइ भइरहेको छ । घटनामा संलग्नताको आरोपमा पक्राउ परेका किशोरहरूले दिएको बयान, घटनास्थलको प्रकृति र आमअनुमान बाझिँदा प्रहरी आफैं दबाबमा परेको देखिन्छ । वैज्ञानिक विधिबाट अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली झिकाएर पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनामा संलग्न चारजनाको बयान लिइसकेको भनेको छ । फरेन्सिक रिपोर्ट, मोबाइल र अन्य विद्युतीय प्रमाणको अनुसन्धान अझै बाँकी छ । सिसिटिभी फुटेज, पोलिग्राफ परीक्षण र विभिन्न प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी रहेकाले अनुसन्धान निष्कर्षमा पुग्न ढिलाइ भइरहेको प्रहरी दाबी छ । घटनाको अनुसन्धान छिटो र पारदर्शी ढंगले टुंगोमा पुर्‍याउन सडकको पनि उत्तिकै दबाब छ । 

पोस्टमार्टम रिपोर्टले इनिशाको मृत्यु यौन हिंसा र अत्यधिक रक्तश्रावका कारण भएको देखाएको छ । तर, चारमध्ये तीन किशोरहरूले बलात्कारमा संलग्न नभएको बरु उद्धार गर्न गएको बयान दिएका छन् । यसले अनुसन्धानलाई जटिल मात्र बनाएको छैन, घटनास्थलबाट संकलित सम्पूर्ण प्रमाण वैज्ञानिक तरिकाले परीक्षण गर्नुपर्ने देखिन्छ । अनुसन्धानकर्ताले कुनै कमी नछोडी सूक्ष्म र तथ्यपरक तरिकाले काम गरे मात्र दोषीमाथि कारबाही र पीडितललाई न्याय मिल्नेछ । किशोरहरू निर्दोष हुन् भने पनि वैज्ञानिक आधार–प्रमाणबाट पुष्टि हुनुपर्छ । अन्यथा दोषी उम्काउने खेलका रूपमा बुझिनेछ ।

पीडित परिवारले दोषीमाथि कडा कारबाही नभएसम्म इनिशाको शव नउठाउने भनिरहेका छन् । यस्तोमा राज्यले छिटोभन्दा छिटो अनुसन्धानलाई टुंगोमा पुर्‍याउँदै कानुनी कारबाहीलाई प्रभावकारी बनाउनुपर्छ । जबर्जस्ती करणी र कर्तव्य ज्यानको आरोपमा पक्राउ परेका अभियुक्तहरूलाई तथ्य र प्रमाणका आधारमा कानुनी दायरामा राख्नुपर्छ । तर, प्रहरीले भिडको दबाबमा होइन, स्वतन्त्र अनुसन्धानका आधारमा यो घटनालाई टुंगोमा पुर्‍याउनुपर्छ । अनुसन्धानको केन्द्रमा इनिशाको न्याय हुनुपर्छ । उनलाई न्याय दिनु सिंगो समाज मात्र होइन, राज्यको दायित्व हो । अतः प्रश्न नउठ्नेगरी प्रहरीले अनुसन्धानलाई वैज्ञानिक, तथ्यपरक र पारदर्शी बनाउनुपर्छ । इनिशा मृत्यु प्रकरण आठ वर्षअघि बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तजस्तै नसुल्झिएको घटना नबनोस् ।
 

सम्बन्धित खबर