गायक एवं अभिनेता साथै युवा नेतासमेत रहेका श्यामकुमार मिश्रको भोजपुरी पप गीतसंगीतमा छुट्टै पहिचान छ । मिश्रको आफ्नै स्वर रहेको ‘गोरी तु तो बाटु रुपके खजना, देखा हम तो बाटी हो तोहरे दिवाना’ बोलको भोजपुरी पप गीत बजारमा आउने तयारीमा रहेको छ । गीतमा चर्चित भोजपुरी संगीतकार के.के. सिंहको संगीत संयोजन रहेको छ । कपिलवस्तुको कृष्णनगर निवासी मिश्र भोजपुरी तथा नेपाली गीत, संगीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् । उनले आधुनिक नेपाली गीतको एल्बम पनि स्रोता र दर्शकमाझ ल्याउने तयारी गर्दैछन् । एकीकृत राप्रपा राष्ट्रवादीको केन्द्रीय सदस्यमा मनोनित हुनासाथ गत स्थानीय चुनावमा मेयरको उम्मेदवारी बनेका उनी झिनो मतान्तरले पराजित भएका थिए भने हालै सम्पन्न स्थानीय चुनावमा जसपाबाट उपमेयरको उम्मेदवार बनेका थिए । कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढिरहेका मिश्रले नालायक, देउता, किङ, ब्वाईफ्रेण्ड लगायतका चलचित्रमा अभिनय गरेका छन् । चौथो म्युजिक खबर म्युजिक अवार्ड, डि सिने अवार्ड, बक्स अफिस फिल्म अवार्ड, मिलाप कभर सम्मान, राष्ट्रिय व्यक्तित्व सम्मान लगायतका सम्मानबाट सम्मानित भइसकेका श्यामकुमार मिश्रले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय कसरी बित्दैछ ?
यो पटकको स्थानीय चुनावमा पनि जसपाबाट उपमेयरमा उठेको कारण केही समय स्थानीय जनताहरुसँग प्रत्यक्ष साक्षत्कार कार्यक्रममा व्यस्त रहें । ठूला दलसँग प्रतिस्पर्धासँगै तयारी फितलो बनेका कारण असफल भएँ । यसलाई पराजय भन्दा पनि आगामी दिनका लागि शिक्षाको रुपमा लिएको छु ।
गायनको क्षेत्रमा के गर्दै हुनुहुन्छ ?
आठ वटा गीत समेटेर एल्बम निकाल्ने अन्तिम तयारी भैरहेको अवस्थामा एक्कासी कोभिडको प्रवेशले त्यतिकै थाँती रहन पुग्यो । अहिलेसम्म पनि त्यसलाई अगाडि बढाउन सकिएको छैन । चुनावी ह्याङ कम भएपछि एल्बमको कामलाई निरन्तरता दिने विचार गरेको छु ।
भोजपुरी गीत पनि ल्याउने कुरो थियो नि ?
‘गोरी तु तो बाटु रुपके खजना, देखा हम तो बाटी हो तोहरे दिवाना’ बोलको भोजपुरी पप गीत बजारमा आउने अन्तिम तयारीमा छ । सम्भवत आगामी महिना सर्वजनिक हुन्छ ।
मोफसलबाट कलाकारिता गर्न कत्तिको कठिन छ ?
कठिन नै थियो । त्यसमा पनि मधेसी मुलका हामी जस्ता कलाकारले सजिलै अवसर पाउनु भनेको त दिवास्वप्ना देख्नु सरह हो । महँगो शहर काठमाडौंमा आर्थिकरुपले पनि समस्या हुने नै भयो । यति दिनमा काम सकिन्छ भन्ने टुंगो हुँदैन थियो । अहिलेको पुस्ताले आफूमा भएको प्रतिभा इन्टरनेट, फेसबुक, युट्युबमा देखाउन सक्छन् । उसबेला कसैलाई भेट्नुपर्यो भने लामो समय पछ्याउनुपथ्र्यो । सबैको हातमा अहिले जस्तो टेलिफोन र मोबाइल सर्वसुलभ उपलब्ध थिएनन् । स्रष्टाको अफिस खोज्नुको विकल्प थिएन । यदि भेट भएको अवस्थामा पनि उनीहरुले तुरुन्तै हाम्रो प्रतिभा हेर्दैन थिए । अहिले घरमा बसेर मोबाइल चलाइरहँदा नयाँ प्रतिभा हेर्न पाइन्छ । अहिलेको जस्तो पहुँच नभएकाले त्यो बेला कठिन थियो । बोर्डरमा बस्ने भएकोले शुरुवाती दिनमा भारतको गोरखपुर पुगेर गीत रेकर्डिङ गरिन्थ्यो । अहिले पनि मेरा अधिकाँश गीत गोरखपुरमै रेकर्डिङ हुने गरेको छ । पछिल्लो एल्बम काठमाडौंबाट निकाल्ने सोचले राजेन्द्र बजगाईंको संगीतमा आठ वटा गीत बन्दै थियो, त्यो पनि बीचैमा अड्किरहेको छ ।
भोजपुरी र नेपाली गीतमा कुन सजिलो गाउनलाई ?
तराईवासी भएकोले भोजपुरी गीत गाउन सजिलो लाग्छ । नेपाली भएको नाताले आफ्नै भाषामा पनि एल्बम निकाल्ने चाहना भएकोले नेपाली भाषामा गीत बनाएको हुँ । नेपाली गीत गाउने क्रममा अलि समस्या हुँदो रहेछ ।
स्टेज प्रोगामहरुमा तपाईंको डिमाण्ड कत्तिको छ ?
गृह जिल्लामा मात्र नभई अन्यत्र हुने अधिकांश कार्यक्रममा मेरो उपस्तिथि अनिवार्य जस्तै हुन्थ्यो । कोभिड १९ यता कुनै प्रोगाममा गएको छैन । विस्तारै वातावरण सहज बन्दैछ, अब गीतसंगीतमा पनि अलि सक्रिय हुने सोच बनाएको छु ।
अडियो र सिडी एल्बमको जमना गयो, एल्बम निकाल्ने तयारी गर्दै हुनुहुन्छ किन ?
आधुनिक प्रविधिको विकाससँगै एल्बमको प्रचलन हराए । पहिले क्यासेट बिक्रीबाट पनि आर्थिक सपोर्ट हुन्थ्यो भने अहिले युट्युबको भर पर्नुपर्छ । मुख्य आयस्रोतको माध्येम भनेको देश, विदेशमा हुने स्टेज कार्यक्रम नै हो । तर आफ्नो कृति दस्तावेजका लागि पनि एल्बमको आवश्यक छ ।
चलचित्रमा देखिन छाड्नु भयो नि ?
यो क्षेत्र हामी जस्ता मोफसलबाट धाएर कलाकारिता गर्नु भनेको फलामको चिउरा चपाउनु जस्तै हो । भोलिबाट सुटिङ हुन्छ, तपाईं आइहाल्नुस् भन्नुहुन्छ, खुशी हुँदै हतारहतार झोला बोकेर काठमाडौं उत्रेको साता दिन बित्दा पनि सुटिङ हुने टुंगो हुँदैन । बसाई लम्बिएपछि खान बस्न खर्चको समस्या, अझै कति दिन बस्नुपर्ने हो थाहा हुँदैन । मुश्किलले दुई सिन सुटिङ हुन्छ अनि निर्देशकले भन्नु हुन्छ तपाईंको अब अलि पछि हुन्छ । निर्माताले भन्नुहुन्छ सुटिङ सक्न अलि गाह्रो होला जस्तो भयो आर्थिक सहयोग गर्नु पर्यो । कला क्षेत्रमा केही गरुँ भनेर आएकाहरुलाई समस्याको सगरमाथा नै देख्छु म त । त्यसैले अभिनय भन्दा गायन नै ठिक लाग्छ ।
काठमाडौं नै धाउनुपर्नेको कारण ?
देशको प्रमुख शहर । सुविधा सम्पन्न प्रविधि जडित स्टुडियो । चलचित्र पनि यहीँबाट निर्माण हुने भएकोले रहर भन्दा पनि बाध्यता ठान्नुस् ।
तपाईं गायक कि अभिनेता ?
म आफुलाई कलाकार भन्न रुचाउँछु । गायन मेरो रुचीको विषय हो भने अभिनय सौखमात्र ।
व्यापार, व्यवसायमा पनि संलग्न हुनुहुन्छ, समय तालिकाको बारेमा थोरै भनिदिनुस् न ?
घर व्यवहार चलाउन कुनै न कुनै काम गर्नै पर्ने हुन्छ । कलाकारिताबाट सम्भव छैन । त्यसैले पहिलो प्राथमिकता काम बाँकी समय राजनीति, समाजसेवा अनि गीतसंगीत र कलाकारिता ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies