
बर्दिया : बर्दियामा भन्सार छली चोरी पैठारी गरी तोरीको कारोबार हुने गरेको स्थानीयको जनगुनासो आएसँगै बर्दियाको गुलरियामा प्रहरीले ४५ क्विन्टल तोरीसहित नौ जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रहरी टोली र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दियाको गुलरिया नगरपालिका वडा नं.११ स्थित भादापुर सिमानाकाबाट चोरी पैठारी गरी ल्याएको ९६ वटा बोरामा ४५ क्विन्टल तोरी, ८ थान अटो र १ थान मोटरसाइकल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रवेश बिष्टले जानकारी दिए ।
शनिबार बिहान करिब ४ बजे पक्राउ परेको सामग्रीहरू करिब १६ लाख ८० हजार बराबर रहेको र सबै सामग्री र पक्राउ परेकालाइ राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको समेत प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।
पक्राउ परेका व्यक्तिहरूमा गुलरिया नगरपालिका वडा नं १० का ल्याकत अली, गुलरिया नगरपालिका वार्ड नं ८ बस्ने ३० वर्षीय नसिम मनिहार, बराती मनिहार, राजा मनिहार र सकील मनिहार रहेका छन् भने गुलरिया नपा ९ का आलिक तेली जावेद, अहमद जोहाल, जाहिद अलि अन्सारी र अनिप अनिहार रहेको समेत बिष्टले जानकारी दिए ।
पछिल्लो क्रममा यस क्षेत्रमा भन्सार छरी गरी चोरी पैठारी गरी तोरीको कारोबार भइरहेको स्थानीयको जनगुनासो रहिआएको थियो । जनगुनासो मध्यनजर गर्दै लुम्बिनी प्रदेश प्रहरी र बर्दिया प्रहरीले ठूलो मात्रामा अवैध तोरी पक्राउ गरेकोमा प्रहरी धन्यवादको पात्र रहेको स्थानीयले बताएका छन् ।