प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका चार मन्त्री र एक राज्यमन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । एकीकृत समाजवादीले भने जेठ २२ गते नै मन्त्री हेरफेरको निर्णय गरेको थियो । तर प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गरेका थिएनन् । संसदबाट बजेट पारित हुन बाँकी रहेको भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन रोकेका थिए । प्रधानमन्त्री देउवाले मन्त्री हेरफेर नगर्दा एकीकृत समाजवादीभित्र पनि संकट देखिएको थियो । एकीकृत समाजवादीका १० सांसदले मन्त्री हेरफेरको निर्णयप्रति असन्तुष्टि जनाउँदै ८ बुँदे ध्यानाकर्षणपत्र अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए । यसले एकीकृत समाजवादी विभाजित हुने अनुमान समेत गरिएको थियो । तर ती सबै आशंका, अन्योल र मतभेद अन्त्य गर्दै आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।
तर बितेको तीन साता राष्ट्रिय राजनीतिको प्रमुख चासो यही विषयमा केन्द्रीत रह्यो । एकीकृत समाजवादीले पार्टी निर्णय कार्यान्वयनको दबाव दिने, तर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन नगर्ने अनिर्णय कायम रहिरह्यो । जबकी यी दुवै अडान र निर्णयको औचित्य पुष्टि हुन्न । किनकि मन्त्री हेरफेर किन गर्नुपर्ने भन्ने औचित्य एकीकृत समाजवादीले पुष्टि गर्न सक्दैन भने त्यसलाई रोक्ने निर्णयबारे प्रधानमन्त्री देउवाले चित्तबुझ्दो जवाफ दिन सक्ने देखिन्न । तर पनि भयो, त्यस्तै । सत्ता टिकाउन र शक्ति आफ्नो पक्षमा पार्न व्यर्थमा तीन साता खेर गयो ।
यसअघि पनि यस्तै राजनीतिक खिचातानी, आरोपप्रत्यारोप र असंवैधानिक÷अनावश्यक गतिविधिमा मुलुकको ध्यान जाने गरेको छ । जबकी सरकार र राष्ट्रिय राजनीतिले यतिबेला ध्यान दिनुपर्ने विषय भने अनेक छन्, विशेषगरी सम्भावित संकटबारे राष्ट्रिय संकल्प र तयारी आवश्यक छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक संकटको असर नेपालमा अनुभव गर्न सकिने र तथ्यमा देखिनेगरी परेको छ । इन्धन लगायत उपभोग्य सामग्रीको मूल्य भारी मात्रा बढिरहेको छ । दक्षिण एसियाली मुलुक श्रीलंका आर्थिक संकटले थलिएको छ । अन्य कम विकसित मुलुकहरुमा पनि आर्थिक संकटको असर देखिदै गएको छ । यस्तो बेला सरकारको ध्यान मुलुकलाई सामान्यकालमै राख्नेतिर केन्द्रीत हुनुपर्ने हो । तर अहिले पनि आन्तरिक शक्ति तानातानीमा देखिनु मुलुकका निम्ति दुखद् मात्रै होइन, निन्दनीय समेत हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies