
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको भेटमा नेकपा एमालेका सांसदहरूले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि धरपकड गरिएको भन्दै विरोध जनाएका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसद्हरुसँग भेट गरिरहेका छन् । कोशी प्रदेशका सांसदहरूको भेटमा एमाले सांसदहरूले अध्यक्ष ओलीमाथि पूर्वाग्रही र गैरकानुनी व्यवहार गरिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
‘हामीले हाम्रा अध्यक्षमाथि राज्यको गरेको व्यवहार गलत छ, प्रतिशोधपूर्ण र गैरकानुनी छ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं,’ धनकुटाबाट निर्वाचित एमाले सांसद राजेन्द्र राईले भने । एमालेका अरु सांसदले पनि आफ्नो बोल्ने क्रममा यो विषयलाई उठाए । तर प्रधानमन्त्री शाहले एमाले सांसदहरूको चासोमा कुनै प्रतिक्रिया जनाएनन् ।
‘प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले गएका थियौं । तर, दोहोरो छलफल भएन,’ सांसद् राईले भने, ‘उहाँले स्वागत गर्नुभयो । त्यसपछि हामीले एकोहोरो कुरा राख्यौं । उहाँले कुनै जवाफ दिनु भएन ।’
सांसदहरुले जनजीविकाका अरु विषयमा पनि नवगठित सरकारले गर्नुपर्ने कामबारे आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णालीका सांसदहरूसँग छलफल गरेका हुन् ।