
मलाई खेल्नु छ, रमाउनु छ
आगोका फूलहरूसँगसँगै
आगोकै सुगन्ध बोकेर
जलिरहेका प्रज्वलित लप्काहरू
लगाउनु छ गलाभरि माला ।।
मलाई विस्फोट हुनु छ बनेर ज्वालामुखी
सुकाउनु छ समुन्द्र
सयौं घामहरू उदाएका छन् मेरो छातीभित्र ।।
भकभकी उम्लिरहेछ नसा–नसामा रगत
लाभाहरू बगिरहेछन् राताम्मे लेदो बनेर
पगाल्नु छ कञ्चणजंघाको बरफ
र ढाल्नु छ अग्लो हुनुको अभिमान ।।
रंगहीन बनाउनु छ रंगीन धरती
एक निमेषमा निम्ट्याउनु छ मान्छेका अहंकार
र उदाउने छैन जुन र उदाउने छैन तारा
मात्रै चम्किने छ बिजुली
विशाल मेघ गर्जनसँगै बर्सिनेछ
आगोकै ज्वाला तिम्रो ब्रह्माण्डमा
मलाई खेल्नु छ आगोका फूलहरूसँग
आगोकै प्रकाश बोकेर पुग्नु छ गन्तव्यसम्म ।।